‘लगानीकर्ता बजारकाे चालअनुसार चल्नुपर्छ’

‘लगानीकर्ता बजारकाे चालअनुसार चल्नुपर्छ’

अनुभवी लगानीकर्ताले नयाँलाई ‘फिसिङ’ गरेका हुन् ?


नयाँ सरकार गठन भएसँगै निरन्तर बढेर शेयर बजार परिसूचक ३ हजार अंकसम्म पुग्यो । तर, यतिबेला परिसूचक निरन्तर घटेर २५ सय अंकतर्फ आउन जोड गरिरहेको छ । शेयर बजारलाई चाहिने सबैजसो सूचक सकरात्मक छन् । ब्याजदर घटेको घट्यै छ भने लगानीयोग्य रकमत पर्याप्त छ । शेयर बजारमैत्री र लगानीकर्ताले चाहेअनुरुपको सरकार छ । तरपनि बजारले निरन्तर ओरालो गति समातेको छ । सबैजसो सूचक सकरात्मक हुँदा पनि बजारले लिएको ओरालो गतिका विषयमा शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलसँग बैंकिङ्ग समाचारले गरेको कुराकानीको संपादित अंशः–

२ हजार अंकको बिन्दुमा रहेको शेयर बजार ३ हजार अंकमा पुग्यो । र, यतिबेला ‘बिग करेक्सन’ भइसक्यो । अबचाँही यसलाई कसरी बुझ्दा हुन्छ ? ‘डाउन ट्रेण्ड’ सुरु भइसकेको हो ?

घटबढ हुनु शेयर बजारको नियमित प्रक्रिया हो । अहिले लगानीकर्ताले बजारबाट नाफा कमाउँदा आएको सामान्य गिरावट मात्रै हो । यतिबेला अर्थतन्त्र नकरात्मक प्रभाव परेर वा कुनै ठूला घटना भएर परिसूचक घटेको होइन । निरन्तर बढेको बजारमा लगानीकर्ताले नाफा सुनिश्चित गर्दा घटेको मात्रै हो । फेरी बजार घट्दै गर्दा बजारमा विभिन्न खालका हल्ला समेत आउने गर्छ । जुन हल्ला उच्च बिन्दुमा बेचेर बसेका लगानीकर्ताले फैलाउने गर्छन् । तर, जुन बिन्दुसम्ममा ‘करेक्सन’ हुनुपर्ने हो, त्योभन्दा बढी भएको छ ।

बजारको अहिलेको करेक्सन’ सकिएको हो वा अझै घट्न सक्छ ? तपाईँलाई के लाग्छ ?

बजारको करेक्सन सकिएको जस्तो देखिन्छ । लगानीकर्तामा सकरात्मक मनोबल आउन सुरु भएको जस्तो देखिन्छ । कारोबार रकम ६ अर्ब रुपैयाँ हाराहारीमा आइसकेको थियो । जुन फेरी उकालो लागेको छ । यसले बजार फेरी बढ्न सुरु गर्नुपर्ने हो भन्ने लाग्छ ।

अन्तर्राष्ट्रिय बजारमा बजार २० प्रतिशत घटबढ गरेपछि ‘डाउन ट्रेण्ड’ वा ‘अप ट्रेण्ड’ सुरु भएको बुझिन्छ । अहिले ठूलाे अंकले बजार घटिसक्यो । यसलाई कसरी बुझ्ने ?

तपाईँले २ हजार अंकदेखिको तथ्यांक केलाउँदा १३ प्रतिशत देखियो । १८ सयको बिन्दुलाई नै आधार मान्दा बजार ४० प्रतिशतसम्म घटेको छ । १८ सयको बिन्दुबाट ‘साइडवे’ चल्दै २ हजार २२ सय अंकमा पुगेको थियो । १८ सय अंकको बिन्दुलाई आधार मान्दा बजारमा १ हजार अंकभन्दा बढीको वृद्धि आएको छ । सोअनुसार बजारमा ठूलो गिरावट आइसकेको छ । त्यसैले अब बजार बढ्न सक्ने सम्भावना छ ।

