कुमारी बैंकले सुरु गर्यो फोन पे क्रेडिट कार्ड सेवा


काठमाडौं – फोनेपेले कुमारी बैंक लिमिटेडसँगको साझेदारीमा कुमारी फोन पे क्रेडिट कार्ड सार्वजनिक गरेको छ, जसले नेपालको डिजिटल क्रेडिट प्रणालीलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। फोनेपे क्रेडिट कार्ड योजना अन्तर्गत जारी गरिएको यो भर्चुअल क्रेडिट कार्ड अब कुमारी स्मार्ट मोबाइल बैंकिङ्ग एपमार्फत कुमारी बैंकका ग्राहकहरूका लागि उपलब्ध भएको छ।

कुमारी फोनपे क्रेडिट कार्ड एक पूर्ण रूपमा डिजिटल सेवा हो जसले प्रयोगकर्ताहरूलाई देशभरका कुनै पनि फोनपे क्यूआर मर्चेन्टहरूमा स्क्यान गरी भुक्तानी गर्न सक्षम बनाउँछ। यसले परम्परागत क्रेडिट कार्डका मुख्य सुविधाहरू जस्तै ४५ दिनसम्मको ब्याजमुक्त अवधि र लचिलो किस्ताबन्दी विकल्पलाई क्युआर भुक्तानीको सहजता र सुरक्षासँग संयोजन गरी, परम्परागत कार्डको आवश्यकतालाई पूर्ण रूपमा हटाएको छ।

यस शुभारम्भको अवसरमा, कुमारी बैंकले ५० प्रतिशत क्यासब्याक (अधिकतम रु. ५०० सम्म) को विशेष अफर घोषणा गरेको छ । जुन कुमारी फोन पे क्रेडिट कार्डमार्फत गरिएका कारोबारमा लागु हुनेछ। यो सीमित अवधिको अफरले क्युआरमा आधारित क्रेडिट भुक्तानीको अनुभवलाई प्रवर्द्धन गर्दै दैनिक खर्चमा बचत गर्न मद्दत गर्ने उद्देश्य राखेको छ।

फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमार सापकोटाले कुमारी बैंक फोनेपे क्रेडिट कार्ड नेटवर्कमा आबद्ध भएपछि, हामी हाम्रो पहुँचलाई उल्लेखनीय रूपमा विस्तार गर्ने बताए । उनले भने ‘जसले प्रयोगकर्ताहरूलाई तत्काल, सुरक्षित र सजिलो रूपमा भर्चुअल क्रेडिट पहुँच गर्न सक्षम बनाउँछ। यो पूर्ण रूपमा भर्चुअल क्रेडिट कार्डले क्रेडिटलाई सबै नेपालीका लागि पहुँचयोग्य र समावेशी बनाउने दिशामा एक महत्वपूर्ण कदम चालेको छ। हाम्रो दृष्टिकोण भनेको डिजिटल युगको लागि क्रेडिटलाई पुनर्परिभाषित गर्नु हो । जहाँ क्रेडिट कार्ड प्राप्त गर्नु त्यति नै सजिलो हुन्छ जति भुक्तानी गर्न स्क्यान गर्नु।’

यससँगै, कुमारी बैंक फोन पेको भर्चुअल क्रेडिट समाधान अपनाउने वित्तीय संस्थाहरूको बढ्दो सूचीमा समावेश भएको छ । यसले नेपालमा अझ स्मार्ट, सुरक्षित र समावेशी डिजिटल बैंकिङ्ग भविष्यतर्फको संकेत समेत गरेको छ । यो साझेदारीले डिजिटल क्रेडिट पहुँचलाई आधुनिक बनाउँदै प्रयोगकर्ताहरूलाई सहज, सुरक्षित र डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने साझा दृष्टिकोणलाई प्रतिविम्बित गर्छ। फोनेपे क्रेडिट कार्ड अब सिटिजन्स बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक र कुमारी बैंकमा उपलब्ध छ।

फोन पे नेपाल राष्ट्र बैंकबाट अनुमोदित तथा नियमनमा रहेको नेपालकै सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो। एफवान सफ्ट ग्रुपको सहायक कम्पनीको रूपमा फोनेपेले पीसीआई डिएसएस प्रमाणीकरण प्राप्त गरेको कम्पनी हो। फोनेपेले बैंक तथा वालेट प्रयोगकर्ता र व्यवसायहरूलाई छरितो, सुरक्षित र भरपर्दो नगद रहित डिजिटल भुक्तानी सेवा प्रदान गर्दै नेपाललाई नगदरहित अर्थतन्त्रतर्फ लैजाने प्रयासमा सक्रिय भूमिका खेलेको छ। प्रविधिको प्रयोगमार्फत मोबाइल भुक्तानी सञ्जालमा नवप्रवर्तन ल्याउने र भुक्तानी प्रणालीको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।