मधेश प्रदेशः धेरै विद्युत् चुहावट मौलापुर, कम सिमरा


वीरगञ्ज – मधेश प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको छ। नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष ०८०/८१ मा मधेश प्रदेशमा सबैभन्दा धेरै विद्युत् चुहावट हुनेमा मौलापुर वितरण केन्द्र रहेको छ। सो केन्द्रबाट ४३.४० प्रतिशतले विद्युत् चुहावट भएको देखिन्छ ।

प्राधिकरण प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुरका अनुसार मधेशका अधिकांश वितरण केन्द्रबाट विद्युत् चुहावट उच्च हुने गरेको छ। ‘मधेशका गाउँ–गाउँमा विद्युत् चोरी धेरै भएकाले पनि चुहावटको मात्रा पनि धेरै देखिएको हो,’ उनले भने, ‘मधेश प्रदेशका २३ वितरण केन्द्रमध्ये सबैभन्दा धेरै चुहावट मौलापुरमा देखिएको छ ।’

उनले भने, ‘यहाँ विशेष गरेर हुकिङ गरेर, मिटरबाट पनि विद्युत् चोरी गर्ने प्रवृत्ति देखिँदै आइरहेको छ। हामीले विद्युत् चोरी गर्नेलाई पक्राउ गरेर आवश्यक जरिवाना गर्दै पनि आइरहेका छौँ ।’

मधेश प्रदेशको दोस्रो धेरै विद्युत् चुहावट हुने वितरण केन्द्रमा पर्छ( बाराको सिम्रौनगढ वितरण केन्द्र। सो केन्द्रमा पनि ४३।२३ प्रतिशत विद्युत् चुहावट भएको छ। यस्तै, तेस्रो धेरै विद्युत् चुहावट हुने वितरण केन्द्रमा मलंगवा वितरण केन्द्र दर्ज भएको छ। सो केन्द्रबाट पनि गत आवभरिमा ४२.९१ प्रतिशतले विद्युत् चुहावट भएको छ।

प्रदेशमा सबैभन्दा कम विद्युत् चुहावट हुने वितरण केन्द्रमा सिमरा वितरण केन्द्र रहेको छ। सो केन्द्रबाट विद्युत् चुहावट १।४० प्रतिशत मात्र रहेको छ। दोस्रो सबैभन्दा कम चुहावट हुने वितरण केन्द्रमा मिर्चैया वितरण केन्द्र रहेको छ। सो केन्द्रको विद्युत् चुहावट ३।०१ प्रतिशत छ। त्यस्तै, तेस्रो कम विद्युत् चुहावट हुने वितरण केन्द्रमा वीरगन्ज वितरण केन्द्र पर्छ । सो केन्द्रको चुहावटको हिस्सा ५।८८ प्रतिशत छ।

मधेश प्रदेश प्रादेशिक कार्यालय प्रमुख ठाकुरका अनुसार गत आवमा प्रदेशमा विद्युत् चुहावटमा संलग्न रहेको भन्दै सात हजार ९७ जनालाई कारबाही गरिएको थियो। प्राधिकरणले गत आवमा विद्युत् चुहावटमा संलग्न रहेको भन्दै दुई हजार ६५६ जनालाई पक्राउ गरेर आवश्यक कारबाही गरेको थियो। त्यस्तै, गत आवमा नै विद्युत् चुहावटमा संलग्न रहेकाबाट ६ करोड २० लाख तीन हजार ९५८ रुपैयाँ रकम जरिवाना संकलन गरेको थियो।