तर, तपाईँले भनेजस्तो अन्तर्राष्ट्रिय बजारको गति नेपालमा लागू भएको पाइँदैन । किनकी, बजार बढ्न थालेपछि नेपालका सांसदहरुले पनि यसबारे नकरात्मक टिप्पणी गर्न थाल्छन् । यसबाहेक नियामक निकायले पनि कतिपय अवस्थामा नकरात्मक भूमिका खेल्ने गर्छन् । बजार बढ्दा अंकुश लगाउने योजना झल्किन्छ । बजारलाई प्रभावित बनाउने गरी सांसदले बोल्न पाइँदैन ।

तपाईँले भनेकै विषयलाई आधार मान्दा १८ सयको बिन्दुबाट ३ हजारसम्म पुग्दा नयाँ लगानीकर्ता बजार प्रवेश गरे । र, यतिबेला निरन्तर घट्दोक्रममा बजार छ । यसबाट उनीहरुलाई ‘प्यानिक सेल’ भोग्नु परेन ?

नवप्रवेशी लगानीकर्ताले यसक्रममा ‘प्यानिक सेल’ भोग्न पर्यो । किनकी, आफ्नो क्यास बिना लगानी गरेका लगानीकर्ताले ब्रोकरको उधारो तिर्न पनि ‘प्यानिक सेल’ गर्नुपर्यो । ब्रोकरले ४/५ दिन उधारो कारोबार थामेपनि सँधै थाम्न सक्दैनन् । यतिबेला बजार निरन्तर १७/१८ औं कारोबार दिन घटिसकेको छ ।

यसअनुसार त धेरै वर्षको अनुभव भएका लगानीकर्ता, जोसँग ठूलो रकम छ । उनीहरुले नवप्रवेशी लगानीकर्तालाई ‘फिसिङ’ गरे हैन त ?

शेयर बजारमा ‘फिसिङ’, ‘इन्साइडर’ र ‘कर्नरिङ’ लगायतका विषय उठ्छन् । तर लगानीकर्ताले बजारमा प्रवेश गर्दैगर्दा यसबारे सामान्य ज्ञान बटुल्नुपर्छ । बजारमा लगानी गर्दाको जोखिम, प्रतिफल, घाटाको सम्भावित लेखाजोखा र नाफाको हिसाबकिताब राख्नुपर्छ । सुरुमा प्रवेश गर्दा सबैसँग ज्ञान हुँदैन । तर सामान्य ज्ञान त लिनै पर्छ । ‘फन्डामेन्टल’ ज्ञानका साथै बजारको ‘सेन्टिमेन्ट’ र कम्पनीको स्थितीका विषयमा नियाल्नुपर्छ ।

फस्ने लक्ष्यसहित कोही पनि कारोबार गर्न आउँदैनन् । तर, फस्नेहरु पनि छन् । यहीकारण बजार सम्भावनाको क्षेत्र भएपनि आफ्नो हिसाबकिताब राख्न सक्नेगरी होसियारी पूर्वक लगानी गर्नुपर्छ । बजार घट्दा गरेको लगानी थाम्न सक्ने गरी लगानी गर्नुपर्छ । यसको विकल्प छैन ।

डिम्याट खाताको संख्या ६५ लाख हाराहारी पुगिसक्यो । मेरोशेयरमा ५४ लाख पुगिसके । सक्रियरुपमा टीएमस चलाउने २३ लाख हाराहारी पुगेका छन् । उनीहरुलाई लगानीको ‘टिप्स’कस्ता हुन सक्छन् ?

