काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन जरुरी भएको बताएका छन्। प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपालको ४५औं वार्षिक साधारणसभाको अवसरमा उहाँले बढीभन्दा बढी पर्यटक आकर्षण गर्न पुराना पर्यटकीय प्याकेजका साथै नयाँ सम्भावनायुक्त गन्तव्यको खोज, अध्ययन र प्रवर्द्धन गरिनुपर्ने धारणा राखे।
‘नयाँ गन्तव्यहरू पहिचान गर्नुपर्यो। हिमालमात्रै होइन, संस्कृतिको पनि प्रवर्द्धन जरुरी छ,’ पर्यटनमन्त्री तामाङले भने, ‘नेपालमा अथाह पर्यटकीय सम्भावना हुँदा पनि बढी पर्यटक आकर्षण गर्न सकिरहेका छैनौं।’ सरकारले बजेट र नीति तथा कार्यक्रममार्फत घोषणा गरेको पर्यटनका कार्यक्रमलाई कार्यान्वयन गर्न र १६ लाख पर्यटकको लक्ष्य प्राप्तिका लागि मन्त्रालयले योजना कार्यक्रम बनाएर अघि बढ्ने उनले बताए।
पाटा नेपालको अध्यक्षमा लकाइ
पाटा नेपाल च्याप्टरको अध्यक्षमा पर्यटन उद्यमी खेम लकाइ निर्वाचित भएका छन्। वार्षिक साधारणसभाले लक्काईको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। संस्थाको महासचिवमा नरेन्द्रदेव भट्ट र कोषाध्यक्षमा रितल राना चयन भएकी छन्। कार्यसमिति सदस्यमा लाक्पाफुटी शेर्पा, हिम्मत पुरी, सरिता लामा, सुनिल भट्टराई चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष लकाइले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पर्यटन प्रवर्द्धनका कामलाई सरोकारवालाको समन्वय र सहकार्यमा प्रभावकारी बनाइने विश्वास व्यक्त गरे। उनले कोभिड महामारीपछि मुलुकको पर्यटन पुरानै लयमा फर्किएको र यसलाई थप चलायमान बनाउन विशेषगरी अन्तर्राष्ट्रिय गन्तव्यमा बजारीकरणलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए। यसैबीच पाटा नेपालले यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड द्धारिकाज होटलकी सञ्चालिका अम्बिका श्रेष्ठ र साङ्ग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेलाई प्रदान गरेको छ।
यस्तै, यति समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पालाई टुरिजम ब्लेजर अवार्ड दिइएको छ। पाटा पर्सनालिटी अवार्ड २०२४ भोजनगृहका सञ्चालक भरतबहादुर बस्नेतलाई प्रदान गरियो भने पाटा स्पेसल कन्ट्रीब्युसन अवार्ड पर्यटन व्यवसायी नरेन्द्रदेव भट्टलाई प्रदान गरिएको छ।



About Us
प्रतिक्रिया