काठमाडौं – नेपाल राष्ट्र बैंकले प्रमाणित विवरणले बैंक र ग्राहकबीच पारदर्शिता बढाउने बताएको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो बताएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूको खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्नुपर्दछ ।
तर, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको हकमा विदेशमै बसी अनलाइनमार्फत इजाजतपत्रप्राप्त संस्थामा खाता खोल्नु पर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्ने व्यवस्था छ ।
यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्ने केन्द्रीय बैंकको व्यवस्था छ । साथै, आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्नसक्ने व्यवस्था छ ।





About Us
प्रतिक्रिया