बाध्यतामा वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गरिनेछ: श्रममन्त्री भण्डारी


काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले युवाले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनुपर्ने बताएका छन् । आज राष्ट्रिय युवा परिषद्द्वारा आयोजित युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा मन्त्री भण्डारीले ऊर्जावान् युवा देशको प्रमुख शक्ति स्रोतका रूपमा रहेको बताउँदै उनले स्वदेशमै उद्यमशीलता गर्नुपर्ने बताएका छन् ।

उनले बाध्यात्मक वैदेशिक रोजगारलाई आगामी दश वर्षभित्र अन्त्य गर्नका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा कार्यक्रम घोषणा गरेको समेत जानकारी दिए। ‘वैदेशिक रोजगार स्वैच्छिक हुनुपर्छ, बाध्यात्मक हुनुहुँदैन, स्वेच्छाले जानेहरूलाई रोक्न सकिँदैन,’ उनले भने, ‘तर, रोजगारी नपाएर बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारमा जानेहरूलाई देशभित्रै रोजगारको अवसर सृजना गर्न श्रम मन्त्रालय संरचना र नीतिसहित काम गरिरहेको छ ।’

उनले रोजगारी सृजनाका लागि निजी क्षेत्रसँगको समन्वय, सहकार्य गरी अवसर अवसर सृजना गर्न सरकारले आवश्यक नीतिनियम सुधार गरेर जाने बताए। मन्त्री भण्डारीले नेपालीहरू थोरै पैसाका लागि बिदेसिनुभन्दा स्वदेशमा नै स्वरोजगार गरेर बस्न उपयुक्त भएको धारणा गरे । उनले नेपाली श्रम बजारमा प्रत्येक वर्ष पाँच लाख श्रम शक्ति आउने गरेको जिकिर गर्दै श्रमशक्तिहरुलाई सीप र क्षमता अभिवृद्धि विकास गर्न सके देशभित्रै रोजगारीको अवसरलाई सदुपयोग गर्न सकिने बताए ।