धनगढीमा ‘बायोग्यास प्लान्ट’ पूर्ण क्षमतामा सञ्चालन


कैलाली- धनगढी उपमहानगरपालिका– २ सन्तोषी टोलस्थित बायोग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले दैनिक ३० हजार किलो सड्ने र दुर्गन्ध फैलाउने फोहाेर व्यवस्थापन गर्दै आएको छ ।

बायोग्यास प्लान्टले खपत गर्नेमध्ये दैनिक करिब आठ हजार किलो फोहाेरमैला धनगढी उपमहानगरले उपलब्ध गराउने गरेको देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरका सञ्चालक रविनकान्त पन्तले बताए । उनले बाँकी फोहाेर गौशाला, कुखुरा फार्म आदिबाट संकलन गरेर ल्याउने गरेको बताए । घरबाट निस्कने तरकारी, खानाजन्य फोहाेर, सडेगलेका फलफूल, गोबर, कुखुराको सूलीलगायत कुहिने फोहाेर प्रयोग गरेर बायोग्यास प्लान्टले बायोग्यास र गोबर मल उत्पादन गरिरहेको जनाइएको छ ।

बायोग्यास प्लान्टबाट दैनिक ३० हजार किलो फोहाेरलाई व्यवस्थापन गरी दैनिक तीन हजार पाँच सय किलो जैविक मल र एक हजार किलो बायोमिथेन ग्यास उत्पादन गर्दै आएको पन्तले जानकारी दिए । उत्पादित ग्यासको बजारीकरणको प्रयास भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले प्रदेश सरकारसँग मिलेर उत्पादित ग्यास पाइपलाइनबाट घरघरमा पुर्‍याउनका लागि प्रक्रिया सुरु गरेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ‘बेस्ट टु इनर्जी प्रोजेक्ट’अन्तर्गत रु. २० करोड ८४ लाख लागतमा स्थापना गरिएको ग्यास प्लान्ट गत वर्षबाट सञ्चालनमा आएको हो । कुल लागतमध्ये ४० प्रतिशत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र ६० प्रतिशत देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले लगानी गरेको पन्तको भनाइ छ । प्लान्ट स्थापनाका लागि जग्गा भने उपमहानगरपालिकाले प्रदान गरेको हो ।

बायोग्यास प्लान्ट सञ्चालनमा आएपछि उपमहानगरलाई फोहाेरमैला व्यवस्थापनमा सहज भएको छ । पूर्ण क्षमतामा सञ्चालनमा आएपछि बायोग्यास प्लान्टले दैनिक करिब ३० हजार किलोसम्म फोहाेरमैलाको प्रयोगबाट एक हजार किलो ग्यास उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।