नयाँ लगानीकर्ता साथिहरुले शेयरमा लगानीका लागि छुट्याउनु भएको रकमलाई तीन भागमा विभाजन गर्नुपर्छ । किनकी, बजारको घट्बढ्को निश्चितता हुँदैन । सोहीकारण कसैले १ लाख छुट्याउनु भएको छ भने सबै रकम लगानी नगर्दा ठिक हुन्छ । सुरुमा ५० प्रतिशत लगानी गरेपछि परिसूचक बढे नाफा भइहाल्छ । अन्यथा घट्दा थप २५–२५ प्रतिशत गरी दुई पटक लगानी थप्न सक्ने गरी व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्छ । यस्तै सुरुमा ऋण लिएर लगानी गर्दा बजार घट्यो भने धान्न सक्नेगरी लिनुपर्छ ।

‘बुल’ सुरु भएसँगै बजारमा बजार कहिल्यै नघट्ने हल्ला गरिन्छ । सामाजिक सञ्जालभरी ६ हजार बिन्दुमा पुग्छ लगायतका स्ट्याट्स देखिन्छन् । यस्ता व्यक्ती कता छन् अहिले ?

यस्ता व्यक्तीलाई पहिचान गर्नुपर्छ । उनीहरुले बजारलाई कसरी प्रभावित बनाउँछन् र नयाँ लगानीकर्तालाई कसरी दिग्भ्रमित पार्छन् भन्ने बुझ्नपर्छ । लगानीकर्ताहरु बजारको चालअनुसार चल्नुपर्छ । किनकी, आफूअनुकुल बजार चलाउनै सकिँदैन । सोहीकारण बजारमा चल्ने हल्लालाई ध्यानमा राखेर आफूअनुकुल निर्णय लिनुपर्छ । बढ्दो बजारमा कुनै कम्पनीको शेयर मूल्यको लक्ष्य तय गरिन्छ । तर, सोअनुसार हुँदैन । सोहीकारण डुब्ने जोखिम बढी हुन्छ । यहीकारण नेपाल धितोपत्र बोर्डको सूचना, नेपाल स्टक एक्सचेन्जको र अर्थ मन्त्रालय तथा राष्ट्र बैंकको सूचनालाई आधार बनाउनुपर्छ ।

परिसूचक कुन बिन्दुसम्म पुग्छ भन्नेहरूको जस्तै कारोबार रकम ५० अर्ब रुपैयाँसम्म पुग्छ भन्नेको छुट्टै जमात थियो । योअनुसार भएको छैन । परिसूचकसँगै कारोबार रकम पनि घट्न थालेको छ । यसले के दिशानिर्देश गर्छ ?

बजार बढ्दो क्रममा नै छ । घटबढ हुनु बजारको सुन्दरता नै हो । मेरो विचारमा बजारले यसअघिको अलटाइम हाई काट्छ नै । कारोबार रकम घट्नु र बजार घट्नु जायज जस्तो देखिँदैन । बजारमा सेल प्रेसर घटेपछि कारोबार रकम घट्नु स्वाभाविक हो । बजार बढ्दाको र घट्दाको अवस्थामा लगानीकर्ताको मनोबल एउटै हुँदैन । परिसूचक बढ्दै गएपछि कारोबार रकम ३० अर्बभन्दा माथि हुन्छ नै ।

शेयर लगानीकर्ताहरूले चाहेअनुरुपको सरकार छ । प्रधानमन्त्री र अर्थमन्त्रीले बजार बढ्नपर्छ भनेकै छन् । तर, बजार किन बढ्न सकिरहेको छैन ?

यतिबेला प्रधानमन्त्री र अर्थमन्त्री शेयर बजारमैत्री छन् । उहाँहरुले निरन्तर शेयर बजारका लागि काम गर्ने बताउँदै आउनु भएको छ । प्रधानमन्त्रीले सांसदमा पनि शेयर बजारबारे बोल्नु भएको थियो भने अर्थमन्त्रीले पद बहालीको पहिलो दिन नै शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा विकास गर्ने बताउनु भएको थियो । विगतमा शेयर बजारलाई खुम्च्याउन मुख्य भूमिका खेले पनि गभर्नर पनि यतिबेला सकारात्मक हुनुहुन्छ । समग्रमा भन्नुपर्दा सरकार पनि बजारमैत्री छ । यही कारण घट्नुपर्ने कारण नै देखिँदैन ।