काठमाडौं – प्रतिष्ठित रोजगारीहरुको सूचीमा पहिलो नम्बरमा आउने बैंकको जागिर छाड्नेहरुको लहर चलेको छ । दुई/चार वर्ष अघिसम्म शानदार रोजगारीका रुपमा कहलिने बैंकको राेजगारी तनावपूर्ण बन्न थालेपछि जागिर छाड्नेहरुको लहर चल्न थालेको हो ।
बैंकिङ्ग क्षेत्रमा आबद्ध कर्मचारीमाथि मानसिक तनाव बढ्न थालेपछि बैंकिङ्ग समाचारले ‘बैंकर तनाव’मा नामक श्रृङ्खलामा निरन्तर लेख्दै आइरहेको छ । यसबाहेक तथ्यांकहरुमा समेत बैंकिङ्ग क्षेत्रमा तनाव बढेको र जागिर छाड्नेहरुको संख्या समेत बढेको देखिन थालेको छ । एक वाणिज्य बैंकका कर्मचारीकाअनुसार बैंकको जागिरमा चुनौती र तनाव थपिँदै आइरहेको छ । यतिबेला बैंकहरु ‘स्ट्रेस’मा छन् । सिंगो ‘इन्डस्ट्रि’मा देखिएको ‘स्ट्रेस’का कारण यस क्षेत्रमा आबद्ध हजारौं कर्मचारी प्रभावित नबन्ने कुरै भएन ।
बैंकको लगानी नबढ्नु मूख्य चूनौतीका रुपमा आइरहेको समयमा त्योभन्दा पनि ठूलो चूनौतीका रुपमा प्रवाहित कर्जा नउठ्नु देखिन्छ । बैंकका कर्मचारीलाई यसअघि प्रवाहित कर्जा विभिन्न बाहानामा नउठ्दा तनाव भइरहेको छ । कतिपय कर्मचारीले आफ्नो हस्ताक्षरबाट प्रवाहित कर्जा असुली नहुँदा आत्महत्या नै गरेको अवस्था छ । यसबाहेक, खराब कर्जा बढेको बढ्यै छ भने धितो सकार्दा सकार्दै गैह्र बैंकिङ्ग सम्पत्ती बढेर ३८ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
यही समयमा दुई/तीन साता अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ्ग क्षेत्रलाई थप एउटा तनाव दिए । उनले कालोसूचीमा पर्नेहरुको संख्या बढ्नुको मूख्य कारण बैंक नै भएको बताए । उनले बैंकहरुले ऋणीहरुलाई राम्रो व्यवहार नगर्दा र देखाइदिने प्रवृत्ति मौलाउँदा कालोसूचीमा पर्नेको संख्या बढेको बताए ।
गभर्नर अधिकारी यत्तिमै रोकिएनन् र भने, ‘कालोसूचीमा राख्ने प्रावधान नै फेर्न पर्ने भएको छ । बैंकहरुले ऋणीलाई ‘कन्सल्ट्यान्ट’ गर्नुपर्छ ।’ यस्तै यस्तै समस्या र चूनौतीले यतिबेला साँच्चै बैंकर तनावमा छन् । यसबाहेक कार्यालयमा १२ घन्टाजसो काम गर्नुपर्ने बाध्यताले झनै समस्या सृजना गरिरहेको छ ।
‘बाहिरबाट हेर्दा त के छ बैंकको राेजगारी सुट लगायो हिड्यो जस्तो देखिन्छ । तर, काम गर्न निकै सकस छ’ बैंकिङ्ग समाचारमा पहिचान नखोल्ने सर्तमा एक कर्मचारी भन्छन्, ‘भित्रि कुरा कसैले बुझेका नै हुँदैनन् ।’ उनकाअनुसार कामको तनावसँगै यतिबेला सर्वसाधारण (ऋणी) हरुको आक्रमणले झनै सताइरहेको छ । देशका विभिन्न स्थानमा बैंकरमाथि आक्रमण भइरहेका छन् भने बैंक शाखामाथि नै आक्रमण भइरहेको छ । कतिपय स्थानमा कर्मचारमिाथि पेट्रोल नै खन्याउनेसम्मका घटना भएका छन् । यसबाहेक, कर्जा विस्तार लगायतका तनाव पहिलादेखि नै थिए ।
वर्षदिनमा ३ हजार छाडे जागिर !
