काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १६.५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । केन्द्रीय बैंकले अर्ध– वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै सो अनुमान गरेको हो ।
गत वर्ष यस्तो हिस्सा १६.८ प्रतिशत रहेको थियो । यस प्रदेशको उद्योग क्षेत्रमा सानार मझौला उद्योगहरूको उल्लेख्य उपस्थिति रहेको छ । आ.व. २०८०/८१ सम्ममा गण्डकी प्रदेशमा दर्ता भएका कुल उद्योगको सङ्ख्या ७३ हजार ७ सय ६६ पुगेको छ भने वाणिज्य फर्मको सङ्ख्या ७४ हजार ३ सय १९ पुगेका छन्।
आर्थिक वर्ष २०८१/८२ को प्रथम अर्धवार्षिक अवधिमा यस प्रदेश अन्तर्गतका नमुना छनोटमा समेटिएका १४ उद्योगको औसत क्षमता उपयोग गत वर्षको सोही अवधिको तुलनामा ०.४१ प्रतिशत बिन्दुले कमी आई ४०.८५ प्रतिशत रहेको छ । यस प्रदेशमा औसत क्षमता उपयोगभन्दा बढी उत्पादन क्षमता भएका उद्योगमा वियर, बिस्कुट, चुरोट, प्रशोधित दुध, तोरीको तेल, लिक्विड औषधी र चकलेटका उद्योग रहेकाछन् । औसतभन्दा कम क्षमता उपयोग भएकामा सिमेन्ट उद्योग, क्याप्सुल औषधी, चाउचाउ, ट्याब्लेट औषधी, ईटा उद्योग ओइन्टमेन्ट औषधी र ड्राई सिरप औषधीका उद्योग रहेका छन्।
आव २०८१/८२ को प्रथम अर्धवार्षिक अवधिमा अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा ओइन्टमेन्ट औषधी, चाउचाउ, वियर, ड्राई सिरप औषधी, चुरोट, तोरीको तेल र प्रशोधित दुधको उत्पादनमा क्रमशः ७९.४७ प्रतिशत, ४५.२२ प्रतिशत, ४३.०३ प्रतिशत, ९.७२ प्रतिशत, ५.०७ प्रतिशत, र ४.७७ प्रतिशतले वृद्धि भएको छ भने क्यापसुल औषधी, ईट्टा, ट्याब्लेट औषधी, चकलेट, सिमेन्ट, लिक्विड औषधी र विस्कुटको उत्पादन क्रमशः ३०.३ प्रतिशत, २३.३ प्रतिशत, ११.४९ प्रतिशत, ११.४५ प्रतिशत, १०.२७ प्रतिशत, ८.९ प्रतिशत, ५.१७ प्रतिशतले कमी आएको छ ।



About Us
प्रतिक्रिया