नेपालमा डिजिटल साक्षरता प्रवर्द्धनका चुनौती र समाधान

नेपालमा डिजिटल साक्षरता प्रवर्द्धनका चुनौती र समाधान

जीवन प्रसाद अवस्थी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साक्षरतालाई बुझ्दा मानिसले पढ्न, लेख्न, र बुझ्न सक्ने आधारभूत कार्य अर्थात् विभिन्न जानकारी प्राप्त गर्न, आफ्ना विचारहरू प्रभावकारीरुपमा व्यक्त गर्न र सामाजिक जीवनमा सक्रियरुपमा सहभागी हुनसक्ने क्षमतालाई बुझाउँछ । साक्षरतासँगै परिवर्तित वातावरण प्रतिस्पर्धी अवस्था प्रविधिको परिवर्तनसँगै थप विभिन्न प्रविधिहरूको प्रयोग गरी सूचना आदानप्रदान गर्न सक्ने सही गलत छुट्याउन सक्ने शिक्षाको विकासलाई डिजिटल साक्षरताकोरुपमा लिन सकिन्छ । डिजिटल साक्षरता भनेको डिजिटल उपकरण, इन्टरनेट र प्रविधिको सुरक्षित, प्रभावकारी र जिम्मेवाररुपमा प्रयोग गर्न सक्ने आवश्यक ज्ञान, सिप, क्षमताको विकास हुनु हो ।

आजको युगलाई डिजिटल युग भनिन्छ, जहाँ प्राय हरेक दिन केही न केही कार्य डिजिटल र प्रविधिबाट हुने गर्छन् । डिजिटल प्रयोगले हाम्रो जीवनको हरेक पक्षलाई बदल्दै गएको छ । उदाहरणका लागि बैंकिङ्ग कारोबार गर्न विभिन्न जनचेतनामूलक सञ्चार तथा सूचनाहरू थाहा पाउन अध्ययन तथा शिक्षामा आधुनिकता र विकास गर्न व्यापार व्यवसायमा वृद्धि गर्न लगायत अन्य स्वास्थ्य तथा मनोरञ्जनात्मक कार्यको लागि डिजिटल शिक्षा अनिवार्य भइसकेको छ । यस आलेखमा डिजिटल साक्षरताको आवश्यकता, नेपालमा डिजिटल साक्षरताको अवस्था, डिजिटल साक्षरता प्रवर्धनका चुनौती, प्रवर्द्धनका उपाय अर्थात् डिजिटल साक्षरता प्रवर्द्धन कसरी गर्न सकिन्छ भन्ने बारेमा चर्चा गरिएको छ ।

डिजिटल साक्षरताको आवश्यकता तथा महत्त्व

आजको बढ्दो डिजिटल युगमा जीवनका हरेक दैनिक क्रियाकलापमा डिजिटल उपकरणको प्रयोग अनिवार्य बनिसकेको छ । प्रत्यक्ष अप्रत्यक्षरुपमा प्रभाव पार्ने डिजिटल साक्षरताको महत्वलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ । शैक्षिक क्षेत्रमा हेर्दा विश्वव्यापीरुपमा ज्ञान तथा आवश्यक स्रोत सङ्कलन गर्न, प्रविधिको प्रयोग गर्न, अनलाइन माध्यमबाट उच्च शिक्षा तालिम तथा आवश्यक कोर्स पूरा गर्न, शैक्षिक क्षेत्रमा डिजिटल साक्षरता ज्ञानको स्रोतलाई मात्र नभएर विद्यार्थीको ज्ञानको दायरा वृद्धिसँगै शिक्षाको गुणस्तरमा पनि सुधार ल्याएको पाइन्छ ।

उदाहरणका लागि दुर्गम क्षेत्रमा अनलाइन माध्यमबाट विभिन्न आयोगको तयारी लगायत भाषागत कक्षाहरूको सञ्चालनको सहजीकरणमा सहयोग गरेको पाइन्छ । आर्थिक क्षेत्रको आधारमा हेर्दा आर्थिक क्षेत्रको विकास र आर्थिक वृद्धि बढाउनुमा डिजिटल साक्षरता महत्वपूर्ण कडीकोरुपमा साबित हुँदै आएको पाइन्छ । डिजिटल बैंकिङ ई–कमर्स अनलाइन व्यवसायको कारणले आर्थिक गतिविधिहरूलाई पारदर्शी, मितव्ययी तथा प्रभावकारी बनाएको छ । डिजिटल साक्षरताको वृद्धि कारण बढ्दै गएको भ्रष्टाचार, कालो धन, अनियमिततालाई रोक्न सहयोग गरेको पाइन्छ ।

