आफूभन्दा ठुला व्यक्तिको आज्ञा काट्न हुन्न भन्ने अनौपचारिक उखान चौतर्फी सुन्न पाइन्छ । यसको अर्थ आफूभन्दा ठुला मान्छेले भनेको विषयलाई नकार्न हुन्न भन्ने हो। तर, राष्ट्रिय वाणिज्य बैंकका डेपुटी कार्यकारी अधिकृत (डिईओ) पवन रेग्मीको जीवनमा यो सिद्धान्त लागू हुँदैन। परिस्थिति र आफ्नो इच्छालाई हेरेर आफूभन्दा ठुला व्यक्तिको कुरालाई पनि नकार्न सक्नुपर्छ भन्ने उदाहरण हुन् उनी ।
डाक्टर बनाउने बुबाको चाहना छाडेर बैंक प्रवेश गरेका रेग्मी बाल्यकालदेखि नै अरूभन्दा फरक गर्नुपर्छ भन्ने नीतिमा अडिग थिए । बुबाले भनेजस्तो डाक्टर नै बन्ने लक्ष्य नभए पनि उच्च शिक्षा विज्ञान विषयमा हासिल गरे । त्यसपछि यही विषयमा त्रिचन्द्र कलेजमा पढ्दै गर्दा स्वास्थ्यमा समस्या आएपछि पढाई छुट्दा आफू डाक्टर बन्नका लागि तयार नरहेको बुझे ।
यसपछि घरमा बुबालाई सम्झाउँदै विज्ञान विषय छाडेर व्यवस्थापनतर्फ मोडिए र शंकरदेव कलेजबाट बीबीएस गरे । निजामती कर्मचारीको छोराका रूपमा स्याङ्जामा जन्मिएका रेग्मी आफूलाई मध्यमवर्गीय परिवारको बताउँछन् । ‘हामी सानो हुँदा गाउँमा गाडी सुविधा थिएन । ग्रामीण परिवेश हुँदा घाँसपानी गर्ने, गोठालो जाने, खेतलासँगै आफू पनि काम गर्नुपर्थ्यो’ पवनले आफ्नो बाल्यकाल सम्झिँदै भने ।
दुई जना दिदी र एक जना दाइ भएकाले रेग्मी घरका कान्छो छोरा हुन् । शंकरदेव क्याम्पसमा एमबिएस पढ्दै गर्दा उनले निजामतीमा पनि प्रयास गरेका थिए । तर, त्यसमा उनी सफल हुन सकेनन् । उनले एमबिए गर्दै गर्दा राष्ट्रिय वाणिज्य बैंकको विज्ञापन देखेर र आवेदन दिएका थिए । पहिलो आवेदनमा नै नाम निस्किएपछि बैंकको जागिर सुरु गरे । बैंकको जागिर सुरु गरेसँगै अर्थतन्त्र पनि बुझ्नुपर्छ भन्ने लागेर अर्थशास्त्र पढ्न पाटन क्याम्पस छिरे र अर्थशास्त्रमा एमफिल पनि गरे ।
शिक्षक हुँदै बैंकर
पवनले केही समय शिक्षकको अनुभव पनि सँगालेका छन् । रेग्मीले निजामतीतर्फ ध्यान दिइरहेको समयमा केही साथीहरूले भने बैंकको जागिर सुरु गरिसकेका थिए । साथीहरूले सधैँ बैंकको सकारात्मक कुरा गर्दा उनले विकल्पका रूपमा बैंकर बन्ने सोचिसकेका थिए । उनलाई बैंकर बन्ने इच्छा जागेपछि नै बैंकको जागिरका लागि आवेदन दिएका हुन् । साथीहरू निजी बैंकहरुमा काम गर्न थालेका कारण बैंकमा जान खास धेरै सोच्नुपर्ने अवस्था त्यो समयमा नआएको बताउँछन् पवन ।
उनलाई अर्थतन्त्रमा रुची र सर्वसाधारणलाई सेवा गर्ने हिसाबका क्षेत्रमा काम गर्ने चाह भएका कारण नै बैंकिङ्ग क्षेत्रमा उनको आकर्षण बढेको हो । बैंकिङ्ग क्षेत्र प्रवेश गर्दा बैंकहरुको चुनौती भनेको ढड्डाबाट ‘कम्युटरराइजेसन’मा अगाडी बढिरहेको अवस्थामा माइग्रेसन गर्ने थियो । सो समयमा बैंकहरुमा डेमोक्रेटिभ सिस्टम लागू भएको अवस्थामा देशमा उदारीकरण सिस्टम लागू भएका थिए । साे समयमा सञ्चालनमा रहेका सरकारी बैंकहरु घाटामा गएको अवस्था थियो ।
सरकारी बैंकहरुको ‘ननपर्फमिङ एसेट’ (एनपीए) निकै बढी भएको अवस्था थियो भने बैंकहरुलाई नाफा कमाउनुपर्ने चुनौती थियो । उनले राष्ट्रिय वाणिज्य बैंकमा करिअर सुरु गर्दै गर्दा विश्व बैंकले एक कार्यक्रममअन्तर्गत सरकारी बैंक र राष्ट्र बैंकको (रि–स्ट्रक्चरिङ्ग) गर्दै थियो । त्यतिबेला नयाँ युवाहरूलाई कसरी आकर्षण गर्ने भन्ने चुनौती पनि राष्ट्रिय वाणिज्य बैंकलाई थियो ।
सरकारी बैंकरलाई बढुवा महत्त्वपूर्ण
