काठमाडौं–नेपाल एक भूपरिवेष्ठित देश भएकाले व्यावसायिक जल यातायातको सम्भावना छैन। भैगोलिक विकटताले गर्दा सडक यातायातका पनि धेरै चुनौती छन्। भएका सडक सञ्जाल पनि समस्याग्रस्त छन्। यी सबै कुरालाई हेर्दा हाम्रो देशमा हवाई यातायात अनिवार्य विकल्प जस्तै छ। हवाई क्षेत्रको थप सम्भावना खोजी गरेर चुनौतीलाई समाधान गरी आर्थिक रुपान्तरणमा कसरी लाने भन्ने बारे जे-जति काम गरिसक्नु पर्ने थियो ढिला भैसक्यो। पटक-पटक सरकार परिर्वतन भइरहने हाम्रो देशमा उड्डयनको अवस्था परिवर्तन गरी मुहार फेर्न कोही पनि कम्मर कसेर लागेको देखिँदैन। निजी क्षेत्रबाट सेवा प्रदायकका रुपमा काम गरिरेहका वायुसेवा कम्पनीको अवस्था, चुनौती तथा योगदानलाई आत्मसाथ गरेर अगाडि बढ्न अब ढिला गर्नुहुँदैन। यसै सेरोफेरोमा आधारित रहेर सिम्रीक एयरका महाप्रवन्धक तथा नेपाल वायुसेवा सञ्चालक संघका सचिव मुरलीधर जोशीसँग सुरेन्द्र कट्टेलले कार्यक्रम एभीएसन टकमा गरेको कुराकानीको सम्पादित अंश:
हवाई क्षेत्रको वर्तमान अवस्थालाई कसरी व्याख्या गर्न सकिन्छ ?
वर्तमान अवस्थामा अवसर र चुनौती दुवै छन्। जनसंख्याको आकार राज्यले हवाई क्षेत्रका लागि ल्याउने नीति नियम र लगानी लगायतका आधारमा चुनौतीलाई व्याख्या गर्दा अवसर प्रशस्तै हुँदाहुँदै पनि लगानी सुरक्षाको दृष्टिकोणबाट सोच्दा सञ्चालन हुन सक्ने या नसक्ने स्थितिमा छ।
हवाई उद्योग कम नाफा हुने क्षेत्र भन्छन्, तपाईँ कसरी यस क्षेत्रमा आकर्षित हुनुभयो ?
उड्डयन क्षेत्रमा आकर्षित हुने दुई तीन वटा कुराहरु रहेछन्। एउटा प्रमुख कारण त जोश नै हो। म चार्टर एकाउन्ट पढ्दै गर्दा विभिन्न आयामहरुबाट हाल काम गरिरहेको कम्पनीसँग जोडिन पुगेँ। त्यसपछि यो क्षेत्रको बहुआयमिक पक्षले आकर्षित गर्यो। त्यसपछि कर्मचारीको रुपमै काम गर्न थाले। लामो समय सम्म विभिन्न परिस्थितिमा यस क्षेत्रको बहुआयमिक पक्षमा काम गरियो यसैमा रमाईएको छ।
हेलिकोप्टर र कम्पनीले हवाई तथा पर्यटन क्षेत्रमा कस्तो योगदान दिएका छन् ?
सिम्रिक एयरले पहिलेदेखि नै राम्रो काम गर्दै आएको छ। सिम्रिक एयरको इतिहासलाई हेर्ने हो भने सन् २०१२ पछि सानो आकारको हेलिकप्टरमा केन्द्रित भएको छ। पहिले ठुला हेलिकोप्टरहरु थिए । पछि युद्धको समयमा विभिन्न ठाउँमा खाद्यान्न ढुवानी गर्ने गथ्यौं भने सन् २०१२ पछि पर्यटकी स्थललाई लक्षित गरेर पर्यटन उद्योगमा योगदान दियो। पर्यटन र हवाई क्षेत्र एकै सिक्काका दुई पाटा हुन्। अझ हेलीकोप्टर र टुरिजमको सम्बन्ध झन नजिकको छ । पर्यटकलाई घुमाउन देखी उद्धारसम्मको सेवा प्रदान गरेको छ। टुरिजमको माध्यमबाट देशको अर्थतन्त्र माथि उठाउन हेलिकोप्टरको सेवाको ठूलो भूमिका रहन्छ।
नेपालको हवाई उद्योग आन्तरिक तर्फ निजी क्षेत्रले धानेको छ। तर निजी क्षेत्रका उद्योगीहरुका गुनासो धेरै छन्, यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ?
सरकार र निजी क्षेत्रमा तालमेलको कमी छ। सरकारका विभिन्न नीतिहरु आउँदा पर्यटन क्षेत्रलाई अर्थतन्त्रको खम्बाको रुपमा व्याख्या गरिन्छ। तर कार्यान्वयनको पाटोबाट वेवास्ता गरिन्छ । त्यसको गतिलो उदाहरणको रुपमा पोहोरको नीति र कार्यान्वयनको पाटोलाई हेर्न सकिन्छ। सरकारी तवरबाट पर्यटन क्षेत्रलाई व्यवहारिक रुपमा कार्यन्वयनको पाटो कमजोरभन्दा कमजोर भएकाले यसको प्रत्यक्ष प्रभाव हवाई क्षेत्रमा पर्छ। हवाई जहाजका सामान महंगो र अत्यावश्यक हुन्छन्, त्यसमा सरकारले भ्याट लगाउँदा विभिन्न अतिरिक्त शुल्क बढाउँदा हवाई क्षेत्रले धान्न सक्छ सक्दैन भन्ने कुरा सरकारले बुझ्न जरुरी छ। छिटो-छिटो हवाई इन्धनको मूल्य बढ्ने गरेका कारण पनि थप व्ययभार थपिएको छ। नीतिगत हिसाबले समयको सापेक्षतको हिसाबले सरकार नीजि सेवा प्रदायकप्रति संवेदनशील बनेकै छैन। निजी क्षेत्रलाई विशेषगरी हवाई क्षेत्रका बारेमा सरकार गम्भीर भएको छैन।
हवाई जहाज कम्पनीहरुको आकार बढाउन मर्जरमा जान आवश्यक छ ?
आजको दिनमा ठूलो स्केल (आकार) को लगानी बढाउनु पर्ने हुन्छ कि, मर्जरमा जानु पर्ने हुन्छ। जहाजको संख्या बढाएर व्यवसाय चलायमान बनाउन आवश्यक छ। यसको लागि लगानी तथा मर्जरको वातावरण बनाउन सरकारले नीजि क्षेत्रको सुझाव र भावनाको आधारमा नीतिगत कुरामा सहजता ल्याउनुपर्छ।
हवाई क्षेत्रलाई सरकारले गम्भीरताका साथ नहेर्दा लगानीकर्ताको मनोविज्ञान कस्तो छ ?
मनोवैज्ञानिक अवस्था डर लाग्दो छ भन्दा फरक पर्दैन। लगानीकर्तालाई यस क्षेत्रमा दक्ष जनशक्ति टिकाएर राख्न र सेवा प्रदान गर्ने विषयमा मुख्य चुनौती छ। यस क्षेत्रलाई सरकारले चलायमान बनाई राख्न आवश्यक सहजता प्रदान गर्नै पर्छ नत्र भने व्यवसायी पलायन भएर जाने अवस्था आउँछ।
प्रतिक्रिया