बैंकिङ्ग डायरी

‘छोरी तिमी त लिडर हुन सुहाउँछौँ’

‘छोरी तिमी त लिडर हुन सुहाउँछौँ’

अस्मिता बम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– आजको परिवेश प्रतिस्पर्धात्मक छ । विशेष क्षेत्र, पेशा, व्यावसायमा मात्र नभई मानिस–मानिस पनि आफू अगाडि बढ्न तछाडमछाड गरिरहेका छन् । अग्र स्थान नमिले हार मान्ने कतिपयको स्वभाव पनि हुन्छ । जसले गर्दा उनीहरु न गरिरहेको कामलाई निरन्तरता दिनसक्छन्, न अरु काम शुरु गर्नै । आफूलाई कमजोर सम्झिने कतिपय मानिस लाचार भएर बाँचेका देखिन्छन् ।

यो विषय कता कता परिवारसँग पनि जोडिन पुग्छ । भनिन्छ, पहिलो पाठशाला परिवार हो । सानो हुँदा आफ्ना छोराछोरीलाई जस्तो वातावरणमा हुर्काइयो, जे कुरा बढीभन्दा बढी देखाइयो वा सिकाइयो त्यो नै दीर्घरुपमा बच्चाको मानसपटलमा बसिरहन्छ र त्यसै अनुरुप उनीहरु ठूलो भएपछि प्रस्तुत हुन्छन् । त्यसैले आफ्ना नानीबाबुलाई सकेसम्म नकारात्मक र अनावश्यक कुराबाट टाढा राख्न जरुरी छ । जसले उनीहरुको जीवनलाई प्रेरित गर्न सकोस् ।

यसरी नै सानैबाट आफ्ना बुबा र आमाले देखाएको एक प्रगतिशील बाटोमा भविष्यदर्शी पाइला चाल्दै बैंकर बनेकी सरोजिनी नेपालको १० वर्षे बैंकिङ्ग यात्रा रोचक छ । एउटै कामलाई लक्ष्य बनाएर त्यसको शुरुवात देखि अन्त्यसम्म आफैसँग प्रतिस्पर्धा गरेर कहिले जित्दै, कहिले सिक्दै बैंकर बनेकी सरोजिनी सफलता हाँसिल गर्न आफूलाई मोटिभेट गरेर अघि बढ्नुमा विश्वास राख्छिन् । जुन आत्मविश्वास उनको परिवारले दिलाएको हो । आफ्नो खुबीलाई प्रष्ट रुपमा चिनेर नबिल बैंकको इमाडोल शाखामा प्रबन्धक (ब्रान्च म्यानेजर) बनिसकेकी सरोजिनीको प्रेरणाको स्रोत नै उनका बुबा हुन् । झापामा हुर्केकी सरोजिनीमा ‘एउटा नेतृत्वकर्तामा हुनुपर्ने गुण छ’ भन्दै प्रोत्साहन दिने बाआमाले गर्दा उनलाई प्रबन्धक बन्न सहज भएको उनको बुझाइ छ ।


‘मैले त डक्टर बन्छु भनेर ११/१२ मा साइन्स पढेको थिएँ । तर स्कूलमा हुँदा पढाईमा मात्र नभई बिना तयारी भाषण दिने, वक्तृत्व कला, हाजिरीजवाफमा भाग लिएर जित्थे पनि । बोली पनि फरवाड भएर ममीबुबाले ‘‘छोरी तिमी त लिडर हुन सुहाउँछौँ’’ भन्नुहुन्थ्यो । अनि पछि आफूलाई नि महसुस भयो । त्यसैले स्नातकमा फाइनान्स पढेँ । मास्टर्स एमबिएसमा गरेँ’, उनले भनिन् ।

आफ्नो पारिवारिक वातावरण सधैँ सकारात्कम र उत्प्रेरणात्मक भएको बताउने सरोजिनी आफू किताबै किताबको बीचमा हुर्केकाले आत्मनिष्ठ बन्न सहयोग पुगेको बताउँछिन् । उनी भन्छिन्, ‘मेरा बाबा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्थ्यो । आमा पनि सरकारी स्कूलको शिक्षक । परिवार नै पूरै एकेडेमीक । ३ जना दिदी भाई एक ठाउँमा बसेपनि पढाईको बारेमा मात्र कुरा हुन्थ्यो । हाम्रो घरको सबैको फोकस नै पढाईमा थियो ।’

