बैंक वित्तीय संस्थामा ७० खर्ब नाघ्यो निक्षेप, जीडीपीभन्दा ९ खर्ब बढी


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा भारी रकमको वृद्धि देखिएको छ । जेठ ३१ गते ६९ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट अर्थात् असार १ गते बढेर ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संकलन गर्ने निक्षेप पनि बढेर ६२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा कर्जा प्रवाहमा भने गिरावट देखिएको छ ।

जेठ ३१ गते बैंकिङ्ग प्रणालीबाट ५५ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट घटेर ५५ खर्ब ५८ अर्बमा खुम्चिएको छ ।  समीक्षा अवधिमा वाणिज्य बैंकहरूले गर्ने कर्जा प्रवाहमा भने सुधार देखिएको छ ।  जेठ ३१ गते ४९ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट बढेर ४९ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७८ दशमलव ४० प्रतिशत रहेको छ ।   

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ४.६१ प्रतिशतले बढेर ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । कार्यालयले गरेको प्रक्षेपणअनुसार राष्ट्रिय अर्थतन्त्रको आकारभन्दा ९ खर्ब रुपैयाँ बढी निक्षेप संकलन भएको हो ।