स्वास्थ्य क्षेत्रमा पनि डिजिटल साक्षरताले महत्त्वपूर्ण भूमिका छ । इलेकट्रोनिक हेल्थ रेकर्डहरू, टेलिमेडिसिन, स्वास्थ्य वेब पोर्टलहरू, विभिन्न प्लेटफर्म एप्लिकेशनमार्फत अनलाइन स्वास्थ्य परामर्श सेवाहरूले स्वास्थ्य सेवाको पहुँचमा विस्तार गर्दै आएको पाइन्छ । सामाजिक क्षेत्रमा डिजिटल साक्षरताको विकासले समाजमा जनचेतना फैलाउने जागरूक गराउने आपसी सम्बन्ध निर्माण गर्ने ग्रामीण नागरिक सशक्तीकरणमा सहयोग पुर्‍याएको छ । यसका साथै सोसल मिडिया, अनलाइन प्लेटफर्मको कारण लुकेर रहेको कला, कौशलता, प्रतिभालाई प्रस्फुटन गर्न सहयोग गर्छ ।

साइबर सुरक्षाजस्ता चुनौतीहरूको सामना गर्न, अनलाइन ठगी, ह्याकिङ, साइबर अपराधबाट जोगिनको लागि डिजिटल साक्षरतालाई महत्त्वपूर्णरूपमा लिन सकिन्छ । यसका साथै डाटा र गोपनियताको सुरक्षा लगायत समग्र राष्ट्रिय सुरक्षालाई बलियो बनाउँछ । यसैगरी, पर्यावरणीय क्षेत्रमा हेर्दा पर्यावरणीय संरक्षणका लागि डिजिटल साक्षरताको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ । प्रविधिको प्रयोगले खपत कम गर्न, स्मार्ट कृषि निर्माण गर्न, ऊर्जाको सदुपयोग र प्राकृतिक वातावरण मैत्री परियोजनाहरूको प्रवर्द्धन गर्न, दिगोपना र हरित विकासको अवधारणामा प्रोत्साहन गर्न विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गर्न डिजिटल साक्षरताको आवश्यकता देखिन्छ ।

नेपालमा डिजिटल साक्षरताको अवस्था

नेपालमा डिजिटल साक्षरताको अवस्था अन्य विकासशील देशहरूसँग तुलना गर्दा न्यूनस्तरको रहेको पाइएता पनि गत सालको तथ्याङ्कलाई हेर्दा यो साल वृद्धि भएको पाइन्छ। विभिन्न शोधकर्ता, डाटा रिपोर्ट, तथा नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको (mid- december -२०२३) रिपोर्ट अनुसार सामान्य साक्षरता दर ७६.३५ प्रतिशत, वित्तीय साक्षरता करिब ५७.९५ प्रतिशत त्यसैगरी डिजिटल साक्षरता करिब ३१५को हाराहारीमा रहेको पाइन्छ। विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीपछि डिजिटल प्रोडक्टको प्रयोगकर्ता को सङ्ख्या वृद्धि भएको पाइन्छ,भने गत वर्षको तुलनामा विभिन्न वित्तीय प्रडक्टहरूमध्ये मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, प्रयोग गर्ने वृद्धिदर क्रमशः १४.४५ प्रतिशत र ३४.३५ प्रतिशत रहेको छ। यसैगरी इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या १५.४० प्रतिशत मिलियनको हाराहारी पुगेको छ। विभिन्न सोसल मिडियामध्ये बढी प्रयोग हुने फेसबुक प्रयोगकर्ता को सङ्ख्या १३.५० प्रतिशत मिलियन रहेको र एक वर्षको अवधिमा करिब १४५ प्रतिशतले फेसबुक प्रयोगकर्ता वृद्धि हुने गरेको पाइन्छ।

डिजिटल साक्षरताको प्रवर्द्धन तथा विकास गर्नको लागि डिजिटल नेपाल फ्रेम वर्क २०१९ लागू गरी शिक्षा स्वास्थ्य कृषि लगायत प्राथमिक क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिई समग्र राष्ट्रिय उद्देश्यमा तीव्रता दिने लक्ष्य राखेको छ। यसैगरी आइसिटीको प्रयोग बढाउन विद्यालय, कलेज स्तरमा आइसिटी कोर्सको व्यवस्था गरेको छ। १६ औँ योजनाले अघि सारेको सूचना प्रविधियुक्त राष्ट्र निर्माण गर्ने सोच अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्य योजना बनाइ सो अनुसार कार्यान्वयन गर्दै आएको पाइन्छ। त्यसैगरी नेपाल सरकारले आव २०८१/ ८२ को नीति तथा कार्यक्रम बजेट वक्तव्यमा आगामी दशकलाई सूचना प्रविधिको दशकको रूपमा अघि बढाउने लक्ष्य राखेको छ ।

