राजनैतिक परिवार तर आफ्नै रुचिले बैंकर 

राजनैतिक परिवार तर आफ्नै रुचिले बैंकर 

अस्मिता बम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली समाजका अधिकांश परिवार यस्ता छन् । जो पुर्खाले गरेका कामलाई नै निरन्तरता दिन रुचाउँछन् । ‘डाक्टरको छोरा डाक्टर नै बन्नुपर्छ, किसानको छोराछोरीले कृषि नै गर्नुपर्छ, सुनारको छोराले सुनकै काम गर्नुपर्छ र पुरोहितको छोराले पण्डित्याइँ नै गर्नुपर्छ’ भन्ने मान्यता विद्यमान छ । नेपालीमा समाजमा यस्ता कुराहरू सामाजिक नियमकै रूपमा प्रचलित छन् । 

आर्थिक अवस्था कमजोर हुँदा पुरुषहरू सानै उमेरमा रोजगारीका लागी विभिन्न ठाउँमा जाने अनि महिलालाई सानै उमेरमा विवाह गरिदिने प्रचलन हाम्रो देशमा अझै सामाजिक मान्यताकै रूपमा कायम छ । अनि अर्को  निकै तितो यथार्थ, कलिलै उमेरमा छोरीहरूको बिहे गरेर पठाउन पाए पारिवारिक भार कम हुन्थ्यो भन्ने सोचको जरा उखेल्न सकिएको छैन । त्यसमा पनि अभिभावक सानैमा गुमाएका छोरीको हालत के होला ! सहजै अनुमान लगाउन सकिन्छ । यस्तो परिवेशमा  सुन्दर भविष्य देख्ने छोरीहरूका सपना अधुरा नै रहन्छन् । यसका बाबजुद पनि आफ्नो अभिभावक आफै बनेर बलियो रूपमा समाजमा स्थापित भएका कैयौँ उदाहरण छन् । जसले आफ्नो जीवनकालमा अनवरत संघर्ष गर्दै  सफलता हासिल गरेका छन् । यस्तै प्रतिनिधिमूलक पात्र मध्येकै एक हुन्, बैंकर अरुणा बस्नेत ।

विगत १६ वर्षदेखि विभिन्न बैंकमा काम गर्दै हाल ज्योति विकास बैंकको घोराही शाखाकी प्रवन्धक बनेकी अरुणाले यहाँसम्म आइपुग्दा विविध अनुभवका  कालखण्डहरू पार गरिसकेकी छिन् । उनको जीवनमा कहिले खुसीको वर्षा भयो त कहिले दुःखको भेल बग्यो । ती सबै अप्ठ्यारामा पनि अटल रहेर अघि बढ्न उनले आफ्नी आमाको अभावमा सिकेकी हुन्। 

दाङको मानपुरमा जन्मेकी उनले कक्षा १२ मा पढ्दापढ्दै आमा गुमाइन् । घरकी कान्छीको रूपमा माया पाएर हुर्किएकी अरुणा  आफूलाई आमाबाट मिलिरहेको स्नेहले संसार जित्ने सपना देखिरहेकी थिइन् । तर उनको नियतिले अर्कै तय गरेको थियो । 

मानिसको पहिलो पाठशाला परिवार हो भने जस्तै एउटा सन्तानका लागि पहिलो शिक्षक आमा नै हुन्छिन् ।  छोराछोरीलाई हुर्काउन आमा जत्तिकै भूमिका बुवाको भए पनि नेपाली समाजका बुवाहरूले धेरैजसो समय घरबाट बाहिरको काममै बिताइरहेका हुन्छन् । जसका कारण छोराछोरी बुवाभन्दा आमासँग भावनात्मक रूपमा बढी नजिक हुन्छन् । जुन भावनाले मानिसलाई बलियो रुपमा विकसित गर्छ ।

विश्वविख्यात अमेरिकन लेखिका जोडी लेन पीकपल्टको एउटा भनाइ  छ, ‘रुनका लागि सबैभन्दा सुरक्षित र राम्रो ठाउँ आमाको अँगालो हो ।’ तर त्यो ठाउँ नै नरहँदा आफूलाई कसरी सुरक्षित महसुस गराउने ? यस्तै समयलाई सम्झिँदै अरुणा भन्छिन्,‘६ जनाको परिवार । बाबा विक्रम संवत् २०३०/०३१ सालबाटै राजनीतितिर लागेका कारण  धेरै समय घर बाहिरै बिताउनुहुन्थ्यो । आमाले नै सबै कुराको ख्याल राख्ने । उहाँ नै नरहँदा त सबै सक्किए जस्तो महसुस भएको थियो ।’

आमालाई गुमाउँदा भावनात्मक रूपमा बिचलित बनेकी उनले  हिम्मत भने हारिनन् । उनलाई आमाको अभावले संघर्षको मैदानमा एक्लै उतार्‍यो । आफ्नो अध्ययनलाई अगाडी बढाउन भनेर उनी कक्षा १२ पछि स्नातक र स्नातकोत्तरको पढाई पुरा गर्न काठमाडौं आइन्।  अध्ययनले उनको पीडामा मलहमको काम गर्‍यो र भविष्यको ढोका पनि खोल्दै गयो  । 

पारिवारिक पृष्ठभूमि राजनीतिक हुँदाहुँदै पनि उनको रोजाई चाहिँ वित्तीय क्षेत्र बन्यो । आफूलाई राजनीतिमा रुचि नलागेको बताउँदै उनी भन्छिन् ,  ‘घरको माहोल राजनीतिक । बुवा नेता हुँदाहुँदै पनि राजनीतितर्फ ध्यान गएन कहिल्यै । राजनीति मन पनि नपर्ने’ ।

आफ्नो बैंकिङ्ग क्षेत्रप्रतिको रुचिको सुरुवाती प्रसंगमा उनी भन्छिन् , ‘कहिलेकाहीँ काम विशेषले बैंक जाँदा त्यहाँका महिला कर्मचारीहरूको व्यक्तित्व देख्दा म पनि बैंकर नै बन्छु भन्ने सोच आउँथ्यो’ ।  उनी थप्छिन्, ‘मेरो नजिकको आफन्त बैंकिङ्ग क्षेत्रमै कार्यरत हुनुहुन्छ अनि उहाँले यो क्षेत्रको कुराकानी सुनाउँदा मलाई बैंकिङ्ग क्षेत्र स्टान्डर्ड लाग्थ्यो ।’ यी सबै कुराहरूले उनको बैंकिङ्ग क्षेत्रप्रति मोह बढ्दै गयो 

त्यही मोहकै कारण स्नातक दोस्रो वर्षमा अध्ययन गर्दागर्दै २०६४ सालमा उनलाई  एनआईसी बैंकमा काम गर्ने अवसर प्राप्त भयो । एनआईसी बैंकमा इन्टर्नको रूपमा बैंकिङ्ग करियर सुरु गरेकी उनले त्यस बैंकमा जम्मा ७/८ महिना काम गरिन् तर त्यो छोटो समयले उनलाई बैंकको आधारभूत कामहरू सिकाइसकेको थियो । त्यसपछि भने भागर्भ बैंकमा नयाँ अवसर पाएपछि उनी त्यता लागिन् । त्यहाँ उनी अपरेसन इन्चार्जको जिम्मेवारीमा दुई वर्षसम्म रहिन् । 

आफ्नो अध्ययनलाई सकेर मात्र वैवाहिक जीवनमा बाँधिने उनको सोच थियो तर  दिदीहरूको विवाह भइसकेकाले पारिवारिक रूपमा उनलाई विवाह गर्नु पर्ने दबाब सिर्जना भयो। यो समयमा उनलाई  आफ्नो आमाको अभाव खड्कियो । उनी भन्छिन्, ‘आमा भएको भए सायदै बिहे गर्दिन भन्न सक्थे होला । तर अरुलाई भन्न सकिनँ । पितृसत्तात्मक समाजमा महिलाको भनेको कसले सुन्छ र ! जसले जे भन्यो त्यही गर्नै पर्ने । नकार्न सकिनँ, बिहे भयो’, 

विवाहपछि अध्ययन सँगसँगै उनले कामलाई पनि निरन्तरता दिइन् । पेसागत दत्तचित्तताले नयाँ-नयाँ अवसर मिल्दै गयो  र उनी  वि.स. २०६६ चैत १ गते झिमरुक विकास (हालको ज्योति विकास बैंक) बैंकको तुलसीपुर शाखा प्रवन्धक बन्न सफल भइन्  । उनले  काठमाडौं, नेपालगञ्ज लगायत देशका अन्य भागमा समेत प्रवन्धक पदको जिम्मेवारी पुरा गरिसकेकी छिन् । विभिन्न स्थानमा रही काम गर्दै आफ्नो पेसागत अनुभवलाई बृहत् बनाउँदै छिन् । 

एक सन्तानकी आमा अरुणा आफ्ना बुबाआमाले आफूलाई कुनै बन्धनमा नपारी आत्मनिर्भर बन्न गरेको सहयोगले आफूलाई आत्मनिर्भर बनाएको र हरेक चुनौतीलाई सामना गर्न सक्षम बनाएको बताउँछिन् । तसर्थ उनी आफ्नी छोरीलाई पनि त्यसरी नै तयार पारिरहेकी छिन् । सदियौँ देखी चल्दै आइरहेको ‘छोराले घरको आर्थिक भार धान्ने र छोरीले चुलो चौको गर्ने’ भन्ने सोचबाट केही माथि उठेर सबैले आफ्नो रुचि अनुसार काम गर्न अवसर पाउनुपर्दछ भन्ने उनको धारणा छ । उनी भन्छिन्,  ‘मेरो सफलताको मन्त्र, मैले आफ्नो रुचि अनुसारको पेसामा काम गर्न पाए’। साथै आफ्ना अभिभावकले आफूलाई सिकाएको संघर्षको पाठ र इमानदारितालाई उनले आफ्नी छोरी हुर्काउन प्रयोग गरिरहेकी छिन् । जसबाट भोली देशको कुनै क्षेत्रलाई नेतृत्व गर्ने कुशल नेतृत्वकर्ताको निर्माण भइरहेको छ।