बैकिङ्ग शिक्षा

महिला बैंकरको जीवनः बिहान चुलो– चौको त्यसपछि अफिस

महिला बैंकरको जीवनः बिहान चुलो– चौको त्यसपछि अफिस


काठमाडौं–राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लख ६४ हजार ५ सय ७८ छ । जसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ जना रहेको छ भने महिलाको संख्या १ करोड ४९ लाख ११ हजार ०२७ जना रहेको छ । प्रतिशतको हिसाबले हेर्ने हो भने, पुरुष जम्मा ४८. ५८ प्रतिशत छन् भने महिला ५१.०२ प्रतितशत छन् । सख्यामा मात्र नभई नेपाली महिलाको साक्षरता दर समेत पुरुषको भन्दा उच्च रहेको छ । ०७८ कै जनगणनाअनुसार महिलाको साक्षर दर ६९.४ प्रतिशत छ । महिलाहरु अहिले गृहिणी मात्र नभई साना–ठूला व्यावसाय, गैर–सरकारी देखि सरकारी संस्थाका साथै सरकार समेत चलाइरहेका छन् ।

पुरुषको तुलनामा आफ्नो नेतृत्व पूर्ण–जिम्मेवारीका साथ निभाएर अन्य महिलाका लागि प्रोत्साहन बनिरहेका महिलामध्येकी एक उदाहरण हुन्, शर्मीला महर्जन । उनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कीर्तिपुर शाखाकी प्रबन्धक (म्यानेजर) हुन् । विगत १६ वर्षदेखि बैंकिङ्ग सेवामा आवद्ध रहेकी शर्मीलालाई म्यानेजर बन्न १३ वर्ष लाग्यो ।

उनको बैंकिङ्ग यात्राबारे बुझ्न खोज्दा बताउँछिन्, ‘इन्टर्नको रुपमा काम सुरु गरेको थिए । सिक्दै सिक्दै यहाँसम्म पुगे ।’ विं.सं.२०४० मा जन्मेकी उनी काठमाडौंकी स्थायी वासिन्दा हुन् । राजधानीमा बसिरहँदा उनलाई कैयौं अवसर आए तर उनको सपना थियो, बैंकर बन्ने । उनका बुवाले क्रसर उद्योगमा काम गरेर चार जना सन्तानलाई उच्च शिक्षा दिए । प्राथमिक शिक्षा ज्ञानोदय बालबाटिका सानेपाबाट पूरा गरेकी शर्मीलाले स्नातक भने वनस्थलीमा रहेको शिद्धार्थ कलेजबाट गरिन् । सपनालाई पछ्याउँदै व्यवस्थापन विषयमा स्नातक गरेपनि स्नातकोत्तर उनलाई वाणिज्य प्रशासन (एमबिए) मा गर्ने इच्छा थियो । तर दुई चोटीसम्म परीक्षा दिँदा पनि सफल नभएपश्चात त्रिभुवन विश्वविद्यालयमा उनी वाणिज्य शास्त्र (एमबिएस) विषय लिएर भर्ना भइन् । घरको आर्थिक अवस्था सुधार्न उनी सानै उमेरदेखि परिपक्क थिइन ।

उनलाई सानैदेखि लाग्थ्यो, ‘मैले नि काम गरे त बालाई सहज हुन्थ्यो ।’ उनका दिदी, भाई र बहिनीले स्नातक गरेर विदेशको यात्रा रोजेपनि उनलाई भने स्वदेशमै बसी एउटा कुशल बैंकर बनेर बाआमासँगै रमाएर आर्थिक रुपमा पनि सपोर्ट गर्ने रहर थियो र अन्तमा त्यही सावित भयो । बैंकिङ्ग समाचारसँग कुरा गर्दै उनले भनिन, ‘दिदी, भाई अनि बहिनीले विदेश जान्छौँ भनेपछि जसोतसो गरेर बाआमाले पठाउनु भयो । चाहेको भए म पनि युरोप तिरै हुन्थे होला तर विदेशमै गएर पसिना चुहाउँ कहिल्यै लागेन ।’ त्यही इच्छाशक्तिले २४ वर्षको उमेरमा नेपाल इन्भेष्टमेन्ट बैंकको दरबारमार्ग शाखामा इन्टर्नको रुपमा प्रवेश गरिन । स्नातकोत्तर पढ्दा–पढ्दै बैंकहरुमा कामको खोजिमा धाएको सम्झिँदै उनी भन्छिन, ‘बैंकर नै बन्छु भनेर अगाडी बढेपछि अरु काममा ध्यान त गएन । खोज्दा खाज्दै काम पनि अरु काम पनि पाएको थिए । तर घरायसी समस्याले ६ महिनासम्म रित्तै पनि बसेँ ।’ ६ महिना पछि भने उनी आफ्नो सपनालाई साकार पार्न फेरी तम्सिइन् । नभन्दै नेपाल इन्भेष्टमेन्ट बैंककै कालीमाटी शाखाको काउन्टरमा काम गर्न थालिन् । उनको पहिलो तलब थियो, ७ हजार ।

