काठमाडौं – गैरआवसीय नेपाली व्यवसायी भवन भट्टको बीबी एयरवेज प्रालीले समयमा जहाज ल्याउन नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इजाजत पत्र निवकरण गरिदिएन । मन्त्रालयको निर्णयविरुद्ध भट्टको एयरलाइन्स कम्पनी सर्वोच्च अदालत पुगेको छ ।
बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले सुनुवाइ सकिसकेको छ । त्यसको आदेश केहीबेरमा आउनसक्ने बताइएको छ । अन्तर्राष्ट्रिय वायुसेवाको इजाजत पाएको बीबी एयरवेजको नविकरणको म्याद गत वर्ष १८ पुसमै गुज्रिएको थियो । इजाजतपत्र प्राप्त वायुसेवा सञ्चालकलाई नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालन प्रमाणपत्र (एओसी) दिई दुई वर्षभित्र सेवा सञ्चालन गर्नुपर्ने शर्त थियो ।
तर, प्राधिकरणले एओसी दिने सिलसिलामा पाँच वटा चरणमध्य चारवटा मात्रै चरण पुरा गरेकाले हालसम्म एओसी दिइसकेको छैन । प्राधिकरणले एओसी दिनका लागि कम्पनीको जहाज पर्खेर बसिरहेकाले एओसी दिएको छैन ।
बीबी एयरवेजले भुटानको ड्रक एयरलाइन्सको एउटा जहाज भाडामा ल्याउने गरी कम्पनीसँग सम्झौता गरिसकेको थियो । हाल बीबीले एउटा ल्याएर सेवा सञ्चालन गर्दै थप जहाज खोजी गर्ने तयारीमा थियो । बीबी एयरवेजलाई १९ फागुन ०८० मा जहाज ल्याउन नो अब्जेक्सन लेटर (एनओसी) दिएको पाएको थियो। यस अघि आफैंले जहाज खरिद नगरी भाडामा ल्याउँदा बीबी एयरवेज डुबेको थियो । बीबीले न्यूनतम तीनवटा जहाज राखेर उडान गर्ने गरी यस अघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एनओसी लिएको हो । प्राधिकरणले ३ वटा जहाज ल्याउनुपर्ने शर्त राखेर एनओसी दिएको दिएकोले यसले एयरवसको ए ३२०–२०० सिरिजका न्यरोबडी जहाज ल्याउन खोजिरहेको थियो ।
यस अघि सन् २०१२ मा कम्बोडियाको टोन्ले साप कम्पनीबाट लिज पर्चेचमा एउटा जहाज ल्याएर यो वायुसेवाले १२ वर्ष अगाडि नै काठमाडौंबाट मलेसिया उडान सुरु गरेको थियो । यो वायुसेवाले त्यतिबेला भाडामा ल्याएको जहाज भाडा तिर्न नसकेपछि फिर्ता गएको थियो । पछि थप ल्याउन नसक्दा र आफैंले किनेको जहाज नहुँदा अहिलेसम्म उडान गर्न सकेको छैन।
नयाँ जहाज ल्याएर बीबीले काठमाडौंबाट मेलेसिया, दोहा वा भारतमा पहिलो उडान गर्ने तयारीमा थियो । नयाँ जहाज ल्याउन धेरै नै महंगो पर्ने भएकोले पनि बीबीले अहिले पनि भाडाकै जहाजमा जोड गरेको हो । बीबीले मलेसियाको क्वालालम्पुर, कतारको दोहा र भारतको नयाँ दिल्लीमा पहिलो चरणमा र त्यसपछि सिंगापुर, हङकङ, थाइल्याण्ड र जापानको लागि पनि अनुमति पाएकोले ती मुलुकमा पनि दोस्रो चरणमा जाने गरी जहाल ल्याउन लागिएको पनि जानकारी दिएको छ ।



About Us
प्रतिक्रिया