काठमाडौं – नेपाल उद्योग परिसंघको अध्यक्षमा बिरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । उद्योग परिसंघको २२ औं साधारण सभाबाट पाण्डे परिसंघको अध्यक्ष बनेका हुन् ।
यसअघि नै वरिष्ठ उपाध्यक्षमा निर्वाचित बनेसँगै झण्डै ६ महिना ‘वेटिङ प्रसिडेन्ट’को भूमिकामा पाण्डेले काम गरिसकेका छन् । आज सम्पन्न सीएनआईको २२औं वार्षिक साधारण सभाको बन्दसत्रले पाण्डेलाई अध्यक्षमा अनुमोदन गरेको हो ।
यससँगै, परिसंघको अध्यक्षबाट राजेशकुमार अग्रवाल विदा भएका छन् । परिसंघले व्यवसायीक छाता संगठनमा उदाहरण प्रस्तुत गर्दै विनानिर्वाचन र प्रतिस्पर्धा अध्यक्ष चुन्ने प्रक्रिया चलाउँदै आएको छ । यहीअनुसार पाण्डेले अबको नेतृत्व सम्हाल्नेछन् ।
२०७२ सालदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डेले २०७५ देखि परिसंघको उपाध्यक्षकारुपमा कार्यरत थिए । हाल उनी परिसंघको वरिष्ट उपाध्यक्षको पदमा थिए ।
काठमाडौंमा जन्मिएका उनी तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा सक्रिय छन् । सिभिल इन्जिनियरिङ, आवास, सहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दक्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् ।
उनी हरित सामाग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन् ।



About Us
प्रतिक्रिया