काठमाडौं – विश्व बैंकले नेपालमा मृत्यु र अपाङ्गताको लागि वायु प्रदूषण सबैभन्दा ठुलो जोखिम कारक भएको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा मृत्यु र अपाङ्गताको लागि वायु प्रदूषण सबैभन्दा ठुलो जोखिम कारक भएको उल्लेख गर्दै सार्वजनिक नीति र लगानीले सबैभन्दा लागत-प्रभावी समाधान भएका क्षेत्रलाई प्राथमिकता दिँदै वायु गुणस्तर सुधार गर्न आवश्यक रहेको सुझाव दिएको छ ।
प्रतिवेदनमा काठमाडौं उपत्यका र तराई नेपालको वायु प्रदूषण प्रमुख रूपमा चिन्ताजनक अवस्थामा रहेको उल्लेख गर्दै विगत एक दशकमा यसमा कुनै उल्लेखनीय सुधार नभएको बताइएको छ । वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाएको र वार्षिक रूपमा लगभग २६ हजारको अकाल मृत्यु भइरहेको प्रतिवेदनमा उल्लेख छ । साथै, स्वास्थ्यको अतिरिक्त, वायु प्रदूषणले श्रम उत्पादकता, पर्यटन र उड्डयन क्षेत्रमा असर गरेको छ भने खराब वायु गुणस्तरको आर्थिक लागत प्रत्येक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशतभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।
वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठकुरीले प्रतिवेदनले औँल्याएका विषयमा प्रतिक्रिया दिँदै भने,’स्वच्छ हावा र आर्थिक वृद्धि द्वन्द्वमा छैनन् । वास्तवमा, प्रदूषणमा निष्क्रियताको लागत आज साहसिक कदम चाल्ने लागत भन्दा धेरै बढी छ । कडा औद्योगिक उत्सर्जन मापदण्डहरू तय गर्नेदेखि विद्युतीय यातायातलाई प्रवर्द्धन गर्ने सम्मका काम गर्न सरकार प्रतिबद्ध छ।’
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डिभिजन निर्देशक डेभिड सिस्लेनले भने, ‘विश्व बैंकले वित्तीय र प्राविधिक सहयोग र क्षमता निर्माण सहयोगको लाभ उठाएर नेपाललाई आफ्नो वायु गुणस्तर सुधार कार्यक्रमहरूलाई बलियो बनाउन मद्दत गर्न प्रतिबद्ध छ । राम्रो स्वास्थ्य र समृद्धिको लागि स्वच्छ हावाको अटल समर्थकको रूपमा, विश्व बैंकले नेपालमा स्वच्छ हावालाई सहयोग गर्ने हाम्रो प्रयासहरू प्रभावकारी र दिगो छन् भनी सुनिश्चित गर्न विश्वभरबाट आफ्नो व्यापक ज्ञान र अनुभवलाई निरन्तर उपयोग गरिरहेको छ ।’



About Us
प्रतिक्रिया