नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष २०८२ वैशाख २५ देखि २९ गते सम्म काठमाडौंमा हुने भएको छ । यस वर्ष मेलाको लागि चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानबाट सहभागिता हुने भएको छ। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ दसौँ संस्करण हो । मेलामा मे इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको पेभेलियन रहने छ।

नेपाल सरकार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको महासङ्घले जानकारी दिएको छ। कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ। मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, लगायतका देशका क्रेताहरूलाई आमन्त्रण गरिने छ।

महासंघका अनुसार नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मे एन नेपाल सो, हस्तकला उत्पादनहरू, वस्तुगत सङ्घहरूका उत्पादनहरू , साथै चार पाङ्ग्रे र दुई पाङ्ग्रे विद्युतीय गाडी (इभी) गाडीहरू समेत राखिने छ। मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ।

मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण  सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने छन्। मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्धिपक्षिय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा छ।

महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षहरू जस्तै मुलुक भित्र प्रादेशिक, जिल्ला स्तर एवं वस्तुगत गरी विभिन्न भागमा आयोजना हुने क्रममा छ । विभिन्न जिल्लाहरूमा आयोजना भएका मेलाहरूमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार परिवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्‍याउने विश्वास महासङ्घले लिएको छ।

मेलामा ज्येष्ठ नागरिक तथा फरक रूपले समक्ष नागरिकहरूलाई निःशुल्क तथा विद्यार्थीहरूलाई उनीहरूको प्रवेश पत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको र २०८१ चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको महासङ्घले जानकारी गराएको छ।