काठमाडौं – नेपाल राष्ट्र बैंकले चेक अनादर बैंकिङ्ग कसुरसम्बन्धी अपराध रहेको बताएका छन् । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै बैंकिङ्ग कसुरसम्बन्धी अपराधबाट बच्नुपर्ने बताएको हो ।
केन्द्रीय बैंकले आफ्नो खातामा रकम मौज्दात नभएको वा भए पनि भुक्तानीका लागि पर्याप्त नभएको अवस्थामा कसैलाई चेक जारी गर्न नहुने बताएको छ । यसरी जारी गरिएको चेक धारकले भुक्तानी माग्दा खातामा रकम नभएको कारण भुक्तानी नभएमा बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले चेक जारी गर्ने व्यक्तिलाई आफ्नो खातामा रकम जम्मा गर्न बढिमा पैंतालिस दिनको म्याद दिन सक्ने उल्लेख छ । सो अवधिपश्चात् चेक धारकले सो चेक बमोजिमको भुक्तानी माग गर्दा खातामा रकम नभएमा बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले तीन दिनभित्र सम्बन्धित खातावालाले चेक अनादर गरेको व्यहोरा प्रमाणित गरी त्यस्तो चेक धारकलाई फिर्ता गरिदिनु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।
यसरी चेक अनादर भएको अवस्थामा चेक जारी गरी दिने खातावालाबाट धारकलाई विगो बमोजिमको रकम तथा सो रकममा चेक जारी भएको मितिदेखि रकम भराएको मितिसम्म प्रचलित कानून बमोजिमको ब्याज समेत भराई चेक जारी गर्ने खातावालालाई विगोको पाँच प्रतिशत जरिवाना र कानूनबमोजिम कैद सजायसमेत हुन सक्ने कानूनी व्यवस्था रहेको छ । राष्ट्र बैंकले आफ्नो खाताको मौज्दात रकम हेरेर मात्र चेक जारी गरी चेक अनादर बापत हुने कानूनी सजायबाट बच्नुपर्ने बताएको छ ।



About Us
प्रतिक्रिया