२०५४ सालको अन्तरालमा सात हजार उनका लागि कम थिएन । ‘सात हजार हातमा पर्दा संसारै जितेको महसुस भएको थियो’, उनले भनिन्, ‘त्यो सात हजार मैले आमालाई दिएकी थिएँ । बुवाले कति संघर्ष गर्नुहुन्थ्यो । विहान बेलुका एक छाक टार्नकै लागि कति मिहनेत गर्नुहुन्थ्यो उहाँले । तर त्यो जिम्मेवारी अब मसँग आइपुगेको छ ।’ दुई वर्षसम्म शर्मीलाले बाआलाई आर्थिक रुपमा मात्र होइन इमोस्नली पनि सपोर्ट गरिन् । २६ वर्षको उमेरमा बाआमाकै जिद्दीले छाउनी निवासी विक्रम महर्जनसँग विवाह बन्धनमा बाँधिएको उनी बताउँछिन् । भन्छिन्, ‘माइतीमा तीन दिदीभाईसँग हुर्केकी, घरकी एक्ली बुहारी बने । घरको जिम्मेवारीले थिचेर काम छुट्छ कि भन्ने पीर पनि पर्न थाल्यो ।’ दोहोरो जिम्मेवारीबाट अन्जान शर्मीलाको टाउकोमा सासुससुराको जिम्मेवारी भने त्यति भारी परेन । ‘सासुससुरा र श्रीमानको साथ त्यसरी नै मिल्यो, जसरी माइतीमा मिलेको थियो । विहेको केही दिनमै काममा फर्किहाले’, उनले भनिन् ।

संघर्ष गरेरै भएपनि माइतीमा रमाइ–रमाइ हुर्केकी उनी परिवारको साथ पाएपनि घरको काम र कार्य क्षेत्रको काम सँगै सम्हाल्दा गाह्रो परेको बताउँछिन् । यही गाह्रोकै बीचमा विवाहको केही वर्षपछि आमा पनि बनिन् । ‘एडजस्ट गर्ने बानी विस्तारै पर्दै थियो । छोरा भइहाल्यो । झन् ठूलो जिम्मेवारी थपियो । एकछिन त आत्तिए, तर श्रीमान् सपोर्टिभ भएकाले काम छोड्न परेन ।’ तीन महिने छोरालाई सासुको जिम्मा लगाएर आफू काममा फर्किएको शर्मीलालाई हिजो जस्तै लाग्छ । ‘छोरालाई छोडेर काममा जान पनि मन लाग्थेन । तर सपनालाई पूर्णविराम पनि लगाउनु थिएन । त्यसैले केही नसोची काममा फर्किए’, उनले भनिन् ।

आफूमाथिको विश्वासले दिलाएको कामलाई शर्मीलाले सधैं प्राथमिकता दिएको बताउँछिन् । पुरुष प्रधान समाजमा बसिरहँदा पुरुष साथीहरुलाई प्रायोरिटी दिइएपनि आफूमा कामप्रतिको लगनशीलता र दृढ संकल्प भए पुरुषसरह उभिन सकिने उनको भनाई छ । उनी भन्छिन्, ‘आफूमा ज्ञान र दक्षता भए अघि बढ्न कसैले रोक्न सक्दैन ।’ डेढ दशकभन्दा लामो समयमा शर्मीलाले बैंकिङ्ग क्षेत्रका थुप्रै परिवर्तन देखिन् । नेपाल इन्भेष्टमेन्ट बैंकको कालीमाटी शाखाबाटै म्यानेजर बनेकी उनी इनभेष्टमेन्ट र मेगा बैंक मर्ज भएपछि कीर्तिपुर सरेको बताउँछिन् । शाखा प्रवन्धक हुनुपूर्व र भएपछि मानिसको आफूलाई हेर्ने नजरमा समेत परिवर्तन आएको उनको भनाई छ । भन्छिन्, ‘छोराले संघर्ष गर्नु र छोरीले गर्नुमा भिन्नता देख्छ समाज । एउटा पुरुषले बर्षौं वर्ष संघर्ष गर्दा पनि विस्तारै गरिहाल्ला सोच्छन् । छोरीले गर्दा यसले के गर्न सक्छे र भन्ने सोच्छन् ।’

अहिले दुई सन्तानकी आमा बनिसकेकी शर्मीला भन्छिन्, ‘हामी महिलाहरु आफूलाई कमजोर सोच्छौँ । गर्न सक्दिन कि, बाधा आउँछ कि लाग्छ । त्यस्तो होइन । जहाँ इच्छा, त्यहाँ उपाय हुन्छ नै । आफ्नो सपनालाई सकेसम्म मर्न दिनुहुन्न ।’ शर्मीला आफ्नो शाखामा काम गर्ने महिला कर्मचारीको लागि मात्र नभई पुरुष र सेवाग्राहीको नजरका एउटा उत्कृष्ट नेतृको रुपमा चिनिएकी छिन् । उनले घरको मात्र होइन विगत तीन वर्षदेखि एउटा शाखाका दर्जनौं कर्मचारी र हजारौं सेवाग्राहीको जिम्मेवारी समेत राम्ररी निभाइरहेकी छिन् ।

लैङ्गिक असमानतालाई मेटाएर नेतृत्वमा पुरुष मात्र नभई एउटा क्षमतावान् मान्छेको खाँचो पर्ने हुँदा त्यसमा संस्थाहरुले पनि ध्यान दिनुपर्ने पनि उनले सुझाव दिइन । अहिले थुप्रै युवाहरु वैदेशिक रोजगारीमा गइरहेको स्मरण गराउँदै उनी भन्छिन, ‘पैसाकै पछि दौडिएर पनि इज्जत कमाउन सकिन्न । एउटा परिवार, संस्था र देश चलाउन योग्य बन्छु, त्यो साचेर अघि बढ्न्पर्छ । सफल भइन्छ ।’ ‘सृुरुका दिनमा बैंकको कर्मचारी मात्र बन्न पाए लाग्थ्यो । प्रयास गरेरै शाखा चलाइरहेको छु । देख्नेलाई यो कुरा सानो पनि लाग्ला । तर मैले भोगेका विगतका दिनभन्दा आजको दिन धेरै सवल छ । सन्तुष्ट छु’, उनले भनिन् ।