डिजिटल भुक्तानीलाई बढवा दिन आइएमई र खल्तीबीच मर्जरः सीईओ रेग्मी


काठमाडौं – आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले डिजिटल भुक्तानीलाई बढवा दिन आइएमई र खल्तीबीच मर्जर गरेको बताएका छन् । उनले आईएमई पे र खल्ती वालेटको मर्जर र एकीकृत कारोबार सुरुसम्बन्धी आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले आईएमई र खल्ती मर्जरमा जाने विषयमा विभिन्न विषयहरू आएको भन्दै दुई ठुला वालेट मर्जरमा जानुको उद्देश्य समग्र अर्थतन्त्रलाई सहयोग पुर्‍याउनु भएको बताए । उनले क्रायसिसबाट मर्जर भएको नभई ‘डिजिटल पेमेन्ट इकोसिस्टम’ लाई बढवा दिन मर्जर भएको उल्लेख गरे ।

‘हामी मर्जरमा जाने भएपछि विभिन्न किसिमका प्रश्नहरू उठेका थिए । डिजिटल भुक्तानीको बजार नेतृत्व गरिरहेका कम्पनी किन मर्जरमा जाने, सस्टेन हुन नसकेको होकि भन्ने किसिमका प्रश्नहरू थिए’ उनले भने, ‘हामी मर्जरमा जानुको भनेको नेतृत्व गर्न मात्रै होइन । वालेट प्रयोगकर्ता, काम गर्ने कर्मचारी, समग्र अर्थतन्त्र र भविष्यका लागी ध्यानमा राखेर मर्जरमा गएका हौँ ।’