अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य सुधारोन्मुख


काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ । शनिबार पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा हाइड्रोजन भरिएको बेलुन पड्कदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

उनीहरुको किर्तिपुरस्थित बर्न अस्पतालमा सघन उपचार भइरहेको छ । उपचारका क्रममा स्वास्थ्य स्थिती सुधारिँदै आएको र खतरामुक्त रहेको अस्पतालले जनाएको छ । यही गतिमा सुधार भएमा अप्रेसन गर्न नपर्ने अस्पतालले जनाएको छ ।

यस्तै, संक्रमनबाट जोगाउने लक्ष्यसहित अस्पताल प्रशासनले अर्थमन्त्रीको भेटघाट बन्द गरेको छ । भेट्नका लागि अस्पतालमा भिडभाड जम्मा भएपछि र बाहिरबाट जाँदा संक्रमणको जोखिम बढेपछि भेटघाट बन्द गरेको हो ।