राष्ट्रिय वाणिज्य बैंकमा ७ हजार ५ सय तलबबाट करिअर सुरु गरेका उनी ‘करिअर’को महत्त्वपूर्ण क्षणको रूपमा बढुवालाई सम्झन्छन् । सहायक प्रबन्धकबाट काम सुरु गरेका रेग्मी समयमा नै बढुवा हुनु आफ्नो लागि महत्त्वपूर्ण भएको बताउँछन् । ‘कर्मचारीका लागि सबैभन्दा खुसीको क्षण भनेको बढुवा नै हो,’ उनले भने, ‘पद प्रमोसन हुँदा, तलब बढ्दा र माथिल्लो पदका व्यक्तिबाट कामको सकारात्मक टिप्पणी हुनु ‘करिअर’को महत्त्वपूर्ण क्षण हो ।’
बैंकरमा इच्छाशक्ति चाहिन्छ, तालिम अनिवार्य
एक सफल र उत्कृष्ट बैंकर बन्न इच्छाशक्ति महत्त्वपूर्ण हुने बताउँछन् रेग्मी । इच्छाशक्तिसँगै कुनै पनि क्षेत्रमा काम गर्न ज्ञान आवश्यक पर्ने उनको बुझाई छ । विद्यालयमा सिकेका कुराहरूले केही ज्ञान मात्रै दिने भन्दै बैंकिङ्ग क्षेत्रका लागि प्राविधिक ज्ञान पनि राख्नुपर्ने हुँदा बैंकर्सलाई तालिम आवश्यक पर्ने बताउँदै उनी भन्छन्, ‘बैंकिङ्ग सिस्टम जान्नुपर्ने हुँदा सो सम्बन्धमा र बैंकिङ्ग क्षेत्रमा काम गर्दै गर्दा तनाव हुने हुँदा त्यसलाई कम गराउने किसिमको तालिम पनि आवश्यक पर्छ ।’
बैंकरले नेपाल राष्ट्र बैंकले जारी गरेको विभिन्न किसिमका निर्देशिकाहरू पनि जान्नुपर्ने उनको धारणा छ । पद माथि पुग्दै गर्दा सफ्ट किसिमको तालिमहरूको आवश्यकता पर्ने बताउँछन् पवन । बैंकको जागिर कठिन छ भन्नेहरूको भिडमा पवन भने बैंकको जागिर सहज हुने बताउँछन् । उनले नियम कानूनको पालना गरेर सही ढंगले काम गर्नेहरूलाई बैंकको जागिर सहज हुने बताए । ‘कानून नियम विपरीत गएर काम गर्नेहरूलाई बैंकको जागिर रिक्स हुन्छ’ उनी भन्छन् ।
‘जागिरे जीवनभन्दा व्यवसायी जीवन उत्कृष्ट’
पवन आफ्नो कामप्रति निकै सन्तुष्ट छन् । उनी बैंकर भएर बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेदेखि पछाडि फर्केर हेर्नुपर्ने समय नआएको बताउँछन्। ‘कामको हिसाबले म सन्तुष्ट छु’ उनी भन्छन्, ‘तर, कहिलेकाहीँ भने जागिरे जीवन भन्दापनि व्यक्ति क्रियटिभ हुनुपर्ने र आफ्नो व्यवसाय गरेको भए भन्ने चाहिँ लाग्छ ।’ बैंकिङ्ग क्षेत्रमा आउने नयाँ व्यक्तिहरूका लागि बैंकिङ्ग क्षेत्र निकै उपयुक्त क्षेत्र रहेको बताउँछन् उनी । राम्रो ‘कर्पोरेट कल्चर’ भएको क्षेत्र जसमा राष्ट्र बैंकको राम्रो नियमन रहेकाले काम गर्नका लागि उपयुक्त रहेको रेग्मीको भनाइ छ । ‘बैंकिङ्ग क्षेत्रमा इमानदारिताका साथ लाग्ने हो भने करिअर ग्रोथमा निकै सहज हुन्छ,’ उनले भने ।
पवनको नजरमा नेपालको बैंकिङ्ग क्षेत्र
पवनले हालको बैंकिङ्ग क्षेत्रलाई फरकरूपमा लिएका छन् । उनले सोचेभन्दा फरक तरिकारले बैंकिङ्ग क्षेत्र अघि बढेको बताए।उनले कोरोनाकाल यता व्यवसाय गर्ने आत्मविश्वास कम हुँदै जाँदा कर्जा प्रवाहमा समस्या सिर्जना भएको बताएका हुन् । ‘कर्जाको डिमान्ड नहुँदा केही समस्या आएको छ,’ उनले भने, ‘ब्याजदर घट्दा पनि कर्जा प्रवाह नबढ्नु नकारात्मक पक्ष हो ।’ ‘एनपिए लेभल’ पनि बढ्दै जाँदा ‘रिकभरि’मा समस्या सिर्जना आएको पनि बताएका हुन् ।
नयाँ बजार खोज्ने चुनौती बैंकमा रहेको उनी बताउँछन् । उनले विकसित देशको तुलनामा नभई नेपालजस्तै विकास उन्मुख देशको तुलनामा नेपालको बैंकिङ्ग क्षेत्र निकै राम्रो अवस्थामा रहेको बताएका हुन् । ‘ग्राहकहरुले बैंकलाई गरेको विश्वासले नै बैंकिङ्ग क्षेत्र निकै राम्रो अवस्था छ,’ उनले भने । ग्राहकहरु बैंकको सेवाप्रति भएको सतृष्टिले आफुलाई धेरै खुशी मिल्ने पवन बताउँछन् ।
याे पनि :
प्रतिक्रिया