काठमाडौं – नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले पछिल्ला वर्षमा विद्युतीय सवारीसाधनको क्रेज बढेको र ऋण पनि त्यसमै गइरहेको बताएका छन् । नाडा अटोमोबाइल एसोसिएसनले मंगलबार आयोजना गरेको ‘नाडा डाइलग २०८१’ को ‘लङ टर्म पोलिसिज फर अटोमोबाइल सेक्टर’ विषयक सत्रमा उनले यस्तो बताएका हुन् ।
उनले गाडी किन्नेहरू इभीमा लागेको भन्दै बैंकहरुले ईभीको लागि सपोर्ट गरिरहेको बताएका छन् । ‘वातावरणको हिसाबले पनि इभीलाई प्रमोट गर्नुपर्छ भनेर सरकार लाग्यो राष्ट्र बैंकले पनि फाइनान्सिङ्गको पाटोमा केही सर्कुलरहरू पनि लेरायो’ उनले भने, ‘बैंकहरुले लोन दिँदै गर्दा इभीको भविष्य के हुने हो भन्नेमा केही कन्फ्युजन सिर्जना भएको छ ।’
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका कोइरालाले विद्युतीय सवारीसाधन (इभी) कर्जामा राज्यले स्पष्ट नीति ल्याउनुपर्ने भन्दै स्पष्ट नीति नहुने हो भने आगामी दिनमा बैंकहरूमा समस्या आउने बताए । उनले बैंकहरुबाट करिब १ खर्ब २९ अर्ब रूपैयाँ बराबरको कर्जा सवारी क्षेत्रमा गएको समेत बताए ।
‘हामीले जुनसुकै क्षेत्रलाई प्राथमिकता दिँदा पनि दीर्घकालीन वित्तीय स्थायित्वको ख्याल गर्नुपर्छ’ उनले भने ।



About Us
प्रतिक्रिया