काठमाडौं – पछिल्लो चरण सञ्चालनमा रहेको बैंक वित्तीय संस्थामाथि विभिन्न किसिमका प्रहार हुँदै आएको छ । ग्लोबल आईएमई बैंकविरुद्ध आवाज बाहिरिन थालेका छन् । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालको कम्पनी आईएमई ग्रुपले पाथीभरामा केबुलकार सञ्चालन गर्ने कार्य अघि बढाउँदा स्थानीय र आईएमई ग्रुपबीच विवाद भएको थियो । विवादकाबीच स्थानीयले ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरू बन्द गराउने भन्दै अभियान सुरु गरेका हुन् । उनीहरूले सामाजिक सञ्जालमा भिडियोहरू पोस्ट गरेसँगै बैंकिङ्ग नबुझेका तर, बैंकमा बचत गरेकाहरू त्रसित बन्न पुगेका छन् । याे विषयले ग्लोबल आईएमई बैंक मात्र नभई सिंगाे बैंकिङ्ग क्षेत्रमा नै एक किसिमको तनाव सिर्जना भएकाे छ ।
कुनै एक सञ्चालकको विषयलाई लिएर ग्लोबल आईएमई बैंकको अफवाह फैल्याउन नहुने नेपाल राष्ट्र बैंक कार्यकारी निर्देशक रामु पौडेल बताउँछन् । उनले बैंक तथा वित्तीय संस्थामा समस्या आउँदा नेपाल राष्ट्र बैंकले नै जानकारी गराउने भन्दै हल्लाका पछि नलाग्न अनुरोध समेत गरेका छन् । उनै पौडेलसँग बैंकिङ्ग समाचारका लागि रोजिना काप्रीले गरेको कुराकानीको सम्पादित अंश :
यतिबेला बैंक तथा वित्तीय संस्थाविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाउने काम भइरहेको छ । यो रोकिनुपर्नेमा तीव्र बन्दैछ । नेपाल राष्ट्र बैंक यी तमाम विषयमा कत्तिको जानकार छ ?
बैंक तथा वित्तीय संस्थाको काम कारबाही तथा बैंक वित्तीय संस्थाले सर्वसाधारणलाई दिने सेवाहरू निकै महत्त्वपूर्ण छ । आज बैंक तथा वित्तीय संस्थाहरू भएको कारणले नै सर्वसाधारणले बचत गर्न पाउनुभएको छ, कर्जा लिन पाउनुभएको छ, व्यापार व्यवसाय गर्न पाउनुभएको अवस्था छ जसले उहाँहरूको उन्नति प्रगति भएको छ । सर्वसाधारण जनताको पैसा बैंकमा छ । इन्भेष्टरहरुको पैसा बैंकमा निकै कम छ । त्यसकारण यो एउटा व्यवसाय हो । यो विजनेशमा भएका विभिन्न किसिमका क्रियाकलापहरूलाई जोडेर बैंकको सन्दर्भमा जुन किसिमको अनर्गल प्रचार प्रसारहरू अथवा जुन किसिमका अशोभनीय भनाइहरू आएका छन् ती कुराहरू स्वीकार योग्य छैनन् ।
त्यस्ता कुराहरूलाई नेपाल राष्ट्र बैंकले सूक्ष्म रूपले नियालिरहेको अवस्था छ । सर्वसाधारणलाई म यस्ता किसिमका अफवाहहरू, झुट कुराहरूको पछि नलाग्न पनि अनुरोध गर्छु । बैंकको अवस्था के छ भनेर नेपाल राष्ट्र बैंकले हेरेर बसिरहेको अवस्था छ । हरेक दिन, हरेक साता, हरेक महिना महिनामा हेरिरहेको अवस्था छ । आवश्यक परेको खण्डमा बैंकहरुमा नै गएर पनि निरीक्षण गरिरहेको छ । कुनै संस्थामा समस्या छ र त्यो के समस्या हो भन्ने अधिकार नेपाल राष्ट्र बैंकलाई मात्रै छ ।

त्यो भन्ने अधिकार अरूलाई छ जस्तो मलाई लाग्दैन । किनभने यसको नियमन, अनुगमन, सुपरिवेक्षण र समस्याग्रस्त देखिए पनि त्यो समस्याको समाधान गर्ने दायित्व ऐनले राष्ट्र बैंकलाई तोकेको छ । बचतकर्ताले आफ्नो निजी क्षेत्रको सुरक्षाको लागि बैंकमा राखेको पैसामा यस्ता हल्लाबाट मानिसलाई आतंकि तगर्ने काम हामी जो कोहीले गर्नुहुँदैन । जसले बैंकविरुद्ध यस्ता गतिविधि गरिरहनुभएको छ उहाँहरूले पनि बैंकिङ्ग सेवा लिइरहनु भएको छ । जसले आफैलाई पनि घाटा हुन्छ त्यसैले यस्ता गतिविधि नगर्न र बैंकहरुप्रति सकारात्मक भावना विकास गर्नका लागि म सर्वसाधारणलाई अनुरोध गर्दछु ।
केन्द्रीय बैंक नेपालमा सञ्चालित सबै बैंक तथा वित्तीय संस्थाको अभिभावको भूमिकामा छ । यही कारण राष्ट्र बैंकले अभिभावकको भूमिकामा रहेर यस खालका अफवाहविरुद्ध काम पनि गर्ने हो वा नियालेर मात्रै बस्दै छ, केही कदम चाल्दै छ ?
