कर्णाली विकास बैंक घोटाला प्रकरणमा मुछियो राष्ट्र बैंक, पूर्वअनुगमन अधिकृत बस्नेत पक्राउ


काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा बैंकका कर्मचारी मात्र सीमित नभएर नेपाल राष्ट्र बैंकका नै कर्मचारी सम्मको मिलेमतो रहेको खुल्न आएको छ । केन्द्रीय अनुसन्धान ब्युरो ( सीआईबी) ले कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा  राष्ट्र बैंकका पूर्वअनुगमन अधिकृत भुवन बस्नेतलाई पक्राउ गरेको हो । सुनसरी स्थायी घर भएका ६१ वर्षीय बस्नेतलाई सीआईबीको टोलीले शुक्रबार काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता युवराज खड्काले बताए ।

उनी कर्णाली विकास बैंकको अनुगमनका लागि खटिएका अधिकृत हुन् । बैंक समस्याग्रस्त हुँदा पनि बैंक अनुगमनका लागि खटिएका बस्नेतले बैंकलाई नाफामा रहेको देखाएका थिए । उनी २०७४ सालतिर राष्ट्र बैंकका पूर्व अनुगमन अधिकृत रहेका थिए। राष्ट्र बैंकले सधैँ डुब्ने बैंकको कसरी राम्रो रिपोर्ट बनायो भने विषयमा थप अनुसन्धान गरी रहेको खड्का बताउँछन् । उनले एक वर्षअघि मात्र केन्द्रीय बैंकको सहायक निर्देशक पदबाट अवकाश पाएका थिए ।

योसँगै कर्णाली बैंकको घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसभन्दा अघि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं पटक–पटक सञ्चालक समितिको अध्यक्षमा रहेका राजेन्द्र बहादुर राय, तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी, तत्कालीन अध्यक्ष पशुपति दयाल पक्राउ परिसकेका छन् । मध्यपश्चिम प्रदेशको पहिलो विकास बैंकको रूपमा २०६० सालमा स्थापना भएको कर्णाली विकास बैंकले स्थापना काल देखिनै बचतकर्ताको रकम अपचलन गर्ने गरेको खुल्न आएको थियो । 

स्थापना कालबाट नै अपचलन हुँदै आएको भएता पनि राष्ट्र बैंकले कर्णाली बैंकलाई २०८१ साल पुस १० गते समस्या गस्त धोषण गरेको थियो । राष्ट्र बैंकको ‘ख’ वर्गमा रहेको उक्त बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ‘ख’ बमोजिम ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको थियो ।  राष्ट्र बैंकबाट खटिएका व्यवस्थापक समूहका संयोजक टिकाराम खतिवडाका अनुसार राष्ट्र बैंकका ६० करोड जति रकम बचत कर्ताको फिर्ता गरिसकेको बताएका छन् ।

अझै पनि ४ अर्ब ३० करोड बैंकका बचतकर्ताको रकम फिर्ता गर्न बाँकी रहेको उनले बताए । यस प्रकरणमा संलग्न भएकाहरू पक्राउ पर्ने क्रम जारी रहेको उनी बताउँछन् । यति धेरै बचतकर्ता निक्षेप रहेको बैंकमा राष्ट्र बैंकका नै कर्मचारी जोडिएर रकम अपचलन गरेको खुल्न आएको छ। बैंकमा रहेको निक्षेप रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकमभन्दा धेरै भएकाले गर्दा बचतकर्ताको रकम फिर्ता गर्न असहज भइरहेको खतिवडाले बताएका छन् । उनले भने ‘प्रहरीले रकम अपचलन गर्नेहरूलाई पक्राउ गरी अनुसन्धान गर्दै फैसला गर्ने समय सम्ममा कति बिगो कायम हुन्छ । त्यो बिगोबाट कति रकम असुल गर्ने सकिन्छ, भन्ने विषयमा राष्ट्र बैंकका उच्च पदका व्यक्ति सँग छलफल भइरहेको छ । ’

सो असुल भएको रकम अनुसार निक्षेपकर्तालाई रकम फिर्ता गर्ने की बैंकलाई पूर्ण जीवित गर्ने भन्ने योजना बनाइने उनी बताउँछन् । यस बैंकले २०७१ मा लाभांश बाँडेको थियो । त्यसपछि बैंक सबै वर्ष निरन्तर रूपमा नोक्सानमा नै रहेको छ ।यसभन्दा अघि कर्णाली बैंक घोटाला प्रकरणमा पक्राउ परेका सीईओ राय राजनीतिक पृष्ठभूमिसँग पनि जोडिएका व्यक्ति हुन्। २०६० साल देखिनै सक्रिय राजनीतिमा रहेका रायले २०७९ नेकपा एमाले सल्यानबाट चुनाव लडेका थिए । राय नेपाली काँग्रेस बाहेक अन्य पार्टीमा सबै पार्टीमा संलग्न भइसकेका छन् । उनी एमाले, माओवादी, समाजवादी राप्रपा, जस्ता देशका ठुला राजनीतिक दलहरूमा प्रवेश गरेको पाइएको छ । 

यस्तै, यस प्रकरणमा पक्राउ परेका मिश्र पहिला बैंकको सदस्य हुँदै अध्यक्ष पदसम्म पुगेका थिए । उनी २०६६ सालमा बैंकको अध्यक्ष भएका थिए ।  मिश्र मधेस आन्दोलनबाट उदाएका नेता हुन् । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बाँके क्षेत्र नं.२ बाट उम्मेदवार थिए । स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए । त्यसपछि एमाले प्रवेश गरेका मिश्र हाल केन्द्रीय सदस्य हुन् ।