काठमाडौं – नेपाल राष्ट्र बैंकले १ अर्ब ४३ करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको कुल १ अर्ब ४३ करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा राख्न लागिएको जानकारी दिएकाे हाे । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दती निक्षेपका रुपमा राख्नेछ।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १४ करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २१ करोड ४५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ७ करोड १५ लाख रुपैयाँ मुद्दति निक्षेपमा राखिनेछ।
मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। २०८१ असार ३ गतेदेखि २०८२ असार ३ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया