विराटनगर – मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच विद्यार्थीलाई व्यावहारिक ज्ञान, प्रत्यक्ष अनुभव तथा अनुसन्धानमा सहयोग पुर्याउने विषयमा समझदारी भएको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा दुई पक्षबीच पाँच बर्षका लागि लागू हुने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । संघका तर्फबाट अध्यक्ष अनुपम राठी त्रिभुवन र विश्वविद्यालयका तर्फबाट प्रा.डा.केदारप्रसाद रिजालले संघका महासचिव सञ्जयकुमार श्रेष्ठ र कार्यसमिति सदस्यद्वय डा. बन्दना जैन र गोपाल अग्रवाल तथा त्रिवि व्यवस्थापन संकायका डीन प्रा.डा.महानन्द चालिसको रोहबरमा हस्ताक्षर गरेका हुन्।
यो समझदारी अनुसार त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई उनीहरूको शैक्षिक सशक्तिकरणका लागि इन्टर्नशीप, अनुभवजन्य शिक्षा, औद्योगिक भ्रमण, संरक्षकता तथा मार्गदर्शन जस्ता व्यावहारिक स्रोतहरू उपलब्ध गराइने छ । यी सबै सेवा मोरङ उद्योग व्यापार संघको पहुँचमा रहेका निजी क्षेत्रका उद्योग–व्यावसायिक संस्थाहरू मार्फत गरिने जनाइएको छ । यसले नेपालमा सीपमा आधारित रोजगारी तथा ‘प्लेसमेन्ट’ को लागि वातावरण निर्माण गर्नेमा दुवै पक्षले विश्वास व्यक्त गरेका छन् ।
समझदारी अनुसार संघको संस्थागत उद्देश्य पूरा गर्नका लागि त्रिभुवन विश्वविद्यालयले विषयगत विद्यार्थी वा स्रोत व्यक्तिहरू प्रदान गर्ने जनाइएको छ । त्यसले अनुसन्धान, छलफल, अन्तरक्रिया तथा प्रतिवेदन तयारी जस्ता कामहरूमा सहयोग पुर्याउने जनाइएको छ । त्यसका माध्यमबाट औद्योगिक, आर्थिक, वातावरणीय नीति तथा आपूर्ति श्रृंखलाको सुधारमा टेवा पुग्ने जनाइएको छ ।
त्यसैगरी, दुई पक्षबीच उपलब्ध वा बाह्य स्रोतबाट संकलन गरिएका संकाय सदस्य, विशेषज्ञ वा सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुभव आदान–प्रदान गर्न जनशक्ति उपलब्ध गराइने समझदारी पनि भएको छ । उपलब्ध संकाय सदस्य, विशेषज्ञ तथा विज्ञहरूले सामाजिक, शैक्षिक, औद्योगिक, वैज्ञानिक तथा अन्य सान्दर्भिक विषयमा अनुसन्धान तथा ‘केस स्टडी’ गर्ने छन् । तथ्यमा आधारित निष्कर्ष संकलन, मस्यौदा तयार गर्ने र मोरङ उद्योग व्यापार संघ तथा त्रिविमा प्रकाशित गर्ने छन् ।
यसैगरी त्रिविले उद्योग, व्यापार, बजार र वातावरणसँग सम्बन्धित समस्याहरूको अनुसन्धान, अध्ययन, पहिचान र प्रसारण गर्नका लागि विषयमा आधारित विद्यार्थीहरू तथा स्रोत व्यक्तिहरू उपलब्ध गराउने समझदारी भएको छ । निजी क्षेत्रको पहिलो व्यावसयिक संस्था मोरङ उद्योग व्यापार संघमा ६ सयभन्दा बढी उद्योगहरू आबद्ध रहेको अध्यक्ष राठीले बताए । उनले सिकाइ अनुभवमा वृद्धिको अवसर, सीप विकास, रोजगारीको सम्भाव्यता, अनुसन्धान, संवाद, सञ्जाल निर्माण तथा उद्योगसम्बन्धी समस्या पहिचान गरी तिनको समाधान गर्न आपसी सहयोग र पहल गर्ने समझदारी पनि भएको बताए ।






About Us
प्रतिक्रिया