काठमाडौं – गत वर्षको तुलनामा उपभोक्ता मुद्रास्फीति घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनासम्मको तथ्यांकअनुसार वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ । गत वर्षको सोही महिनामा भने यस्तो मुद्रास्फीति दर ४.४० प्रतिशत थियो ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत मात्र रहेको छ । जुन अघिल्लो वर्षको ६.४१ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा घटेको हो । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत मापन गरिएको छ, जुन अघिल्लो वर्ष ३.०९ प्रतिशत थियो ।
बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहभित्र घ्यू तथा तेल उप–समूहको मूल्य सर्वाधिक ११.०८ प्रतिशतले बढेको छ । फलफूल ६.१५ प्रतिशत, दाल तथा गेडागुडी ५.१७ प्रतिशत, र गैर–मदिराजन्य पेय पदार्थ ४.७० प्रतिशतले वृद्धि भएका छन् । तरकारी उप–समूहको मूल्य ८.११ प्रतिशतले घटेको छ भने मरमसला २.२० प्रतिशत र माछा-मासु ०.४८ प्रतिशतले सस्तिएको छ।
गैर–खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवा उप–समूहमा ९.०४ प्रतिशतको वृद्धि देखिएको छ । शिक्षामा ५.८८ प्रतिशत, कपडा तथा जुत्ताचप्पलमा ५.२३ प्रतिशत, फर्निचर तथा घरायसी उपकरणमा ३.९९ प्रतिशत र रेष्टुरेन्ट तथा आवास सेवामा ३.१६ प्रतिशतले मूल्यवृद्धि भएको छ । क्षेत्रगत रूपमा हेर्दा, ग्रामीण क्षेत्रमा उपभोक्ता मुद्रास्फीति ३.२१ प्रतिशत पुगेको छ भने शहरी क्षेत्रमा २.६१ प्रतिशत मापन गरिएको छ ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ४.२९ प्रतिशत मुद्रास्फीति देखिएको छ । त्यसपछिका स्थानहरूमा सुदूरपश्चिम ३.१४ प्रतिशत, मधेश २.८१ प्रतिशत, बागमती २.४० प्रतिशत, गण्डकी २.२३ प्रतिशत, कर्णाली २.२१ प्रतिशत र लुम्बिनी प्रदेशमा सबैभन्दा कम २.१५ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ ।



About Us
प्रतिक्रिया