ज्योति विकास बैंकको वार्षिकोत्सव, आइएसओ प्रमाणपत्र प्राप्त गर्ने पहिलो विकास बैंकदेखि ४ अर्ब चुक्ता पुँजी


काठमाडौं – ज्योति विकास बैंकले स्थापनाको १७ वर्ष पुरा गरेको छ । बैंकले १७ वर्ष पार गरी १८ औँ वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ । ज्योति विकास बैंक स्थापनाको १७ वर्षमा नै पहिलो पटक सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । अन्तर्राष्ट्रिय प्रमाणीकरण संस्था इन्टरसर्टले प्रदान गरेको यो प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि विश्वभर मान्यता प्राप्त तथा प्रतिष्ठित प्रमाण हो ।

ज्योति विकास बैंकले मोबाइल बैंकिङ्ग सेवा, भुक्तानी कार्ड सेवा, निक्षेप तथा कर्जा सेवा, सूचना प्रविधि, मानव स्रोत, डिजिटल बैंकिङ्ग, सामान्य प्रशासन, सञ्चालन र जोखिम व्यवस्थापन जस्ता विविध क्षेत्रमा गुणस्तरीय सूचना सुरक्षा प्रणाली लागू गर्दै आएको छ । ग्राहकको विश्वासलाई मजबुत बनाउँदै बैंकले आफ्ना सुरक्षासम्बन्धी नीति, अभ्यास र नियन्त्रण प्रणालीहरूलाई गहिरो परीक्षणमा राखी निरन्तर सुधार गर्दै आइरहेको छ । ज्योति विकास बैंकले प्रविधिमैत्री तथा सेवाग्राही केन्द्रित सेवा प्रणालीलाई प्राथमिकतामा राख्दै डिजिटल रूपान्तरण र नयाँ प्रविधिको प्रयोगमार्फत नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

ज्योति विकास बैंकले अघिल्लो आर्थिक वर्षमा ४० करोड बराबरको कर तिरेको थियो भने गत आर्थिक वर्षको पुससम्म १५ करोड कर राज्यलाई बुझाइसकेको छ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सञ्चालन नाफा पनि ९८.३८ बढेको छ । बैंकले यस्तो नाफा बढाएर ४३ करोड ७९ लाख रुपैयाँ पुर्‍याएको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ८५ करोड रुपैयाँ जम्मा रहेको छ ।

बैंकले आफ्नै खुद नाफाबाट नेपालमा सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा ५० प्रतिशत बढी रकम सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याउँदै समाजप्रति थप उत्तरदायी बन्ने उदाहरण प्रस्तुत गरेको छ । ‘स्वस्थ र सबल जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो’ भन्ने विश्वासका साथ, नवजात शिशुको अकाल मृत्युदर घटाउन तथा जीवन रक्षा गर्न बैंकले चालेको पहल अन्तर्गत, न्यानो नानी कार्यक्रममार्फत प्रत्येक वर्ष २,२९४ भन्दा बढी नेपाली शिशुको जीवन रक्षा गर्न सफल भएको छ ।

जीवन रक्षा जस्ता अति प्रमुख क्षेत्रमा सक्रिय रही, नेपालभर रहेका बैंक तथा वित्तीय संस्थामध्ये ज्योति विकास बैंक अग्रणी बन्दै समाजमा सकारात्मक परिवर्तनको बीजारोपण गरिरहेको छ । हाल बैंकले १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत देशभर सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरूको सुविधाका लागि डिजिटल सेवा विस्तारसँगै बैंकले सूचना सुरक्षामा उच्च संवेदनशीलता अपनाउँदै, साइबर जोखिमविरुद्ध रोकथाम प्रणाली, निरन्तर सुधारको नीति तथा नियामक निकायहरूको व्यवस्था अनुसार सेवा प्रवाह गर्दै आइरहेको छ। संस्थागत सुशासनलाई मूल मन्त्र मानेर, समाजप्रति उत्तरदायी भूमिकामा प्रतिबद्ध रहेको बैंकले नवीनतम सोचका साथ समाजको प्रगति र दिगो परिवर्तनको संवाहक बन्ने अठोट लिएको छ।