अब आरपीएसमार्फत हुने ५०० सम्मको फण्ड ट्रान्सफरमा कारोबार शुल्क नलाग्ने


काठमाडौं – डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नुका साथै सानो रकमका भुक्तानीहरू डिजिटल माध्यमबाट गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले रिटेल पेमेन्ट स्वीच (आरपीएस) मार्फत हुने ५०० रुपैयाँसम्मको फण्ड ट्रान्सफरमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

चैकनेक्टआईपीएसको वेब/मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग रहेको कनेक्टआईपीएस फण्ड ट्रान्सफर तथा कनेक्टआईपीएसमार्फत मोबाइल वालेटमा गरिने क्यास आउटलाई पूर्ण रूपमा निःशुल्क गरिएको छ ।

चैत्र १९ गतेबाट उक्त व्यवस्था कनेक्टआईपीएसमा कार्यान्वयनमा आइसकेको छ भने बैंक वित्तीय संस्था र वालेटहरूले आफ्ना प्रणालीमा आवश्यक व्यवस्था मिलाएपछि मोबाइल बैंकिङ्ग तथा वालेटमा पनि क्रमिक रूपमा लागू हुनेछ ।

आरपीएसमार्फत हुने अन्य च्यानल र कारोबारमा भने कारोबार रकमको आधारमा हाल कायम रहेको २ र ८ रुपैयाँ कारोबार शुल्कको व्यवस्था यथावत रहने छ । साथै उक्त कारोबार शुल्कमा कानुन बमोजिमको मूल्य अभिवृद्धि कर (भ्याट) थप हुने व्यवस्था गरेको छ ।

कारोबार संख्यामा बृद्धी सँगै कारोबार शुल्क समायोजन गर्ने नीति एनसीएचएलले लिँदै आएको छ । आरपीएसमार्फत गत आर्थिक वर्षमा ५ हजार ६९७ अर्ब बराबरको ७ करोड ५६ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको थियो भने चालू आर्थिक वर्षको आठ महिनामा ४ हजार ५५३ अर्ब बराबरको ६ करोड ८३ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरिसकेको छ ।

हाल ५२ बैंक वित्तीय संस्थाहरूको मोबाइल बैंकिङ्ग एपमा आरपीएस/कनेक्टआईपीएसबाट फण्ड ट्रान्स्फर गर्न सकिने सेवा उपलब्ध रहेको छ भने १३ भन्दा बढी वालेटहरूमा बैंक खाताबाट क्यास इन/आउठको सेवा उपलब्ध रहेको छ ।

एनपीएसअन्तर्गतको आरपीएसले बैंक वित्तीय संस्था पीएसपीएस/पीएसओएस लगायतका संस्थालाई ओपन एपीआईएसको माध्यमबाट रियल टाइम भुक्तानीहरू गर्न सकिने प्लेटफर्म उपलब्ध गराउँदै आएको छ । आरपीएसमा २० लाख रुपैयाँ प्रति कारोबार सीमा रहेको छ भने  एउटै बैंकमा गरिने कारोबारको उक्त सीमा १ करोड रुपैयाँ प्रति कारोबारसम्म रहेको छ ।