यही र यस्ता घटनाले गर्दा बैंकको जागिर छाड्नेको संख्या बढ्न थालेको छ । बैकर्स संघको तथ्यांकले एक वर्षको अवधिमा नै ३ हजार कर्मचारीले बैंकिङ्ग क्षेत्र छाडेकाे देखाउँछ। बैंकर्स संघकाअनुसार एक वर्षका बैंकिङ्ग क्षेत्र छाड्नेहरु ३ हजार ३५९ जना रहेका छन् । जसमध्ये, महिला कर्मचारी धेरै रहेको संघको तथ्यांकले देखाउँछ । सो समयमा २ हजार १९ जना महिला र १ हजार ३४० जना पुरुष कर्माचारी रहेका छन् । वाणिज्य बैंकमा कार्यररत कर्मचारी संख्या २०७९/८० मा ४४ हजार ९६२ जना रहेकोमा २०८०/८१ मा घटेर जम्मा ४१ हजार ६०३ जना रहेका छन् । यस तथ्यांकले पनि बैंकको जागीर सोचेको जस्तो नरहेको देखाउँछ ।
बैंकर नै भन्छन् – बढी समय दिनुपर्छ, जागिर छाड्ने बढे
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले पछिल्लो समय बैंकिङ्ग क्षेत्रको जनशक्ति पलायन हुने क्रम बढेको बताएका छन् । उनले बैंकहरूमा १२ घण्टा समय दिएर काम गर्नुपर्ने दबाबका कारण बैंकिङ्ग क्षेत्रमा काम गर्नेहरू जागिर छाड्न थालेको बताएका हुन् । गत बुधवार उडान शैक्षिक केन्द्रको एक कार्यक्रममा बोल्दै थापाले बैंकको जागिर छाड्ने प्रवृत्ति रोक्नका लागि नयाँ प्रविधि र सीपहरूको प्रयोगमा वृद्धि गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘बैंकिङ्ग अब केबल परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेका छन् । अहिले कामका लागि १२ घण्टा समय दिनुपर्ने र ठूलो दबाब भई जागिर छोड्ने प्रवृत्तिहरू देखिन थालेका छन् । यो अवस्था सुधार्न प्रविधि र नयाँ सीपहरूको प्रयोग अत्यन्त महत्त्वपूर्ण छ ।’ थापाले बैंकको जागिर छाड्ने प्रवृत्ति रोक्नका लागि नयाँ प्रविधि र सीपहरूको प्रयोगमा वृद्धि गर्न आवश्यक रहेको बताए ।
बैंकर्स संघ भन्छ – आत्तिनुपर्ने अवस्था होइन
यता नेपाल बैंकर्स संघले भने हाल बैंकिङ्ग क्षेत्र छाडेर पलायन नै हुनुपर्ने अवस्था नरहेको बताउँदै आएको छ । केही समयअघिको पत्रकार सम्मेलनमा संघका अध्यक्ष सन्तोष कोइरालाले अरु क्षेत्रका कर्मचारी भन्दा बैंकका कर्मचारी खुशी रहेको दावी गरेका थिए । ‘बैंक ट्रान्सपोरेन्ट क्षेत्र हो जसमा रोजगारी पाउनुभएका जतिपनि साथीहरु हुनुहुन्छ उहाँहरु अरु क्षेत्रको तुलनामा सुविधाको हिसाबले खुसी नै हुनुहुन्छ’ कोइरालाले भने ।
