काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-१० घर भएकी २९ वर्षीया उरूषा क्षेत्री, काठमाडौं महानगरपालिका– ३२ बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका २७ वर्षीय केदार ढुङ्गाना र दाङ तुल्सीपुर उपमहानगरपालिका-६ घर भएका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन् ।
पक्राउ मध्ये उरूषाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८ लाख रुपैयाँ, केदारले माल्दिभ्स पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रुपैयाँ र पोषणराजले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उरूषालाई काठमाडौं महानगरपालिका-३१ बाट शनिवार, केदारलाई काठमाडौं महानगरपालिका–३२ बाट शुक्रवार र पोषणराजलाई दाङ तुल्सीपुर उपमहानगरपालिका-६ बाट बुधवार पक्राउ गरेको हो ।
पक्राउ मध्ये उरूषा र केदारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं र पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया