राज्यले नै हवाई क्षेत्रलाई अत्यावश्यक सेवाको रुपमा मानेको छैन

राज्यले नै हवाई क्षेत्रलाई अत्यावश्यक सेवाको रुपमा मानेको छैन


नेपालको उड्डयन क्षेत्रमा समस्या मात्रै होइन सम्भावना पनि उत्तिकै छन् । हवाई क्षेत्र यातायात सेवा प्रदान गर्न उद्योग भए पनि यसलाई पर्यटनसँगै जोडिन्छ । यस उद्योगले एउटा निश्चित क्षेत्रमा मात्र नभएर बहुआयमिक क्षेत्रमा रोजगारी सृजना गर्छ । विश्वमै हवाई क्षेत्रलाई आर्थिक हिसाबले मात्र हेर्दा सञ्चालन खर्च धेरै तथा कम नाफा हुने क्षेत्रको रूपमा हेरिन्छ । नेपालमा पनि ठुला व्यापारिक घराना यस क्षेत्रमा लगानी गर्न आकर्षित भएको पाइँदैन । यसका अलावा सेवामूलक ढंगबाट आर्थिक मात्रा बढाउने उद्देश्यले हवाई उद्योगलाई थप बलियो बनाउने गरी लगानी आकर्षित गर्न विद्यामान ऐन कानुन तथा नीतिमा के सुधार गर्नुपर्छ? यसै विषयमा समिट एयर र फिस्टेल एयरका प्रवन्ध निर्देशक तथा हवाई उद्योगको प्रतिनिधित्व गर्ने एक मात्र संस्था नेपाल वायुसेवा सञ्चालक संघका नवनिर्वाचित  अध्यक्ष मनोज कार्कीसँग भिडियो अन्तर्वार्ता गरिएको कुराकानीमा आधारित सम्पादित अंश :

हवाई उद्योगको प्रतिनिधित्व गर्ने एक मात्र संस्था नेपाल वायुसेवा सञ्चालक संघको उद्देश्य के हो?

नेपाल वायुसेवा सञ्चालक संघको स्थापना खुल्ला हवाई नीतिसँगै आएको हो। मुख्य गरी निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीहरूले सेवा प्रदान गर्न थालेसँगै यस क्षेत्रलाई सुरक्षित सेवा प्रदायक उद्योग बनाउन सरकार र निजी क्षेत्रबिच समन्वयकारी भूमिका खेल्नका लागी स्थापना भएको हो। यसको मुख्य उद्देश्य भनेकै नेपालका दुदराजसम्म सुरक्षित तथा सुलभ हवाई यात्राको पहुँच बढाउनु नै हो। तपाई समिट एयर र फिस्टेल एयरको प्रवन्ध निर्देशक पनि हुनुहुन्छ। वर्तमान परिप्रेक्ष्य नेपालको हवाई क्षेत्रको अवस्थालाई कसरी चित्रण गर्नु हुन्छ। आन्तरिक हवाई क्षेत्रलाई वर्तमान अवस्थामा निजी क्षेत्रले नै धानेको कुरामा दुई मत छैन । हवाई यात्रा गर्ने यात्रुको सङ्ख्या क्रमशः बढिरहेको छ। पुरानै भाडादारमा यात्रा गराई रहेका सेवा प्रदायकलाई राज्यले दिनुपर्ने सहुलियतलाई प्राथमिकतामा राख्न आवश्यक छ।

तपाई समिट एयर र फिस्टेल एयरको प्रवन्ध निर्देशक पनि हुनुहुन्छ । वर्तमान परिप्रेक्ष्य नेपालको हवाई क्षेत्रको अवस्थालाई कसरी चित्रण गर्नु हुन्छ ?

आन्तरिक हवाई क्षेत्रलाई वर्तमान अवस्थामा निजी क्षेत्रले नै धानेको कुरामा दुई मत छैन । हवाई यात्रा गर्ने यात्रुको सङ्ख्या क्रमशः बढिरहेको छ । पुरानै भाडा दरमा यात्रा गराइरहेका सेवा प्रदायकलाई राज्यले दिनुपर्ने सहुलियतलाई प्राथमिकतामा राख्न आवश्यक छ ।

हवाई उद्योग कम नाफा हुने क्षेत्र भन्छन् यसलाई सेवामूलक ढंगबाट आर्थिक मात्रा बढाउन सकिँदैन ? नेपालमा व्यापारिक घराना यस क्षेत्रमा लगानी गर्न आकर्षित भएको पाइँदैन नि ?

विश्वभरि नै यो उद्योग नाफामूलक भन्दा बढी सेवामूलक हो। अन्य क्षेत्रमा भन्दा यस उद्योगमा लगानी गर्दा तत्कालको नाफा भन्दा पनि चलायमान हुने मानसिकताले अघि बढ्नु पर्छ। त्यस कारण यस क्षेत्रमा इच्छाशक्ति र धैर्यताको पनि आवश्यकता पर्छ। आर्थिक क्षेत्र फराकिलो बनाउन जहाजको सङ्ख्या बढाएर उद्योगको क्षेत्र फराकिलो बनाएर आर्थिक मात्रा बढाउन सकिन्छ। उदाहरणका लागी ठुला कम्पनीको नाफाको प्रतिशत थोरै भए पनि आर्थिक मात्रा बढी हुने भएकाले चलायमान हुन्छ। साना कम्पनीलाई भने सानोतिनो समस्या आउँदा पनि त्यसलाई समाधान गर्न गाह्रो पर्न जान्छ।

हवाई उद्योगलाई थप बलियो बनाउन वैदेशिक लगानी तथा पब्लिक लिमिटेडमा जानलाई विद्यामान ऐन कानुन तथा नीतिमा के सुधार गर्नुपर्छ ?

केही कम्पनीहरू आइपिओ जारी गरेर पब्लिक लिमिटेडमा जाने तयारी मै छन्। यसका अलावा विद्यामान हवाई नीति २०६३ ले गरेको व्यवस्था अनुसार ४९ प्रतिशत भन्दा बढी वैदेशिक लगानी गर्न पाइँदैन। अब नयाँ आउने हवाई नीतिमा आन्तरिक तर्फ ८० प्रतिशत र अन्तर्राष्ट्रिय तर्फ ९० प्रतिशत सम्म वैदेशिक लगानी गर्न पाउने व्यवस्था भएको खण्डमा लगानीको मात्रा बढ्ने थियो। वायुसेवा कम्पनीहरू मर्जरमा जाने विषयमा मर्जरमा जान सहज हुने गरी राज्यले समन्वय गर्नुपर्छ।

नेपालमा आउने हवाई जहाजको पार्टपुर्जा जाँच पास पछिल्लो डेढ महिनादेखि रोकिएको छ भने सुनिन्छ । यो के कारणले रोकिएको हो ?

विमानस्थल भन्सारले पार्टपुर्जा भन्सार शुल्क बढाएका कारण रोकिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आएर रोकिएका हवाई जहाजका पार्टपुर्जा जाँच पास गरेर सम्बन्धित कम्पनीलाई दिने विषयमा उड्डयन मन्त्री हित बहादुर तामाङ र अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराइएको छ । हवाईजहाज तथा हेलिकोप्टरमा प्रयोग हुने पार्टपुर्जा जाँच पास डेढ महिनादेखि रोकिएका कारण आन्तरिक उडानका ७ वटा जहाजले आवश्यक पार्टपुर्जा पाउन सकेका छैनन्। जसका कारण विमानहरू ग्राउण्डेड भएका छन् । अत्यावश्यक सेवा अन्तर्गत परेको हवाई क्षेत्रलाई राज्यले पनि अत्यावश्यक क्षेत्र हो भनेर व्यवहारिक रूपमै बुझिदिनु पर्छ।

नेपालमा फ्लाइंग स्कुल (उडान विद्यालय) को आवश्यकता कतिको छ ?

सम्भाव्यता देखेर कुनै बेला एउटा फ्लाइंग स्कुल (उडान विद्यालय) पनि आएको थियो तर चल्न सकेन। नेपाल उड्डयनका लागी सानो बजार हो त्यसकारण आन्तरिक रूपमा जनशक्ति खपत गर्न सक्छु भनेर स्कुल सञ्चालन गर्न सक्ने अवस्था वर्तमान अवस्थामा छैन। नेपाल युरोपेली संघ (ईयू) को कालोसूचीमा रहेकाले बाहिरबाट विद्यार्थी पढ्न आउने सम्भावना पनि कम छ।

नेपालको हवाई क्षेत्रलाई यूरोपेली संघ (ईयू) ले किन अझै कालोसूचीमा राखेको होला ?

युरोपेली संघ (ईयू) ले नेपालको हवाई क्षेत्र नै सुरक्षित होस भनेर कालो सूचीमा राखेको होला तर अब केही समयमा हट्छ भन्ने विश्वास छ। ईयूका देशबाट आउने पर्यटकहरू अप्ठ्यारोमा पर्दा हामीले नै उद्धार गरेका छौँ । मन परेको गन्तव्यमा घुमाएर ल्याएका छौँ । ती देशबाट आएका नागरिक हाम्रो सेवाबाट खुशी पनि छन्। उनीहरूको मनमा चाहिँ नेपालको हवाई क्षेत्रप्रति नराम्रो भावना छैन कतिपय अवस्थामा। नेपालमा एउटा जहाज चल्नको बाहिरबाट विभिन्न मेसिन तथा पार्टपुर्जा ल्याउनुपर्छ ।यसले कस्तो व्यवसायी संरचना तय गरेको छ। राजस्वमा राम्रो योगदान दिनुका साथै हवाई क्षेत्रले धेरै क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सृजना गरेको छ। हवाई क्षेत्र यातायातको साधन भए पनि यस क्षेत्रलाई पर्यटनसँग पनि जोडिन्छ। त्यस कारण वैदेशिक मुद्रा कमाउन पनि ठुलो योगदान दिएको छ। उड्डयन क्षेत्र जति धेरै चलायमान हुन्छ। देशको अर्थतन्त्र पनि त्यत्तिकै गतिशील हुन्छ। देशको आर्थिक अवस्थाको सूचकाङ्क हवाई क्षेत्रको गतिविधिले देखाउन सक्छ। अहिले हाम्रो देशका दाजुभाइ तथा दिदीबहिनी जसरी अहिले बाहिर गइरहेका छन् । उनीहरूलाई हाम्रै देशमा दर्ता भएका जहाजले सेवा प्रदान गर्नु हो भने पनि देशको अर्थतन्त्र माथि उठ्न सहयोग पुग्थ्यो।