बन्द भएको ६ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

बन्द भएको ६ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु


काठमाडौं– भोजपुर–विराटनगर हवाई उडान पुनः सुरू भएकाे छ । उडान बन्द भएको ६ वर्षपछि नेपाल वायुसेवा निगमको जहाजले पुनः शनिबारदेखि भोजपुर–विराटनगर उडान थालेको हो ।

बन्द भएको छ वर्षपछि विराटनगर यात्रा गर्न पाएकाेमा यात्रुहरु खुसी भएका छन्। भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेका अनुसार काठमाडौंबाट आएको निगमको जहाजले नौ जना यात्रु लिएर विराटनगर उडेको थियो ।

गाडीमा ६ घण्टा भन्दा धेरै लाग्ने दुरीमा अब करिब १७ मिनेटमा पुग्न पाउँदा जिल्लावासी पनि उत्साहित भएका नगर प्रमुख आलेकाे भनाइ छ। उडान बन्द भएको लामो समयपछि विराटनगर उड्न पाएकोका यात्रुहरू पनि खुसी भएका छन् ।

वायुसेवा निगमले हप्तामा शनिबार र बिहीबारका लागि विराटनगर उडान तालिका राखेको छ। विमान अभावलगायतका समस्या देखाउँदै निगमले भोजपुर–काठमाडौं उडान तालिका कायम राख्दै विराटनगर उडान बन्द गरेको थियो। विसं २०७४ पछि विराटनगर उडान हुन सकेको थिएन ।