लघुवित्त क्षेत्रले जस नपाएकाे देख्दा दुःख लाग्छ : सरिता ढकाल 

लघुवित्त क्षेत्रले जस नपाएकाे देख्दा दुःख लाग्छ : सरिता ढकाल 


विगत २२ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत सरिता ढकाललाई सुरुवाती दिनलाई फर्किएर हेर्दा सपना जस्तो लाग्छ जुन बिपना नै हो । आज  लघुवित्त क्षेत्रलाई  विभिन्न समस्याले जेलेको छ । विश्वमा  लघुवित्तको इतिहासलाई हेर्दा बंगलादेशी मोडललाई सफल मानिन्छ । त्यसका जन्मदाता डा. मोहम्मद युनुस हुन् । लघुवित्तको क्षेत्रबाट गरिवी निवारणमा महत्वपुर्ण भुमिका खेलेका कारण उनी  नोवेल शान्ति पुरस्कारबाट सम्मानित समेत  भए । युनुसको मोडल अहिले संसारभर प्रचलनमा छ । नेपालमा पनि २०४७ सालमा नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर डा. हरिहर पन्तले  ‘निर्धन’ नामक   गैरसरकारी संस्था खोलेर लघुवित्तको सुरुवात गरे । बैंकिङ पहुचभन्दा टाढाका अझ भनौं भुइँ मान्छेलाई  सामूहिक जमानी वा बिना धितो ऋण सुविधा दिएर आर्थिक क्रियाकलापमा सहभागी गराउँदै बचत गर्ने बानी बसाउनु उक्त लघुवित्त संस्थाको अवधारणा थियो । लघुवित्तको विश्वब्यापी मान्यता  भने कै धन नभएका मान्छेहरु जस्का कारण समाजमा अपहेलित हुने एउटा ठूलै समूह जो समाजमा वित्तीय स्रोतबाट जहिले पनि बञ्चित रहे वित्तीय  पहुँचको माधयमबाट उनीहरुको  जिवनस्तर माथी उठाउनु हो । यसरी हेर्दा लघुवित्तको बामे सर्ने दिनहरुमा त्यसमा काम गर्ने कर्मचारीहरुले ठुलै संघर्षमात्र गरेनन्  त्यस्ता धेरै पात्र छन् जस्ले लघुवित्त क्षेत्रलाई माथी उठाउन ज्यानै जोखिममा राखे । त्यस्तै संर्घषपुर्ण अनुभव भएकी  हाल साधना लघुवित्त संस्थामा कार्यरत महाप्रबन्धक  सरिता ढकालसँग  बैंकिङ्ग समाचारका लागि  रोजीना काप्रीले गरेको कुराकानीको सम्पादित अंश: 

लघुवित्तका लागी बिहे नहुँदै सिन्दुर लगाउनु पर्ने बाध्यता 

सरिता  सुरुमा डिप्रोक्स नेपाल लघुवित्त प्रवेश गरिन उनको कार्यक्षेत्र बाराको कलैयामा भयो । राजधानी नजिक रसुवाकी सरितालाई सुरु मै तराईको जिल्लाबाट काम गर्नुपर्दा धेरै चुनौतिहरुको सामना गर्नुपर्यो । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ मान्छे । उनले काम सुरु गर्दा तराईका महिलाहरु घरबाट बाहिर निस्कने प्रचलन नै थिएन । उनको कामपनि त्यस्तै समाजमा रहेर तिनै महिलाहरुसँग हातेमालो गरेर गर्नु पर्ने थियो । त्यो समयमा उनले छ महिनामा ५५० जना त सदस्य नै बनाउँनुपर्ने थियो । त्यो समयमा उनको  मासिक तलब १५ सय रुपैयाँ थियो । पहाडकी छोरी चितवनसम्म पनि कहिले पुगेकी थिइनन् । एक्कासी उनको कामले उनीलाई फरक परिवेशको बारा जिल्लामा  पुर्यायो । तराईमा प्राय जसो त्यो समयमा भोजपुरी भाषा मात्रै बोल्ने र बुझ्ने गरिन्थ्यो । उनलाई भोजपुरी त परको कुरा, हिन्दी भाषापनि आउँदैनथ्यो । उनी फिल्डमा निस्किन्थिन तर भाषाकै कारण एउटै बाटो १० पटक भन्दा बढि हिड्नुपर्ने । उनको हातमा घडी, फोन केही थिएन । एकदिन उनलाई आफु्नी आमाले भनेकी थिइन्, ‘पहाडमा घाम डुबेपछि केही समय उज्यालो हुन्छ तर तराईमा त घाम डुबेसँगै रात पर्छ है ।’ त्यसैले घडीको काम घामले गरेको हुन्थ्यो ।  उनलाई सुरुमा भाषाको अप्ठ्यारो भएतापनि विस्तारै अलिक सहज हुँदै गयो । उनको यसरी करिब १ महिना बित्यो । त्यो बेला एक जनामात्र महिलालाई देखेपछि पुरुषले घेर्थे । उनले त्यस्ता खराब नियत भएका  पुरुषबाट जोगिन आफु अविवाहित हुदापनि विवाहित भनिन् । उनलाई त्यतिले किन सुःख हुन्थ्यो र उनले बिहे भएको छ भन्नेबित्तिकै गाउँका महिलाले सिन्दुर खै भन्न थाले । केही दिन त उनले बिर्सेछु भनिन् तर सधैं त्यसो भनिरहन सक्ने अवस्थापनि त थिएन बिवाह नगरेपनि उनले सिन्दुर नै लगाउनुपर्ने बाध्यता भयो । उनले यतिसम्म गरिन् कि फिल्डमा हिँड्दा सिन्दुर लगाउँथिन् बेलुका अफिस जाँने बेलामा बाटोमा  सिन्दुर पखालेर जान थालिन् । उनले आफु त्यो समुदायसँग नजिक हुन र काम गर्न अनेक समस्याको सामना गरिन । 

