नाडाले भेट्यो वाणिज्य विभागका महानिर्देशक, क्यूआर कोडमार्फत् मूल्य निर्धारण गर्ने विषयमा छलफल


काठमाडौं – अटोमोवाइल्स एशोसिएशन अफ नेपाल नाडाका अध्यक्ष करण चौधरी सहितको टोलिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक केदार दाहालसंग भेटवार्ता गरेको छ । गत २२ गते अध्यक्ष चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले दाहालसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको हो ।

सो भेटघाटमा विभागले गत चैत १४ गते वस्तुमा लेवल राख्ने सम्बन्धमा प्रकाशित गरेको सूचनाका सम्बन्धमा विस्तृत रुपमा छलफल गरेका हुन् । सो छलफलमा अध्यक्ष चौधरीले सो सूचनामा राखिएको प्रावधानहरुमा केही अस्पष्टता रहेकोले त्यसको स्पष्टताको लागि आग्रह गरे । सो छलफलमा अध्यक्ष चौधरीले सवारी साधनहरुको अधिकतम मूल्यसूचि प्रकाशनबारे स्पष्ट नीति आवश्यक भएको, स्पेयर पार्टसमा अधिकतम मूल्य सूचि राख्ने तरिका क्यूआर कोडको माध्यमबाट मूल्य निर्धारण गर्ने कि अन्य कुनै तरिका अपनाउने भन्नेबारेमा प्रष्टता हुनु पर्ने, ब्ल्कमा आउने गाडीहरूमा अधिकतम मूल्यसूचि लागू गर्ने कि नगर्ने भन्ने विषयमा कानुनी स्पष्टता हुनु पर्ने, स्पेयर पाट्र्समा अधिकतम मूल्यसूचि अनलाइन वा अफलाइन कस्तो ढाँचामा राख्ने, डिजिटल तथा गैरडिजिटल माध्यमबाट मूल्य सूचिलाई कसरी पारदर्र्शी बनाउने, स्पेयर पार्टसमा आउने नटवोल्टहरुमा अधिकतम मूल्यसूचि के कसरी लगाउने भन्ने विषयहरुमा स्पष्टता हुनु पर्ने धारणा व्यक्त गरे ।

यसैक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले पनि यस विषयमा थप स्पष्टता आवश्यक रहेको बताउँदै डिजिटल माध्यमबाट स्पेयर पाट्र्सको मूल्य निर्धारण गर्न क्यूआर कोडको प्रभावकारी प्रयोग गर्न सकिने जसले अनलाइन प्रणालीलाई व्यवस्थित बनाउँने धारणा व्यक्त गरे ।

सो भेटघाट तथा छलफलमा वाणिज्य विभागका महानिर्देशक दाहालले भौतिक वस्तु वा कमोडिटीहरूको अधिकतम मूल्य सूचि प्रकाशित गर्ने अवधारणा पुरानो भए पनि यस प्रक्रियालाई अहिलेको सन्दर्भमा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको भन्दै अधिकतम मूल्य सूचिलाई पारदर्शी बनाउन अधिकतम मूल्यसूचि स्पष्ट देखिने गरी टाँस्नुपर्ने बताए । यसैक्रममा महानिर्देशक दाहालले डिजिटल र ननडिजिटल अधिकतम मूल्यसूचिलाई क्यूआर कोड मार्फत प्रभावकारी कार्यान्वयन गरेर अनलाइन माध्यमलाई समेट्नुपर्ने बताए । छलफलको अन्त्यमा महानिर्देशक दाहालले यस विषयमा सबै सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताए ।

उक्त छलफलमा नाडाका निवर्तमान अध्यक्ष डा. धुर्व थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह कोषाध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्यद्धय दिपेन्द्र मिश्रा, प्रकाश कपुरी, सोहन श्रेष्ठ, मेघराज पौडेल, प्रदिपमान प्रधान र आमन्त्रित सदस्य नारायण प्रसाद पौडेलको उपस्थिति रहेको थियो ।