एकैदिन १६ अर्बले घट्यो निक्षेप संकलन, अन्य सूचक कस्तो ?

एकैदिन १६ अर्बले घट्यो निक्षेप संकलन, अन्य सूचक कस्तो ?


काठमाडौं – बैंकिङ्ग प्रणालीमा एकै दिन १६ अर्ब रुपैयाँले निक्षेप घटेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन घटेको देखाएको हो। केन्द्रीय बैंकको तथ्यांकअनुसार जेठ २८ सोमबारसम्म ६२ खर्ब ३१ अर्ब निक्षेप संकलन भएको छ। जेठ २७ गते आइतबार भने ६२ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन भएकाे थियाे। यस तथ्यांकलाई हेर्दा एक दिनमा १६ अर्बले निक्षेप संकलन घटेको देखिन्छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि घटेको छ। सोमबार वाणिज्य बैंकहरुबाट ५५ खर्ब १५ अर्ब निक्षेप संलकन भएको छ। अघिल्लो दिन आइतबार भने वाणिज्य बैंकहरुले ५५ खर्ब ३० अर्ब निक्षेप संकलन गरेका थिए।

त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले पछिल्लो चरण कर्जा प्रवाह भने स्थिर रहेको देखाएको छ। आइतबार ५१ खर्ब ३३ अर्ब कर्जा प्रवाह भएकोमा सोमबार पनि सोही रकम बराबरको कर्जा प्रवाह भएको छ। साथै, सो समयमा वाणिज्य बैंकबाट प्रवाह हुने पनि स्थिर देखिएको छ। आइतबार वाणिज्य बैंकहरुले ४५ खर्ब ४२ अर्ब कर्जा प्रवाह गरेका थिए भने सोमबार पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका थिए।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो बढेको देखाएको छ । आइतबार ८०.१ रहेको सिडी रेसियो सोमबार ८०.२० पुगेको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर २.९५ प्रतिशत कायम भएको छ। अघिल्लो दिन भने अन्तर बैंक ब्याजदर २.९४ प्रतिशत कायम भएको थियो।