काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको बताएका छन्।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ६७औँ वार्षिकोत्सवको अवसरमा निगमको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री पाण्डेले हवाई क्षेत्र एकअर्कासँग आश्रित हुने भएकाले वायुसेवा निगमको सदृढीकरण गरिनुपर्ने बताए।
पर्यटनमन्त्री पाण्डेले वायुसेवा निगम ऐतिहासिक महत्व बोकेको र राष्ट्रको पर्यटन क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसको विकासका लागि सरकार सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे। उनले निगम व्यवस्थापन तथा कर्मचारीलाई वस्तुपरक, तथ्यपरक र परिणाममुखी रूपमा कार्य गर्न निर्देशन दिए।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हालसम्म गरेका उपलब्धिमूलक कार्यको जानकारी दिँदै सार्वजनिक खरिद विनियमावली नै निगमको प्रगतिको मुख्य बाधक भएको उल्लेख गरे।
उनले निगमको उद्देश्यअनुरुप कटिबद्ध भई नागरिकको विश्वासमा वृद्धि गर्न सुरक्षित उडानलाई प्राथमिकता दिँदै सुलभ, भरपर्दो र नियमित सेवामार्फत विश्वसनीयता कायम राख्नुपर्नेमा जोड दिए।






About Us
प्रतिक्रिया