यस्तै, कुनै क्षेत्रमा कुनै कालखण्डमा कर्मचारी साथिहरु डराएका पनि हुन सक्ने भएपनि रोजगारीको हिसाबले क्षेत्र नै छाड्नुपर्ने अवस्था नआएको उनको भनाई छ । यता, बैंकर्स संघले नै गरेको ‘कर्मचारी सर्वेक्षण’ को नतिजाले भने कर्मचारीले बैंकिङ्ग क्षेत्रमा आफ्नो भविष्य नदेखेको स्पष्ट देखिन्छ । बैंकिङ्गमा आफ्नो करिअर नदेख्नेहरु करिब ९ प्रतिशतले बढेको पाइएको हो । संघको सर्वेक्षणले बैंकिङ्ग क्षेत्रमा करिअर वृद्धिको अवसर नदेख्ने कर्मचारीहरु २०२२ मा २२.९५ प्रतिशत रहेकोमा २०२४ मा बढेर ३१.७६ प्रतिशत पुगेको उल्लेख गरेको छ । त्यस्तै, बैंकिङ्गमा करिअर वृद्धिको अवसर देख्ने कर्मचारीको अनुपात २०२२ मा ७७.०५ प्रतिशत रहेकोमा २०२४ मा ६८.२४ प्रतिशतमा आइपुगेको छ ।
तनाव व्यवस्थापनमा बैंकहरुले लगानी गर्नुपर्ने
पूर्व गभर्नर चिरन्जीवी नेपाल बैंक तथा वित्तीय क्षेत्रमा काम गर्नेहरुलाई तनाव व्यवस्थापन ‘स्ट्रेस म्यानेजमेन्ट’ प्रशिक्षण दिनुपर्ने बताउँछन् । बैंकिङ्ग क्षेत्र अन्य क्षेत्रभन्दा निकै जटिल भएको भन्दै यो क्षेत्रमा कार्यरत कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण दिनुपर्ने उनको बुझाई छ । ‘बैंकहरुबाट कतिपयले ऋण लगेर नतिरेका हुन्छन् त्यसले बैंकर साथिहरुमा तनाव थपेको हुन्छ,’ उनले भने, ‘कर्मचारीको तनाव हुन्छ, यता बोर्डले दिने तनाव छुट्टै हुन्छ त्यसैले पनि बैंकरलाई तनाव व्यवस्थापनमा जोड दिनुपर्छ ।’
बैंक तथा वित्तीय संस्थामा काम गर्ने अथवा अन्य जुन क्षेत्रमा पनि काम गर्ने जो कोहीलाई बढी तनाव हुँदा उसले गर्ने काम खासै प्रभावकारी बन्दैन । त्यसैमा पनि बैंकिङ्ग क्षेत्रका कर्मचारीले तनावमा हुँदा आफ्नो कार्यसम्पादन राम्रोसँग सम्पादन गर्न सक्दैनन् जसको प्रभाव बैंकरलाई भन्दा पनि समग्र संस्थालाई पर्न जान्छ । बैंकरहरुको काम गर्ने क्षेत्र निकै दबाब र तनावपूर्ण हुने हुँदा पनि बैंकरहरूलाई तनाव व्यवस्थापन प्रशिक्षण आवश्यक पर्ने बुझाई छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) का अध्यक्ष एवम् नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल बैंकिङ्ग क्षेत्रमा कार्यरत कर्मचारीलाई तनाव व्यवस्थापनका प्रशिक्षण दिनुपर्ने बताउँछन् । उनकाअनुसार संस्थाले कर्मचारीको तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ । ‘बैंकरलाई तनाव व्यवस्थापनको तालिमहरु दिनु अति आवश्यक छ,’ उनी भन्छन्, ‘स्टाफका सुपरभाइजरले स्टाफको समस्या बुझ्नुपर्छ ।’
प्रतिक्रिया