हाम्रो बजार खुल्ला बजार छ । विभिन्न सूचनाका आधारमा सूचना विश्लेषण गर्ने, सूचना पुष्टि गरेर समाचार सम्प्रेषण गर्ने गरेमा रेगुलेटरलाई, सुपरभाइजरलाई सुभार गर्न सहज हुन्छ । अर्को जुन पुष्टि भएको हुँदैन सत्य हुँदैनन् त्यस्ता कुरामा सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको पछाडि लाग्ने हो भने राष्ट्र बैंकको काम प्रत्यक दिन आउने यस्ता कुराको सन्दर्भमा विज्ञप्ति निकाल्ने, वार्तामा बोलाउने, छलफल गर्ने लगायतका काममा नै सीमित हुन्छ । त्यस कारण राष्ट्र बैंकले आवश्यकता पर्यो भने सरकारका कानून कार्यान्वयन गर्ने निकायहरू पनि छन् । ती निकायले पनि हेरिरहेको अवस्था छ । बैंक वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले नियमन गर्ने भए पनि यी संस्थाप्रतिको दायित्व सरकारसँग पनि छ । त्यसैले यस्ता संस्थालाई जोगाउने र गलत कार्य गरिरहेका छन् भने कारबाही गर्ने कार्य हामीले गर्नुपर्छ । तर जुन कुरा पुष्टि भएको छैन । त्यस्ता कुराको पछाडि हामी लाग्दैनौँ । कुनै बैंकको सन्दर्भमा केही भएको छ भने त्यसको सूचना राष्ट्र बैंकले दिन्छ । अन्य कुनै सूचनाको आधारमा कारोबार गर्न सशङ्कित हुनुपर्ने आवश्यकता छैन ।

यतिबेला किन बैंक तथा वित्तीय संस्थाविरुद्ध यो हदको आक्रमण भइरहेको छ ? के लाग्छ तपाईँलाई ?
हामीले यसको विषयमा अध्ययन अनुसन्धान त गरेका छैनौँ । यो विषयमा अध्ययन गर्न हामीले आवश्यक पनि ठानेका छैनौँ । यो क्रियाकलाप गैह्र कानूनी क्रियाकलाप हो ।
यस खालका अराजक गतिविधि गर्ने व्यक्तीहरुविरुद्ध कानूनी व्यवस्था के छ ? कारबाहीको प्रावधान कस्तो छ ?
नेपाल राष्ट्र बैैंकले विशेषगरी कानुनको कार्यान्वयन गर्नेभन्दा पनि बैंक तथा वित्तीय संस्थाको अनुगमन तथा निरीक्षण गर्ने हो । हामीले दिएका निर्देशन नमान्ने, कर्जाको दुरुपयोग गर्ने बैक तथा वित्तीय संस्थाहरूलाई मात्र हाम्रा नियम कानूनहरु आकर्षण हुन्छन् । विभिन्न माध्यमबाट गलत सूचनाहरू प्रवाह गर्ने सन्दर्भमा नेपाल सरकारका अन्य कानुनहरु छन् । ती कानुनहरु कार्यान्वयनका लागि नेपाल प्रहरी लगायतका निकायहरू छन् । यस्ता घटनाहरूमा ती निकायहरूले प्रत्यक्ष नियालिरहेका छन् ।
केन्द्रीय बैंकले नेपाल प्रहरी तथा राज्यका विभिन्न संयन्त्रसँग कस्ता खालका सहकार्य गर्न सक्छ ?
