बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै


काठमाडौं – बरुण हाइड्रोपावर कम्पनीले असार ३१ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको  १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन तथा खुला गर्न लागेको हो । जसमा कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

उक्त कम्पनीको हकप्रद शेयरमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताहरूले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खांदबारी र धरान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत समेत आवेदन दिन सक्नेछन्।