महामारीमा व्यवसायीलाई दिएको तनाबको प्रतिफल भोग्दै बैंक, पैसा थुप्रिएपनि बढेन लगानी

महामारीमा व्यवसायीलाई दिएको तनाबको प्रतिफल भोग्दै बैंक, पैसा थुप्रिएपनि बढेन लगानी


काठमाडौं – बैंक तथा वित्तीय संस्था बढ्दो तरलताका कारण चिन्तामा छन् । बैंकमा लगानीयोग्य रकम थुप्रिँदैजाँदा सो अनुसारको लगानी बढ्न नसक्दा बैंकहरुमा चिन्ता बढेको हो । यतिबेला वाणिज्य बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम छ । तर सोअनुसारको लगानी भइरहेको छैन ।

यसको पुष्टी नेपाल राष्ट्र बैंक १ खर्ब रुपैयाँ खिच्न खोज्दा २ खर्बको बोलकबोल बैंकहरुले गरेको घटनाले पनि गर्छ । नेपाल राष्ट्र बैंकले भदौ २ गते बैंकिङ्ग प्रणालीबाट १ खर्ब रूपैयाँ रकम खिच्न बोलकबोल आह्वान गरेकोमा बैंकहरू करिब २ खर्ब राख्न तयार भएका थिए ।

राष्ट्र बैंकको प्रस्तावमा २५ बैंक तथा वित्तीय संस्थाले ५५ वटा बोलकबोल आवेदन दिएका थिए । यस्तै, तरलता थुप्रिएपछि साउन महिनामा मात्रै केन्द्रीय बैंकले बैंकहरुबाट २ खर्ब १० अर्ब रुपैयाँ तानेको थियो । बैंकमा पर्याप्त तरलता थुप्रिएपनि बजारमा कर्जा प्रवाह हुन सकेको छैन ।

व्यवसायी नवीन रिजाल विगतमा बैंकहरुले लिएको नीतिका कारण उद्योगी–व्यवसायीले ऋण लिन आनाकानी गरिरहेको बताए । बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनले बैंकका लागि राष्ट्र बैंकले लिएको नीतिका कारण विगतमा कयौं उद्योगी व्यवसायीहरुले आत्महत्या समेत गरेको स्मरण गरे ।

‘केन्द्रीय बैंकले व्यवसायी मैत्री नीति लिन नसक्दा हाल बैंकहरुले समस्या भोग्न परेको छ,’ उनले थपे, ‘अहिले ८ प्रतिशतमा बैंकले ऋण दिइरहेको छ तर ऋण लिएर काम गर्ने अवस्था छैन । किनकी, ऋणको ब्याज कहिले १८ प्रतिशतसम्म पुग्ने भन्ने टुंगो छैन ।’ यसअघि कोरोना महामारी अघि ऋणीले एकल अंकको ब्याजमा लिएको ऋण १४ प्रतिशतसम्म पुर्याएका थिए ।

जसकारण उद्योगी व्यवसायी पिडीत बनेका थिए । तीमध्ये कतिपयले सडकमा नै आत्मदाह समेत गरेका थिए । यस्तै, कोरोना महामारी यता बैंकहरुको ऋण तिर्न नसक्ने ऋणीको संख्या बढेको बढ्यै रहेको कर्जा सूचना केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार कालोसूचीमा पर्ने ऋणीको संख्या ९४ हजारभन्दा बढी पुगिसकेको छ ।

ब्याजदर घटेको घट्यै, छैन ऋण लगानी
बढ्दाे तरलतासँगै बैंकहरुको ब्याजदर समेत घट्दै आइरहेको छ । बैंकहरुले कर्जा लगानी नबढेपछि त्यसलाई बढाउनका लागि ब्याजदर घटाएका हुन् । बैंकहरुले साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । असार महिनामा बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा अघिकतम ब्याजदर ७.६९ प्रतिशत दिएका थिए ।

यस्तो ब्याजदर औसतमा ६.९१ प्रतिशत थियो । तर साउनका लागि बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.५३ प्रतिशत दिने भएका हुन् । औसत ब्याजदर ६.६९ प्रतिशत रहेको छ । बैंकहरुमा नेपाल राष्ट्र बैंकमा पैसा राख्दा ३ प्रतिशत ब्याजदरमा पैसा राख्दै आएका तापनि भदौ २ गते ३ प्रतिशतभन्दा कम ब्याजदरमा नै पैसा राख्नको लागि आवेदन दिएका हुन् ।

बैंकहरुले २.८० प्रतिशतदेखि २.९७ प्रतिशतसम्म ब्याजदर तोकेर आवेदन पेश गरेका हुन् । त्यस्तै, हाल अन्तरबैंक ब्याजदर पनि ३ प्रतिशत कायम छ । तर ब्याजदर घट्दै जाँदा पनि ऋण लगानी बढ्न नसकेको बैंकमा थुप्रिएको ५ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकमले देखाउँछ ।

यतिबेला बैंकको ब्याजदर ३ वर्षयताकै न्यून बिन्दुमा आइपुगेको छ । तर पनि बजारमा कर्जा लगानी बढ्न नसक्दा सबैजसो बैंकहरुको नाफा समेत प्रभावित बनेको छ । बैंक तथा वित्तीय संस्थाले कोरोना कालमा व्यवसायीलाई दिएको टर्चरका कारणले नै यतिबेला यो अवस्था आएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवाल बताउँछन् ।

उनकाअनुसार बैंकहरुले कोरोना आएसँगै भएको लकडाउनको समयमा व्यवसायीलाई चाहिनेभन्दा बढि तनाव दिएका थिए । जसको विरुद्ध माइतीघर मण्डलादेखि न्यूरोडसम्म आन्दोलन भएको थियो । यद्यपी पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यवहार सुधार्दै लगेको व्यवसायीको बुझाई छ ।

अध्यक्ष कटुवालले भने, ‘बैंक तथा वित्तीय संस्थाले व्यवसायीको लागि जे जति काम गर्नुपर्ने हो त्यो गरिएका छैन।’