बैंकबारे साना उद्यमी : ऋणको झन्झटिलो प्रक्रिया, सुटेड–बुटेडलाई मात्रै पत्याउने थलो

बैंकबारे साना उद्यमी : ऋणको झन्झटिलो प्रक्रिया, सुटेड–बुटेडलाई मात्रै पत्याउने थलो


काठमाडौं – बैंकहरु ‘ब्याकग्राउण्ड’ नभएका नवउद्यमीलाई कर्जा दिन हिचकिचाउने गरेको पाइन्छ । साना तथा नव उद्यमीलाई बैंक तथा वित्तीय संस्थाले सहजै कर्जा प्रदान नगर्ने गरेका हुन्। बैंक तथा वित्तीय संस्थाले उद्यमीहरूलाई ऋण नदिनका लागि विभिन्न बहानाबाजी गर्ने गरेको आरोप व्यवसायी लगाउँछन्।

साना तथा मझौला र नवप्रवेशी उद्यमीहरूको माथिल्लो तहको पहुँच नहुँदासम्म वाणिज्य बैंकहरुले सहजै ऋण नपत्याउने गरेको बताइन्छ । साना र मझौला व्यवसायको दिगोपनामा संका गरिन्छ। धेरै साना र मझौला व्यवसायहरूमध्येबाट छानिएर न्यून मात्रै ‘सस्टेन’ गर्छन् । यही कारण पनि बैंक तथा वित्तीय संस्था सहजरुपमा साना तथा मझौला व्यवसायीलाई ऋण पत्याउँदैनन्।

यसबाहेक साना व्यवसायीसँग धितोका रूपमा घरजग्गा समेत हुँदैन। नेपालमा ऋण प्रदान गर्नका लागि सबैभन्दा विश्वासिलो धितोकारुपमा जग्गालाई मात्रै लिइन्छ। सबै नवउद्यमीसँग पुर्ख्यौली जग्गा हुँदैन । यही कारण, पनि साना उद्यमीले बैंकबाट ऋण लिनका लागि झन्झटिलो प्रक्रियाको सामना गर्नुपर्ने हुन्छ ।

‘सुटेडबुटेडलाई मात्रै पत्याउँछन् बैंक’
बुलेट सर्भिस सेन्टरका सञ्चालक सञ्जय महापुरुष साना व्यवसायीलाई बैंकले ऋण नपत्याउने बताउँछन् । आफ्नै अनुभव साट्दै महापुरुष भन्छन्, ‘सुटबुट लगाएर सुर्केस् बोकेर बैंक गयो भने ऋण पत्याउँछन्।’ उनले सुरु–सुरुमा व्यवसाय सुरु गर्दा बैंकले ऋण नपत्याएको स्मरण गर्दै थपे, ‘सुरुवाती दिनमा व्यवसाय सुरु गर्दा बैंकमा ऋणका लागि पहल गर्दा विश्वास नगरेका हुन सक्छन्।’

‘केही नयाँ सुरु गर्न खोज्दा बैंकले युवाहरूलाई विश्वास गर्दैनन्,’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘यता व्यवसाय सञ्चालन गर्दा ऋण नदिने बैंकहरुले आम्दानी बढ्न थालेपछि भने ऋण दिनका लागि तयार देखिएको छ ।’ नेपालमा व्यवसायीहरूलाई सहायता एकदमै कम रहेको बताउँदै यहीकारण पुराना उद्यमीहरूलाई पनि गाह्रो भएको महापुरुष बताउँछन्।

‘बैंकको ब्याजले डुबाउँछ भन्ने सुनेर बैंकसम्म पुग्ने आट नै आएन’
देउमाडी माउन्टेल कटेजकी सञ्चालक प्रभा गौतम बैंक भन्ने बित्तिकै ऋण दिने ठाउँ हो भन्ने अनुभूति हुने बताउँछिन् । उनले बैंकको ब्याजदर बढी हुन्छ त्यसमा डुबिने बुझेर बैंकसम्म पुग्ने आट नै नआउने उनी बताउँछिन्। ‘पर्सनल्ली मैले हालसम्म बैंकसम्म पुगेको नै छैन’, उनी भन्छिन्, ‘हाम्रोमा एउटा कन्सेप्ट नै छ कि बैंकले ब्याजमा डुबाउँछ त्यसैले त्यहाँसम्म जाने आट नै आएको छैन ।’

तर, बैंकले साना व्यवसायलाई ऋण र क्रेडिट सुविधा उपलब्ध गराएर व्यवसायको सुरुवात र विस्तार गर्न मद्दत पुर्‍याउनुपर्ने हो । त्यस्तै बैंकले साना व्यवसायको लागि सस्तो र सुलभ ऋण प्रदान गर्नुपर्ने हुन्छ।

‘बैंकको सहयोग लिन खोज्दा झन्झट मात्रै पाए’
आमा छोरीको अचारकी सञ्चालक रूपा अर्याल बैंक वा सरकारी कार्यालयले नयाँ व्यवसायीलाई सहयोग गरेमा युवाहरू बिदेसिन नपर्ने बताउँछिन्। उनकाअनुसार बैंकबाट सहायता लिन खोज्दा पाइने झन्झट र अविश्वासले धेरै नै सताउँछ । उनले बैंकहरुले साना व्यवसायीहरूलाई सहयोग नगरेको बताइन्।

के भन्छन् बैंकर ?
यता बैंकरहरु भने साना व्यवसायीलाई पनि प्रमोट गर्ने किसिमले लगानीको दायरा फराकिलो बनाउँदै लगेको दाबी गर्छन्। बैंकरहरुले साना व्यवसायीलाई र ठुला व्यवसायीलाई गर्ने व्यवहार फरक नभएको पनि दाबी गर्दै आएका छन्।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलक राज पाण्डे बैंकले व्यवसायीलाई गर्ने विश्वासमा कुनै कमी नआएको र साना र ठुला व्यवसायीलाई गर्ने व्यवहार पनि उस्तै रहेको बताउँछन्। उनकाअनुसार बैंक र व्यवसायिबीच निकै राम्रो सम्बन्ध रहेको छ।