खेलाडी, पत्रकार अनि बैंकर

खेलाडी, पत्रकार अनि बैंकर

अस्मिता बम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कुनै पनि काम सरल र परिपक्क ढंगले गर्न अनुभवी हुनैपर्छ । अनुभव बटुल्न इच्छाशक्ति चाहिन्छ । इच्छाशक्ति सँगसँगै त्यो विषयप्रति रुचि पनि चाहिन्छ नै । त्यसैले आफ्नो झुकाव र लगाव कुन विषयप्रति बढी छ त्यो आफैले छुट्याउनुपर्छ ।


यसरी नै आफ्नो जीवनकालमा विविध विधामा काम गर्दै आफू कुन विषयमा अब्बल छु र त्यो क्षेत्रमा लाग्दा आफुलाई कत्तिको उत्तम हुन्छ भन्ने कुरामा स्पष्ट भएर त्यसलाई नै आत्मसाथ गरिरहेकी एक संघर्षशील महिला हुन्, सरिना महर्जन । उनले आफ्नो १५ वर्षे बैंकिङ्ग जीवनमा मात्र होइन, त्यस अघिको कालखण्डमा पनि थरी–थरीका काममा थरीथरीका भूमिका निर्वाह गरिसकेकी छिन् । स्कूले जीवनमा एउटा खेलाडीको रुपमा परिचित उनले कक्षा १० पछि पत्रकारिता शुरु गरिन् । ६ वर्ष अन्नपूर्ण पोष्टमा आर्थिक विधामा रहेर पत्रकारिता गरेकी सरिनाले त्यसलाई त्यागेर बैंकको पाटो रोजिन् । सरिनाको रोजाइले अहिले उनलाई नेपाल बैंक लिमिटेडको लाजिम्पाट शाखाको प्रबन्धक (ब्रान्च म्यानेजर) बनाइसकेको छ ।

साढे तीन वर्षदेखि एउटा शाखालाई नेतृत्व गर्दै आइरहेकी उनले आफ्नो बैंकिङ्ग करियरको शुरुवात कुमारी बैंकबाट गरेकी थिइन् । उनी भन्छिन्, ‘रुचिअनुसार पत्रकारिता गरिरहेको भएपनि अध्ययन म्यानेजमेन्टतर्फको भएर कुन सेक्टरमा जाने भन्ने हुन्थ्यो । स्नातक सकिएकाले बैंकिङ्ग नै राजे । कुमारी बैंकमा भ्याकेन्सी पनि देखेँ । त्यसपछि आवेदन भरेपछि नाम निस्किहाल्यो ।’

जीवनमा ज्ञान बटुल्नकै लागि सधैँ आफूलाई व्यस्त बनाएर हिड्न रुचाउने उनी भन्छिन्, ‘मैले कुमारी बैंकबाट बैंकिङ्ग करियर शुरु गरेपनि बैंकमा हुने सबै कामप्रति मेरो चासो हुन्थ्यो ।’ आर्थिक बिटमा रहेर पत्रकारिता गरेका कारण बैंकको सिईआको असिस्टेन्टको रुपमा काम थालेकी सरिना त्यसबाट आफूले बटुल्न खोजेको अनुभवको बाटो मोडिने पो हो कि ! भन्ने भान भएका कारण छोडेर प्रत्यक्ष बैंककै काममा सहभागि हुन चाहन्थिन् । उनी भन्छिन्, ‘असिस्टेन्टको काम मलाई चित्त नै बुझेन । मैले खासमा सिक्न खोजेको त बैंकिङ्ग थियो । त्यो काम गर्दा पनि म भनिरहन्थे, कुनै एक्स्ट्रा काम दिनुन, समय खेर गइरहेको छ । त्यस बेला उहाँहरुले एचआर डिपार्टमेन्टको काम हुँदा त्यो दिने, अकाउन्टको, स्ट्रयाटेजी एण्ड प्लानिङ्गको काम हुँदा पनि गर भन्ने भएकाले सबै सिक्न पाएँ ।’

उक्त बैंकमा एक वर्ष काम गरेपश्चात् उनी मनकामना विकास बैंकसँग जोडिन पुगिन् । त्यहाँ अफिसर बनेर भित्रिएकी उनले त्यहाँबाट आफूले सिक्न र जान्न चाहेका बैंकका काम एक महिनाभित्रमै सिक्न पाएको बताइन् । त्यहाँ वित्त र मानव संसाधन विभागको कामलाई इन्चार्जको कर्तव्यभित्र बाँधिएर पूरा गरेकी उनी भन्छिन्, ‘म सधैं करियरको ग्राफलाई हेरेर काम गर्ने गर्थे । सधैँ एउटै ठाउँमा बसेर करियर माथि जाने पनि भएन । त्यसैले सम्भावनाहरुलाई चाँही पछ्याइराथेँ । यत्तिकैमा मेरो मास्टर्सको पनि रिजल्ट आउनु र शिद्धार्थ बैंकमा म्यानेजमेन्ट ट्रेनीको भ्याकेन्सी खुल्नु सँगै पर्यो ।’