भविष्य सुनिश्चित गरेर आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने कुरालाई प्राथमिकतामा राख्ने उनी २५ वर्षको उमेरमा नै नबिल बैंकमा जुनियर असिस्टेन्ट बनेकी थिइन् । आफूलाई बलियो प्रतिस्पर्धी बनाउन सधैँ तत्पर रहने सरोजिनीले बैंकको केन्द्रिय कार्यालयमा जुनियर असिस्टेन्ट पछि क्रेडिट प्रशासन र रिलेसनसिप विभागमा काम गरिन् । त्यसपश्चात् म्यानेजमेन्ट ट्रेनी बनिन् र अफिसरमा बढुवा भइन् ।

अफिसर बनेसँगै जीवनले नयाँ मोड लिएको बताउँदै उनी भन्छिन्, ‘अफिसर बनेपछि धरान सरुवा भयो । त्यहाँ दुई वर्ष क्रेडिट इन्चार्ज र रिलेसनसिप अफिसर बनेर काम गरेँ । काठमाडौंका ग्राहक थोरै भएपनि कारोबारप्रति सचेत हुन्छन् । तर त्यहाँका सेवाग्राही काठमाडौंको भन्दा विलकुल फरक । यसैले उहाँहरुलाई हरेक कुरा सिकाउनुपथ्र्यो । जसले मेरो ‘कम्युनिकेसन स्किल बढाउनमा मद्दत गर्यो’, उनी भन्छिन्, ‘सानो हुँदा आमाले भन्नुहुन्थ्यो, ‘पढाईमा मात्र होइन अन्य व्यक्तिसँगको बोलीचालीमा पनि ध्यान पुर्याउनुपर्छ । यसले तिम्रो लिडिङ्ग पावर बढ्दै जान्छ’’ भनेको कुरा धरानको शाखामा काम गर्दा झलझल्ति सम्झनामा आउने गर्दथ्यो ।’ यसकारण यो दुई वर्षको कार्यकाल उनको बैंकिङ्ग करियरकै विशेष रह्यो ।

यत्ति मात्र नभई उनका बाबाले टेलिभिजन हेर्दा सानोमा सधैँ सफल महिलाहरुका जीवनकथा देखाउनाले पनि आफ्नो मस्तिष्कले जहिल्यै सफलताको कुरा मात्र सोच्ने गरेको उनी बताउँछिन् । उनी भन्छिन, ‘बाबाले टिभिमा सधैँ सफल महिलाहरुको अन्तर्वार्ता देखाउँदै भन्नुहुन्थ्यो ‘‘मेहेनतले काम गरे भोली तिम्रो अन्तर्वार्ता पनि लिन्छन् यसरी नै ।’’ यहीँबाट एउटा लिडर बन्छु भन्ने संकल्प लिएकी सरोजनीको जीवनमा बाआमाको भूमिका जत्तिकै उनका श्रीमानको पनि छ । आफूमा भएको आटलाई बखुबी निभाउन श्रीमानले हौसला थपेको सरोजिनी बताउँछिन् । भन्छिन्, ‘जन्मघर मात्र होइन, कर्मघरमा पनि मोटिभेस्न नै मिल्यो ।’ यसबाट उनमा थप उत्साह जागेको उनी बताउँछिन् ।

यही उत्साहले उनलाई धरानबाट पुनः बैंकको केन्द्रिय कार्यालयमा फर्कायो । एसेमी डिभिजन स्मल एण्ड मिडियम इन्टरप्राइजेज लेन्डिङ र मिड कर्पोरेट डिभिजनमा काम गरेपश्चात इमाडोलमा बैंकको प्रबन्धक बनेर आएपछि उनी परिवारको साथकै कारण आफ्नो क्षमताले स्थान पाएको अनुभूति गर्छिन् । विगत एक वर्षदेखि बलियो तवरले सो शाखा हाँकिरहेकी उनले बैंकिङ्ग क्षेत्रको एक उदाहरण बन्ने अर्को संकल्प लिएकी छिन् ।