डिजिटल साक्षरता प्रवर्धनका चुनौती र समाधान 

नेपालमा डिजिटल साक्षरता प्रवर्द्धन गर्न थुप्रै चुनौती रहेका छन्। जसमध्ये प्रमुख चुनौतीहरू प्रविधि पहुँचमा वृद्धि गर्न ,साक्षरता न्यून हुनु, पूर्वाधार अभावको कारण ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच पुर्‍याउन ,नेपाली र अङ्ग्रेजीमा मात्रै डिजिटल सामग्री उपलब्ध हुने भएकाले भाषागत समस्या हटाउन  ,आर्थिक स्थिति कमजोर भएकाहरूले डिजिटल उपकरण तथा इन्टरनेट सहजै खरिद गर्न , कानुनी तथा नीतिगत कमजोरीका कारण साइबर अपराध ,सुरक्षाको कमी ,चोरी डकैती, लगायत गोपनीयता कायम गर्न , यसका अतिरिक्त डिजिटल साक्षरता प्रवर्द्धन गर्नका लागि आवश्यक समसामयिक नीतिको अभाव हुनु, अर्थात् परिमार्जन नहुनु, लगायत थुप्रै नीतिगत, संरचनागत, कार्यगत चुनौती रहेका छन्। यस्ता चुनौतीहरूलाई समाधान गर्नुपर्ने देखिन्छ जसका लागि सरकारले रणनीतिक योजना बनाई समाधान गर्नको लागि अल्पकालीन , दीर्घकालीन र समावेशी योजना बनाउनुपर्दछ।

नेपालमा डिजिटल साक्षरताको प्रवर्द्धनका लागि सरकारले रणनीतिक योजना अल्पकालीन दीर्घकालीन पक्षमा केन्द्रित हुनुपर्ने देखिन्छ। अल्पकालीन रूपमा सुधार तथा योजना निर्माण गर्दा ग्रामीण र दुर्गम क्षेत्रहरूमा इन्टरनेट सेवा पुर्‍याउन सरकारले ठुला परियोजनाहरूको निर्माणसँगै मोबाइल र कम्प्युटर जस्ता डिजिटल उपकरणहरूमा सहुलियत दरमा पहुँचको व्यवस्था गर्नु आवश्यक देखिन्छ। डिजिटल साक्षरता बढाउनको लागि सबै संघसंस्थासँग हातेमालो गरी विद्यालय, कलेज, ग्रामीण समुदायमा इन्टरनेटको सही प्रयोग इमेल र सामाजिक सञ्जालको सुरक्षित  प्रयोग र महत्त्वको बारेमा तालिम दिनुपर्दछ। सरकारले प्रवाह गर्ने सार्वजनिक सेवा लगायत अन्य सेवाहरू सहजै रूपमा डिजिटल माध्यमबाट प्राप्त गर्न सकिने प्रणालीको विकास गर्नुपर्दछ।

दीर्घकालीन रूपमा डिजिटल प्रवर्द्धनका लागि विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा डिजिटल साक्षरता सम्बन्धी विषयहरू अनिवार्य रूपमा समावेश गर्नुपर्ने देखिन्छ। रोजगारी सम्भावना बढाउन विशेष गरी विदेशी रहेका युवा तथा युवा पुस्ताको लागि रोजगारीमूलक डिजिटल तालिम तथा सिप सिकाई समग्र देशको आर्थिक विकासमा टेवा पुर्‍याउन रणनीतिक योजना निर्माण गर्नुपर्दछ। यसका साथै डिजिटल साक्षरता सम्बन्धी डिजिटल नेपाल फ्रेम वर्क २०१९, आइसिटी प्रोग्राम लगायत अन्य योजना र कार्यक्रमहरूको नियमित  मूल्याङ्कन र कार्यान्वयनमा जोड दिनुपर्दछ। यसबाट योजना र कार्यान्वयनमा आएका कमजोरीहरूलाई सुधार गर्न मद्दत पुर्‍याउँदछ ।

निष्कर्ष

डिजिटल साक्षरता कुनै पनि देशको सर्वाङ्गीण विकासको लागि अति आवश्यक आधार तथा अपरिहार्य  पक्ष हो। यसको महत्त्व शिक्षाको एक नयाँ आयामको रूपमा मात्र सीमित नरहेर समग्र  आर्थिक ,सामाजिक,सांस्कृतिक लगायत अन्य  प्राकृतिक क्षेत्रको  विकासको आधारशिला पनि हो। नेपालको सन्दर्भमा डिजिटल प्रविधिबाट आइरहने चुनौतीलाई अवसरमा बदल्न ,समस्या सम्बोधन गर्न, समग्र क्षेत्रमा डिजिटल साक्षरता प्रवर्धन गर्न प्रभावकारी नीति रणनीति र कार्यान्वयन योग्य कार्य योजना तयार पारी लागू गर्नु आवश्यक  देखिन्छ। सरकारी, गैरसरकारी, निजी क्षेत्र लगायत समग्र सरोकारवालाहरूले स्थानीय तहदेखि केन्द्रीय तहसम्म,ग्रामीण तहदेखि सहरसम्म, बच्चादेखि वृद्धसम्म, डिजिटल प्रवर्धनको लागि विशेष पहल र जनचेतना कार्यक्रमहरूको आयोजना गर्नुपर्ने देखिन्छ। जसबाट प्रत्येक नागरिकले नयाँ युगको अवसरहरूलाई उपयोग गरी समग्र देशको डिजिटल विकास र प्रवर्द्धनमा सहयोग पुर्‍याउँदछन्।