‘नोटको जतन गरौँ र झुत्रो नोटको समयमा दाबी गरौँ’


काठमाडौं – नेपाल राष्ट्र बैंकले नोटको सदुपयोग गर्न अनुरोध गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै झुत्रो नोटको समयमा दाबी गर्नुपर्ने बताएको हो ।

केन्द्रीय बैंकले कसैसँग रहेको बैंक नोट आगोमा पोलिई, किराले खाई, च्यातिई, पानीले भिजी वा अन्य कुनै कारणले चलनचल्ती योग्य नभएमा त्यस्तो नोटको साटोमा नयाँ र सुकिलो नोट राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली, २०५९ मा भएको व्यवस्थाबमोजिम सट्टा भर्ना माग गर्न सकिने बताएको छ ।

त्यस्ता,चलनचल्तीमा अयोग्य भएका नोटहरूको सट्टा भर्नाको दाबीका लागि नेपाल राष्ट्र बैंकमा दाबी पेस गर्नुपर्ने व्यवस्था छ ।डिजाइन मेटिएको, च्यातिएको, विकृत वा पचास प्रतिशतभन्दा बढी भाग नभएको बैंक नोटको सट्टा भर्ना नहुने व्यवस्था रहेको छ भने आगलागी वा दैवी प्रकोपमा परेका नोटको सट्टा भर्नाका लागि स्थानीय तह वा प्रहरी कार्यालयको सिफारिस आवश्यक पर्दछ।