उद्यमी बन्ने बाटोमा जैमिनीका किसान

उद्यमी बन्ने बाटोमा जैमिनीका किसान


बागलुङ – दमेकको नौला, कालापातल, दह लगायतका क्षेत्रमा हिउँद बर्खा दुबै याममा आलुको राम्रो उत्पादन हुन्छ । केही बर्ष अघिसम्म यहाँ नागरिकले आलुसँग अन्न साटेर बर्षभरीको खर्च चलाउँथे । दाल–चामल, नुनतेल र मसलाको जोहो गर्न आलुनै स्रोत थियो । उपल्लो दमेकको उत्पादन आलु मात्रै होईन मकै, कोदो, सिस्नो र बाँको पनि हुन् । पुर्खाले जे–जसरी उपभोग गर्न सिकाए उसैगरी यहाँका नागरिकले उत्पादनको उपभोग गरे । तर जमाना फेरिएको छ । पहिले जस्तो आलु साट्न कालापातल कोही पुग्दैनन् । चामल खानकै लागि कालापातलबासीले आलु साट्न आउनेहरुलाई कुर्नु पर्दैन् ।

आजभोली दमेकको आलुको चिप्स बन्द, सिरिम्ले मकै ब्राण्ड भएको छ, सिस्नोको धुलो विदेश निर्यात हुन्छ। जैमिनी नगरपालिकाले आफ्ना नागरिकलाई उद्यमी बनाउने अभियानअन्तर्गत रैथाने र परम्परागत बालीलाई आधुनिक उपभोग्य बस्तु बनाउन सिकाएको छ । नगरले उद्यमशिलता तालिम सञ्चालन गरिरहेको छ । स्थानीय तहमा रहका कच्चा पदार्थको उपयोग गर्दै नागरिकलाई आम्दानीसँग जोड्न विभिन्न सिपमुलक तालिम सञ्चालन गर्दै आईरहेको उपप्रमुख हरिहर शर्मा बताउँछन् । दमेकमा आलु चिप्स, दालमोठ, भुजिया, फुरनदाना, नमकिन, चना र फ्राई चिउरा बनाउने तालिम नगरले सञ्चालन गरेको थियो ।

त्यसपछि, दमेकबासीले आलु चिप्स विदेश निर्यात गर्न थालेका छन् । ‘एक सय पचासमा बिक्री हुने आलुको एक हजार रुपैयाँ पर्नेगरी चिप्स बन्छ, किसानलाई धेरै फाईदा भएको छ’ वडा अध्यक्ष कृष्ण बहादुर भुजेल भन्छन् ‘हाम्रो वडाका नागरिक केही न केही निर्यात गर्छन्, जसको आम्दानीले खर्च चलेको छ ।’ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम जैमिनीमा सञ्चालित छ । जसले उद्यमी बन्न प्रेरित गर्ने नगरप्रमुख नरबहादुर पुनले बताए ।उद्यमशिलताको विकासका लागि जैमिनीले लगानी गर्ने उनको धारणा थियो ।

कृषिजन्य बस्तुको उत्पादन, बजारीकरण र प्रबर्धन गर्नका लागि कृषकसँग सहकार्य गर्नुपर्ने चर्चा गर्दै नगरप्रमुख पुनले नगरले दिएको सिपलाई नागरिकले व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । स्थानीय श्रोत र साधनको परिचालन गरी रोजगारी सिजना गर्ने तथा कृषकलाई आत्मनिर्भर गराई आम्दानी बढाउन लागि सबैसँग सहकार्य गर्ने वडाध्यक्ष भुजेलले बताउँछन् ।