बैकिङ्ग करिअर

‘महिला बैंकरहरु नम्र र शान्त स्वभावका हुनाले उच्च पदमा नपुगेका हुनसक्छन्’

‘महिला बैंकरहरु नम्र र शान्त स्वभावका हुनाले उच्च पदमा नपुगेका हुनसक्छन्’


काठमाडौं-अहिलेको परिप्रेक्षमा आफ्नो क्षमताअनुसारको काम ठम्याउन नसक्ने युवाको जमात सानो छैन । परिवार, साथीभाई र छरछिमेकका कुरा सुनेर आफ्नो लक्ष्य के हो, भन्ने कुरा पनि बिर्सिएर आफ्नो भविष्यमाथि गम्भिर खेलवाड गर्ने युवाहरुको संख्या पनि नेपाली समाजमा छ्यापछ्याप्ती भेटिन्छ । अझैंपनि १९/२० वर्षकै उमेरमा विवाह गरेर आफ्नो सपनालाई बीचमै समाप्त पार्ने स्थितीबाट महिलाहरु गुज्रिरहेका छन्।

अर्काको घर गएर चुलोचौको गर्ने मानसिकताबाट बाहिर निस्किन महिलाहरुलाई ठुलै संघर्ष गर्नुपरेको छ । यो कटु यथार्थलाई चिर्दै आफ्नो लक्ष्यलाई निरन्तर पछ्याइरहेकी सृष्टिना मानन्धर विगत १३ वर्षदेखि बैंकिङ्ग सेवामा आवद्ध छिन् ।

सानै उमेरमा कामना सेवा विकास बैंकको मनमैजु शाखाको प्रबन्धक (म्यानेजर) को जिम्मेवारी निभाइरहेकी उनी महिलाहरुका विविध समस्याहरुको विषयमा तिब्र आवाज उठ्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘संस्थाहरुले नेतृत्व गर्ने मान्छे फ्याट्टफु बोल्ने, सबैलाई अन्डरमा राख्न सक्ने, मान्छेअनुसारको व्यवहार गर्ने सक्ने खालको खोज्छन् । तर पुरुषको तुलनामा महिला सफ्ट स्पोकन, पोलाइट हुनुपर्ने स्वभावले उच्च पदमा नपुग्ने हुन कि भन्ने लाग्छ ।’

त्यसैकारण बैंकिङ्ग क्षेत्र महिलाहरुका लागि चुनौतीपूर्ण भएको उनको भनाइ छ । उनी भन्छिन्, ‘ब्रान्च म्यानेजरको भुमिकामा महिला धेरै भएपनि सिईओ महिला धेरै हुनुहुन्न । महिलाहरुले च्यालेन्ज गर्न नसक्या हो कि, वा नियुक्ति नै गर्न नखोजिएको हो भन्ने प्रश्नहरु आउँछन् । त्यसैले हरेक च्यालेन्जिङ्ग पदलाई सहज रुपमा स्वीकार्न सक्छु भन्ने सोच राख्ने हो भने सफल भइन्छ ।’


कामना बैंकमा ६० देखि ६५ प्रतिशत महिला कर्मचारीहरु रहेको उनले बताइन् । साथै आफूले सोही बैंकको मानव संसाधन विभाग प्रमुखको जिम्मेवारी बहन गरेको समयदेखि नै बैंकमा महिलाको संख्या बढाउन पहल गरिरहेको उनको भनाइ छ । संस्था चलाउन महिला र पुरुष नहेरी व्यक्तिको क्षमतालाई प्राथमिकता दिनुपर्ने उनको मान्यता छ ।

उनी भन्छिन्, ‘जुनसुकै कामका लागि पनि दक्षता त आवश्यक पर्छ नै तर एउटा बैंकर बन्न त्यति सहज छैन । यो फिल्डमा धैर्यता पनि चाहिन्छ ।’ आफूसँग कामप्रतिको लगाव, ज्ञान र साहस भए कसैले पनि दबाउन र पछि पार्न नसक्ने उनको विश्वास छ । सन् २०१० मा स्नातक सकेर एस (हालको इनभेष्टमेन्ट मेगा) विकास बैंकबाट मार्केटिङ्गतर्फ इन्टर्न गरेकी उनले ६ महिनापश्चात भिभोर बैंकमा एप्लाई गरेको बताइन् । त्यहाँ आफ्नो नियुक्ति भएपछि भिभोरमै रिस्कको पाटो हेरेर आफ्नो बैंकिङ्ग करियर स्थायी रुपमा सुरु गरेकी उनले सो बैंकमा दुई वर्ष काम गरिन् ।

त्यसपछि उनले जनता बैकमा प्रवेश गरिन । त्यहाँ उनले मानव संसाधनतर्फको कार्यभार सम्हालिन् । बैंकिङ्ग करियरलाई नै चुनेर कामना सेवा बैंकमा जोडिएकी उनी तीन वर्ष बढी ‘जनरल सर्भिस डिपार्टमेन्ट’ तर्फ लागिन् । त्यसपछि मानव संसाधन विभागको प्रमुखको भूमिका निभाएकी उनले ब्रान्डिङ र डिपोजिटतर्फको कार्यभार समेत सम्हाल्दै गत असार ५ गतेबाट कामना सेवा विकास बैंकको मनमैजु शाखाको नेतृन्व गरिरहको बताइन् ।

बैंकका कर्मचारीसँग मात्र नभई सेवाग्राहीसँग पनि प्रत्यक्ष रुपमा जोडिएर शाखाभित्रका समस्या समाधान गर्न लागिपरेकी सृष्टिना यसै क्षेत्रलाई निरन्तरता दिई अघि बढ्ने बताउँछिन् । जागिरका हिसाबले बैंकिङ्ग क्षेत्र अन्य क्षेत्रभन्दा बढी सुरक्षित हुने भएपनि एउटा महिला भएर यस क्षेत्रमा जोडिदाँ भने केही असजता भोग्नुपर्ने उनको भनाई छ । भन्छिन्, ‘कार्यक्षेत्रको जिम्मेवारीसँगै आफ्नो घरको पनि काम गर्नुपर्दा अप्ठ्यारो नहुने होइनन् । अन्य संस्थाभन्दा यस फिल्डमा टाइम पनि अलि धेरै दिनुपर्छ । जसका लागि सहयोगी परिवार चाहिन्छ नै ।’

बैंकिङ्ग क्षेत्र प्रतिष्ठित भएको भन्दै उनी भन्छिन, ‘विगतमा काममा पुरा समय दिन सक्दिन कि, कसैले केही भन्छन् कि, भन्ने सोच हुन्थ्यो । आफ्नो क्षमताको पहिचान नगरी अरुको नजरबाट आफैलाई मूल्याङ्क गर्ने प्रवृति पनि हाबी थियो । तर आजकल महिला धेरै आत्मनिर्भर भएको पाइन्छ । बैंकिङ्ग क्षेत्रमै पनि अहिले महिलाहरु धेरै फवार्ड छन । अहिले त उनीहरुले परिवारका सदस्यलाई आफ्नो कामबारे बुझाउन सक्छन् । त्यसैले काम गर्ने महिला यस क्षेत्रमा बढीरहेका छन् ।’