संकटकालमा भोगेका दुःख   

सरिताले काम सुरु गरेको केही समय मात्रै भएको थियो उनलाई तराईको गर्मी सहन गाह्रो भएर केही समय बिरामी नै परिन् त्यति नै बेला माओवादी जनयुद्धको कारण लागेको संकटकाल चरमोत्कर्षमा थियो । स्थानीयस्तरमा समन्वय गर्ने जटिलता बढ्दै थियो अर्कोतिर आफ्नो स्वास्थ्यको समस्या, नयाँ अफिस धेरै बिदापनि नपाउने कारण उनले त्यो समयमा जागिर छोड्ने सम्मको योजना बनाएकि थिईन । तर, उनलाई आफ्नो इच्छाशक्तिले त्यो निर्णय लिन दिएन  । बिरामी हुँदाहुँदैपनि फिल्डमा निस्किईन् । एक दिनको घटना संझदा उनको मन अझै डराउछ । उनी फिल्डमा नै थिइन् करिब दिनको ३ बजेको हुँदो हो , ३ जना अपरिचित व्यक्तिले उनलाई गिरफतार गरि गाडीमा राखे । गाडीमा बसाउँने बित्तिकै उनीलाई आँखामा पट्टी र हातमा हतकडि लगाइयो । नेपाली सेनाद्वारा  माओवादी कार्यकर्ता भएको आशंकामा उनलाई गिरफतार गरिएको रहेछ ।  कुनै पार्टीमा संलग्न नरहेकी  उनलाई गिरफतारपछि  नेपाली सेनाले हिरासतमा राखी  खुट्टामा पाईपले पिटेर सोधपुछ गर्न थाल्यो । आफ्नो बृतान्त सुनाएपछि बल्ल उनीहरुले छाडिदिए । हिरासतमा पाएको त्यो यातना पश्चात् उनको खुट्टामा समस्या देखिन थाल्यो जसले गर्दा अझैपनि हिडडुल गर्दा  समस्य भोगीरहेकी छिन । त्यो घटना पछि उनले घर फर्किने निर्णय पनि  गरिन् तर देश भरिनै संकटकाल लागेको अवस्थामा परिस्थिति बाट भाग्ने भन्दा आफुले गरेको काममा  लागि पर्ने निर्णय गरिन। काम गर्दा गर्दै बितेको २ दशकमा लघुवित्तले बिपिन्न र गरिबीको रेखामुनि रहेका धेरै मानिसहरुको जीवनमा सकारात्मक परिवर्तन लेराएको यथार्थले उनि खुसि ब्यक्त गर्दैछिन तर बिगत केहि समय देखि लघुवित्त अभियानको बिरुद्ध नकारात्मक र स्वार्थ केन्द्रित प्रचार देख्दा उनीलाई नमज्जा लागिरहेको छ उनि भन्छिन, लघुवित्त अभियान यहाँ सम्म आइपुग्नुमा धेरै लघुवित्तकर्मी तथा सदश्यहरुको अथक प्रयत्न सामेल छ। त्यसैले उनी भन्छिन, जतिसक्दो चाडो यथार्थ र भ्रम केलाएर सरकार, लघुवित्तसंस्थाहरु तथा सदस्यहरू  अहिलेको  समस्या र दुष्प्रचारको  निराकरण गर्न तर्फ अग्रसर हुनु  पर्दछ । 

Check out more