काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति दिने ४७३ विद्यालयको सूची सार्वजनिक


काठमाडौं – काठमाडौं महानगरपालिकाले महागनरभित्र १० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने ४७३ विद्यालयको सूची सार्वजनिक गरेको छ। महानगरले संस्थागत विद्यालयमा कक्षा १० सम्म कम्तीमा १० प्रतिशत छात्रवृत्ति वितरण गर्ने ४७३ विद्यालयको सूची सार्वजनिक गरेको हो। साथै, महानगरले छात्रवृत्ति विवरण पेस हुन बाँकी विद्यालयलाई तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। रीतपूर्वक छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने पनि महानगरले चेतावनी दिएको छ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन, महानगरपालिका शिक्षा व्यवस्था नियमावलीअनुसार महानगरभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशतसम्म छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्था कार्यान्वयन गराउन पटकपटक अनुरोध गर्दा जेठ २३ सम्म ४७३ विद्यालयले मात्रै विवरण उपलब्ध गराएको महानगरले जनाएको छ।