गिरिबन्धुको अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न गृहमन्त्रीलाई विश्वप्रकाशको चुनौती


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टि स्टेटको फाइल खाेलेर कांग्रेसलाइ दण्डित गर्न उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेलाई चुनौती दिएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले ७० बिगाहाको कमिसन खाएको भनेर आरोपित गरेको भन्दै सो उपर छानविन गर्न चुनौती दिएका हुन् । उनले गिरिबन्धुको अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न चुनौती दिए। फाइल खोल्न तयार हुनुहुन्छ भनि गृहमन्त्रीलाई प्रश्न समेत गरे। साथै, महामन्त्री शर्माले गृहमन्त्रीले गिरिबन्धु टि स्टेटको सम्बन्धमा फाइल खोल्न होइन बोल्न पनि नसक्ने आशय व्यक्त गरे।

‘सत्ता गठबन्धन दलको सबैभन्दा ठुलो अध्यक्षले कांग्रेसले बेचेर ७० बिगाहाको कमिशन खायो भनेर जे आरोप लगाउनुभएको छ। त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? म जान्दछु खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न’, महामन्त्री शर्माले भने ।

उनले सहकारी छानविन विशेष संसदीय समितिले स्वविवेक र तथ्यमा आधारित भएर छानविन गर्ने विश्वास पनि व्यक्त गरे । महामन्त्री शर्माले सहकारी पीडितमाथिको छानबिन समितिको गठन हुन सकारात्मक भए पनि विश्वासको मत लिने समयवाधि २२ दिन बाँकी कायमै रहेको अवस्थामा जेठ ७ गते सदनमा प्रतिपक्षीको अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारोमा विश्वासको मत लिएको घटनामा आफूहरूको असहमति रहेको पनि बताए ।