‘बीमाले आफ्नो र परिवारको सुरक्षा गर्छ, यसैले महत्त्वपूर्ण छ’

‘बीमाले आफ्नो र परिवारको सुरक्षा गर्छ, यसैले महत्त्वपूर्ण छ’

'बीमा क्षेत्रले अध्ययनमा केन्द्रित गराउँछ '


काठमाडौं – बीमा क्षेत्रमा काम गर्न र यो क्षेत्रबाट सेवा सुविधा लिनका लागि गहिरो ज्ञान आवश्यक पर्छ । झन् बीमा कम्पनीहरूमा रोजगारीका लागि यस क्षेत्रबारे भरिपूर्ण ज्ञान चाहिन्छ नै । यसपछि मात्रै दक्ष जनशक्तिका रूपमा काम गर्न सहज हुन्छ । बीमा कम्पनीहरूमा काम गर्ने तल्ला तहका कर्मचारीदेखि माथिल्लो तहका उच्च अधिकारी, प्रमुख कार्यकारी अधिकृतसम्म सबैको बीमाको विकास र बीमाको पहुँच बढाउन अहम् भूमिका रहन्छ ।

अझ युवापुस्ताको संलग्नताले बीमा क्षेत्रमा सकारात्मक परिवर्तनको अपेक्षा हुन्छ नै । बीमा क्षेत्रमा पछिल्लो समय युवाहरूको सहभागिताले बीमा बजारमा सकारात्मक ऊर्जा ल्याएको सरोकारवाला बताउँछन् । बीमाको पहुँच बढाउन र बीमा सम्बन्धी ज्ञान बढाउन विभिन्न पदमा कार्यरत कर्मचारीको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ । यसमध्येका नेपाल लाईफ इन्स्योरेन्स सुनसरी शाखाका सिनियर एजेन्सी म्यानेजर अनिल कुमार मेहेतासँग बैंकिङ्ग समाचारको तर्फबाट नमुना के सीले गरेको कुराकानीको सम्पादित अंशः

बीमा क्षेत्रमा कसरी र किन जोडिनु भयो ?
म कक्षा १२ मा पढ्दै गर्दा गाउँको दाइले बीमा कम्पनीमा काम गर्नुहुन्थ्यो । मलाई पनि दाइको काम असाध्यै मन पर्यौ र दाइसँग सबै कुरा बुझे । र, यही क्षेत्रमा लाग्ने रुचि बढ्यो । त्यसपछि सबै प्रक्रिया बुझेर अभिकर्ता बनेर काम गर्न थाले । मैले २०७६ सालबाट बीमामा काम गर्न थालेको हो ।

झण्डै ५ वर्षको अवधिमा तपाईंले बीमा अभिकर्ता बनेर काम गरिसक्नुभएको छ । तपाईँलाई बीमा क्षेत्रको कुन पक्षले ठिक लाग्यो ?
मलाई जब बीमाको विषयमा धेरथोर थाहा भयो मलाई लाग्यो । त्यसपछि बीमा क्षेत्रमा काम गर्नु धेरै नै उचित छ भन्ने लाग्यो । समाजबाट पाइने सम्मान र आफनो आत्मविश्वास पनि बढ्ने भएकाले यो क्षेत्र रोजेको हो । जबबाट मैले अभिकर्ता बनेर काम गर्न थाले मैले धेरै कुराको ज्ञान पनि बटुलेको छु । र, सबैलाई बीमाको पहुँचमा ल्याउन आफ्नो पनि राम्रो भूमिका हुने भएका कारण मलाई यो क्षेत्र ठिक लाग्छ । बीमा क्षेत्रमा नै मैले भविष्य देखेको छु ।

धेरै युवाहरु नेपालमा अवसर नपाएर विदेशिने क्रम बढ्दो छ । तपाईँले बीमा क्षेत्रमा भविष्य देख्नु भएको छ । परिवारको प्रतिक्रिया कस्तो थियो ?
सबैले कक्षा १२ सकेपछि भविष्यको विषयमा सोच्नु नै पर्छ । सबैले आ–आफ्नो तरिकाले सोच्ने हो । नेपालमा सम्भावना नदेखेर युवाहरू विदेशिनु पनि स्वाभाविक नै हो । मैले पनि १२ पढ्दा बीमा क्षेत्रको विषयमा थाहा नभएको भए विदेशमै हुन्थे होला । तर, हामी युवाहरूको लागि बीमा क्षेत्र निकै नै सुव्यवस्था छ । मेरो परिवार मभन्दा बढी खुसी छ । सुरुवाती दिनहरूमा मैले परिवारको बीमा गराएको हो । परिवारबाट पनि राम्रो साथ थियो । बीमा क्षेत्रमा काम गर्न धैर्यता र लगनशीलता चाहिन्छ । बीमा क्षेत्रमा अवसर छ भनेर बुझाउन नसक्दा धेरै युवाहरूमा स्वदेशमा सम्भावना छैन भनेर निराशा छाएको छ ।

तपाईँ यति लामो समयदेखि अभिकर्ताका रूपमा काम गर्दै हुनुहुन्छ । अभिकर्तामा हुनुपर्ने गुण चाहिँ के–के रहेछन् ?
मेरो अनुभवअनुसार सफल अभिकर्ता बन्नका लागि बफादार हुनु हो । अभिकर्तामा आम नागरिकलाई सम्झाउन तथा बुझाउन सक्ने क्षमता र इमानदारिता हुन आवश्यक छ । अर्को कुरा बीमा क्षेत्रमा कुनै पनि लोभमा पर्न हुन्न । ग्राहकहरूलाई बीमा बुझाउनका लागि आफू पनि सक्षम हुनुपर्छ । सबैको विश्वासको पात्र बन्न आवश्यक छ जस्तो लाग्छ । बीमा सुरक्षाको पाटो हो सबै नागरिकलाई बीमाको पहुँचमा पुर्याउन बीमा अभिकर्ताको भूमिका अहम् हुन्छ ।

नेपालमा थुप्रै बीमा कम्पनीहरु छन् । तपाईंले नेपाल लाइफ कम्पनी नै रोज्नुको मुख्य कारण चाहिँ के हो ?
नेपाल लाईफ इन्स्योरेन्स मेरो जीवनको मार्गदर्शक हो । नेपाल लाईफ नै रोज्नुको कारण सेवा सुविधा, व्यवस्थापकीय पक्ष र मिलनसार कर्मचारीका हुन । यस कम्पनी हाम्रो लागि घर जस्तै भएको छ । हामीलाई नाम र दाममा नेपाल लाईफले धेरै सहयोग गरेको छ ।

जीवन बीमा किन महत्त्वपूर्ण छ ? यसबारे खुलाइदिनुस्
बीमाले बचत पनि गर्छ र जोखिम पनि घटाउँछ । जीवनको कुनै भर नै हुँदैन । भावी दिनमा जे पनि जोखिम रहिरहन्छ । जीवन बीमा सबैले गर्नुपर्छ । मानवीय जीवनमा जीवन बीमाको अत्यन्त जरुरी रहेको हुन्छ । वित्तीय योजना तर्जुमाका लागि, आफ्ना बालबच्चाको भविष्यको लागि, आफ्नो सुरक्षित भविष्यका लागि बीमाको आवश्यकता पर्छ । भविष्यको सुरक्षाका लागि जीवन बीमाको अपरिहार्य छ । जीवन बीमाका माध्यमबाट भविष्यमा पर्न सक्ने भवितव्य जोखिम कम गर्न सकिन्छ ।

अन्त्यमा, युवाहरुलाई बीमा क्षेत्रमा कसरी प्रेरित गर्न सकिन्छ ?
म एउटै कुरा भन्छु, बीमा क्षेत्रमा काम गर्दा आत्मसन्तुष्टि पाइन्छ । बीमा क्षेत्रमा काम गर्दा सम्मान र आत्मबल पनि बढ्छ । बीमा क्षेत्रले अध्ययनमा पनि केन्द्रित गराउँछ । सबै युवाहरूले सुरुवातमा धैर्यता राखेर काम गर्ने हो भने युवाहरूको लागि बीमा क्षेत्र निकै  राम्रो छ ।