जुनसुकै घटनामाहरु पनि नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी लगायतका कानुनको कार्यान्वयन गर्ने निकायहरू समन्वयात्मक रूपमा अगाडि बढिरहेका छौँ । आवश्यक परेको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूलाई लिएर हुने यस्ता सूचना सम्प्रेषण गर्ने सन्दर्भमा पनि सम्बन्धित बैंक, सूचना प्रकाशन/प्रसारण गर्ने मिडिया लगायतसँग समन्वय गरेर यस्ता विषयमा थप कदम चाल्न केन्द्रीय बैंक तयार छ । राज्यको वित्तीय प्रणालीलाई स्वच्छ, सबल, सक्षम र विश्वासिलो बनाइराख्न केन्द्रीय बैंक सदैव तत्पर छ । यसमा कार्यान्वयन गर्ने अन्य निकायहरूको पनि महत्त्वपूर्ण दायित्व हुन्छ । यस्ता विषयमा नेपाल प्रहरी लगायतका सम्बन्धित निकायले प्रत्यक्ष रूपमा नियालिरहेका छन् । आवश्यक परेको खण्डमा कानुनी प्रक्रिया चाल्न तयार छन् ।

सुरुमा ऋण नतिर्ने अभियान छेडियो । त्यसपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि जाइलाग्ने अभियान छेडियो । यसले बैंकिङ्ग क्षेत्रमा समस्या पर्दैन ?
बैंकिङ्ग क्षेत्रमा फैलिएका हल्लालाई विश्वास गर्ने हो भने त्यही अफवाहको पछाडि लाग्नु पर्यो । जुन गलतलाई विश्वास गर्नु हो । कुनै पनि बैंकको सन्दर्भमा बैंकको अवस्था कस्तो छ ? बैंक सक्षम, असमक्ष ? बैंकका समग्र वित्तीय सूचक लगायतका पक्षमा हामीले मासिक रूपमा अनुगमन गरिरहेका छौँ । हामीले यस विषयमा प्रकाशन पनि गर्दै आएका छौँ । बैंक तथा वित्तीय संस्थाहरूले पनि हाम्रो निर्देशनअनुसार नियमित रूपमा वित्तीय सूचकहरू प्रकाशन गर्दै आइरहेका छन् । यी सबै पक्षहरूलाई नजरअन्दाज गरेर अफवाहको पछाडि लाग्नु उचित होइन ।
कमजोर नीतिगत व्यवस्था न्यूनीकरणका लागि कडा कानूनी व्यवस्था नहुँदा यो समस्या भएको हो ? कानून किन नबनेको होला ?
हामीले हामलाई दिएको क्षेत्र अधिकारभित्र रहेर काम मात्रै गर्ने हो । कानुन बनाउने, कस्ता किसिमका कानुन चाहिन्छ यस्ता किसिमका क्रियाकलापहरूको नियन्त्रण गर्न कस्ता किसिमका कानुन चाहिन्छ भन्ने विषयमा राज्यका निकायहरू संसद् लगायतका निकायहरूले नियाल्नुभएको होला ।
अन्त्यमा, नेपालका बैंक तथा वित्तीय संस्थामाथि अहिले जुन खालको आक्रमण भइरहेको छ, यसबारे केही भन्न चाहनुहुन्छ ?
केही व्यक्ति अथवा सञ्चार माध्यमको प्रयोग गरेर कुनै बैंकहरुको विषयमा यस्ता प्रचार –प्रसार गरिएको छ । जुन एकदमै गलत हुन । त्यस्ता गलत सूचना सम्प्रेषण गर्नेहरु विरुद्ध राज्यले उपयुक्त कदम चाल्नेछ । हामी त्यस्ता गलत प्रचार–प्रसार गर्नेहरूको पछाडि नलागौँ। विश्वस्त भएर कुनै पनि बैंकको सन्दर्भमा तपाईँ निक्षेप राख्नुहुन्छ, कर्जा लिनुहुन्छ, कुनै पनि कारोबार गर्नुहुन्छ भने नेपाल राष्ट्र बैंकले प्रकाशन गरेका, सम्बन्धित बैंकले प्रकाशन गरेका सूचकहरूलाई हेरेर विश्लेषण गरेर कारोबार गर्नुस् । यस्ता गलत प्रचार–प्रसारले कुनै असर गर्दैनन् । सबैलाई म यही अनुरोध गर्छु ।
प्रतिक्रिया