डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँसहित ५२ जना सीआइबीकाे फन्दामा 


काठमाडौं – ललितपुरबाट डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना चिनियाँ नागरिक सहित ५२ जना रहेका छन् । पक्राउ पर्ने चिनियाँहरूमा २९ वर्षीय झाङ लुन, २७ वर्षीय चेन जिहाआ, ४१ वर्षीय लिन डे, ३२ वर्षीय छु जेन्जी, ३० वर्षीय लिउ जेक्सुआन र ३३ वर्षीय छु लिङह्रा रहेका छन् । 

उनीहरूले ललितपुर महानगरपालिका वडा नं.४ वालिफल स्थित दमकल चोकमा रहेको एक घर भाडामा लिई सामाजिक सफ्टवेयर विकास कम्पनी प्रालि दर्ता गरी गैरकानुनी रूपमा ‘कल सेन्टर’ तथा ‘मिटु डेटिङ एप’ सञ्चालन गरेको खुल्न आएको छ । उनीहरूले काठमाडौं १३ स्थित चागलमा एक घर भाडामा लिई ललितपुरमा रहेको उक्त संस्थाको शाखाको रूपमा सञ्चालन गरिएको समेत खुल्न आएको छ । 

उनीहरूले नेपाली युवतीहरूलाई प्रलोभनमा पारी डेटिङ एप मार्फत अनलाइन डेटिङ घोटाला तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको ब्युरोले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार रुपैयाँ बरामद गरिएको छ। उनीहरूलाई ललितपुरको ललितपुर महानगरपालिका वडा नं.४ दमकल चोकबाट काठमाडौं १३ चागलबाट पक्राउ गरिएको हो । 

पक्राउ परेका ५२ जना व्यक्तिहरू मध्य कारोबारमा संलग्न मुख्य ६ जना चिनियाँ नागरिकहरू उपर अभौतिक मुद्रा सम्बन्धी मुद्दा दर्ता गरी बाँकी ४६ जना उपर थप अनुसन्धान भइरहेको उनले बताए । उनीहरूको साथबाट प्रहरीले  ७ थान ल्यापटप र ५४ थान मोबाइल समेत बरामद गरेको छ । प्रहरीले किप्टो कारोबार जस्ता गतिविधिमा संलग्न नहुन र यसबारे केही जानकारी भएमा ब्युरोमा जानकारी गराउनका लागि अनुरोध समेत गरेको छ ।