संयोगले लिखित परीक्षा दिएरै उक्त पदमा नाम निकालेकी सरिनाले त्यहाँ ट्रेजरी ब्याक अफिसमा इन्चार्जको जिम्मेवारी सम्हालिन् । काम गर्दागर्दै अफिसर बनिसकेकी उनमा अझै धेरै अनुभव बटुल्ने इच्छा थियो । त्यही इच्छालाई मर्न नदिन उनले नेपाल बैंकमा लिखित परीक्षा दिएरै छैटौं तहमा नाम निकालेको बताइन् ।

काठमाडौंकी स्थायी बासिन्दा उनीसँग उपत्यका बाहिरको शाखामा काम गरेको अनुभव पनि छ । ‘लिखित परीक्षा दिएर बैंकको छैँटौं तहमा सेलेक्ट भएको थिएँ । काठमाडौंबाटै परीक्षा दिएपनि पोस्टिङ्ग चितवनको नारायणगढ शाखामा भयो’, उनले भनिन् । त्यहाँ ग्राहक सेवा विभाग र नगद विभागको इन्चार्जको रुपमा रहेर काम शूरु गरेकाले बैंकका सेवाग्राहीसँग प्रत्यक्ष जोडिएर उनीहरुको मनोभाव बुझ्ने अवसर पाएको पनि उनी बताउँछिन् । यसपछि आफ्नो बैंकिङ्ग क्षेत्रको कामले सार्थकता पाएको अनुभूति आफूले गरेको उनी सुनाउँछिन् ।

काम सिक्ने हुटहुटीलाई प्रोत्साहनको रुपमा लिने उनलाई त्यत्तिमा मात्र सीमित रहनु थिएन । अब्बल पढाईमा पनि अब्बल उनलाई अर्को नयाँ अनुभवको लागि नयाँ प्रयास गर्नु थियो । यही बीचमा उनको सरुवा काठमाडौंको कान्तिपथ शाखामा भयो । उनले त्यहाँ शाखाको निरीक्षक बनेर काम गरिन् । नगद, कर, विप्रेषण हुँदै क्रेडिट विभागकोको जिम्मेवारीलाई पनि अनुभवकै लागि आत्मविश्वासका साथ निभाएकी उनी जीवनलाई अनुभवको संगालोको रुपमा परिभाषित गर्छिन् ।

सो शाखामा पाँच वर्ष काम गरिसक्दा पनि उनलाई नौलौ अनुभवकै खोजी थियो । चार बैंकमा काम गरिसक्दा अधिकांश काम गरिसकेको भएतापनि कता–कता के नपुगेको महसुस गरेको उनले बताइन् । उनी भन्छिन, ‘सबैजसो काम त गरिसकेकै थिएँ । बाँकी थियो, लेटर अफ क्रेडिट जसमा नन् फण्डेड लोनको काम थियो । यो काम सिक्ने इच्छाले त्यो पद खाली भएको बेला म गर्न सक्छु लाग्यो । अनुरोध गरेपछि भाग्यले पनि साथ दियो र अवसर पाएँ ।’ त्यसपछि लेटर अफ क्रेडिटमा काम गर्दैगर्दा अर्को परीक्षा दिएर सातौं तहमा नाम निकालेकी उनी एक वर्षपछि हात्तिगौडामा खुलेको नयाँ ब्रान्चको म्यानेजरको रुपमा सरुवा भइन् ।

म्यानेजर भएपछि आफ्नो अनुभवको संगालोलाई वृहत् बनाउन र ग्राहकहरुका समस्या समाधान गर्न सहज होस् भनि उनले आफ्नो अध्ययनमा देखिएको १० वर्षे अन्तरलाई चिर्दै साउन्ड सेलिङ मनोविज्ञानमा पोस्ट ग्राजुएसन डिप्लोमा गरिन् । अध्ययनमा मात्र नभई साहित्य संगीतलाई पनि योग र साधनाको रुपमा बुझ्ने उनी बैंकको कामबाट फुर्सद मिलाएर आफ्नै संगीतमा झुम्छिन् । यो सँगसँगै आफ्नो पेशा र जीवनलाई सार्थक बनाउन सरिना पुस्तक पढेर ज्ञान बटुल्न पनि रुचाउँछिन् ।