‘साना तथा मझौला उद्यममा लगानी गर्ने खालको नीति राष्ट्र बैंकको छ’


काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिनाले अर्थतन्त्रको ग्रोथका लागि साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तार अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन् । तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ काे दोस्रो सत्र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या: समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ मा बोल्दै उनले नेपाल जीडीपीमा २२/२३ प्रतिशत योगदान साना तथा मझौला उद्यमहरूको रहेको बताएका हुन् । 

उनले साना तथा मझौला उद्यमहरूमा बैंकिङ्ग पहुँच पुर्याउने गरी नेपाल राष्ट्र बैंकले नीति निर्माण गर्दै आएको उल्लेख गरे ।  उनले राष्ट्र बैंकले लामो समयदेखि नै साना तथा मझौला उद्यमहरूमा लगानी बढाउन लागिरहेको उल्लेख गरे । 

उनले यसमा लगानी बढाउन विशेष क्षेत्र नै छुट्याएर लगानीको सीमा तय गर्ने गरेको बताए । उनले राष्ट्र बैंकले साना तथा मझौला उद्यमहरूलाई प्रोत्साहन गर्न फण्डको पहुँच पुर्याउने काममा लागिरहेको बताए । ‘लामो समयदेखि नेपाल राष्ट्र बैंक प्राथमिकतामा परेका क्षेत्रमा कर्जा पुर्याउन र वित्तीय पहुँच पुर्याउनु पर्दछ भनेर लागिरहेको छ ।’

उनले भने, ‘१९१७ देखि नै राष्ट्र बैंकले निश्चित क्षेत्र तोकेर नै यत्ति लगानी गर्ने पर्ने भन्ने व्यवस्था थियो । जसअनुसार नै अहिले पनि ३ वटा फरक क्षेत्रमा जाने कर्जाको सीमा तोकिदिएको छ ।’ उनले साना तथा मझौला उद्यमहरूले अर्थतन्त्रमा दिएको योगदानलाई हेरे आधिकारिक पक्षबाट यसमा कर्जा लगानी गर्ने तरिकाले काम अघि बढाइरहेको समेत बताए । उनले वित्तीय संस्थाहरूलाई समेत यस क्षेत्रमा कर्जा लगानी गर्न प्रोत्साहन गरिरहेको बताए ।